वीरगन्ज । धान खेतीको अपार सम्भावना बोकेको मधेश प्रदेशका सबै जिल्लामा यो वर्ष उत्साहजनक रोपाई भएको छ । मधेशका किसानले धानको बिउ राख्न सुरुमा आकाशे पानी निकै कुर्नु प-यो । तथापि जेठको अन्तिम तिर बिस्तारै पानी आउन थालेपछि फटाफट बिउ राखी साउनको २८ सम्ममा ९७ दशमलव ७१ प्रतिशत धान रोपाई यहाँ सम्पन्न भएको हो ।
कृषि फसलको महत्त्वपूर्ण बाली मध्ये धान खेतीका लागि मधेश प्रदेश मुलुककै उत्कृष्ट भूगोलमा पर्छ । फलतः केही नहर तथा कुलो र आकाशे पानीको भरमा साउन २८ गतेसम्म यो प्रदेशमा कुल ३ लाख ७३ हजार ६ सय ९३ दशमलव २९ क्षेत्रफल जमिनमा धान रोपाई सम्पन्न भएको मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पुष्टि गरेको छ ।
मधेशमा धान रोपाई गर्न मिल्ने जमिन मध्ये कुल ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफल यो प्रदेशमा छ । जसमध्ये अझै ८ हजार ७ सय ३९ दशमलव ७१ हेक्टर अर्थात् २ दशमलव २९ प्रतिशत जमिनमा धान रोपाई गर्न बाँकी रहेको पनि मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले पनि देखाएको छ ।
मधेश प्रदेशका ८ जिल्ला मध्ये सिराहा र बारामा भने साउन २८ गतेसम्म सत प्रतिशत (१०० प्रतिशत) धान खेती योग्य जमिनमा नै धान रोपाइ भइसकेको छ । आठ जिल्ला मध्ये सबैभन्दा कम अर्थात् धान खेती योग्य जमिनमध्ये सप्तरी र धनुषामा भने साउन २८ गतेसम्म जम्मा ९५ प्रतिशत जमिनमा मात्र धान रोपाइँ भएको मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र हरिहर भवन ललितपुरलाई पठाएको विवरणमा पनि उल्लेख गरिएको छ ।

मधेश प्रदेशमा खेतीयोग्य जमिन मात्रै त ५ लाख ५२ हजार ७ सय ४५ दशमलव ५ हेक्टर छ । तर त्यसमा धान खेती योग्य जमिन चाही ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर मात्र हो । जसमा अहिलेसम्म कुल ३ लाख ७३ हजार ६ सय ९३ दशमलव २९ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई सकिएको मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो ।
आठ जिल्ला मध्ये कुन जिल्लामा कति रोपाइँ
जिल्लागत रूपमा हेर्ने हो भने, सप्तरीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ६८ हजार हेक्टर जमिन मध्ये ६४ हजार ६ सय अर्थात् ९५ प्रतिशतमा धान रोपाइँ सकिएको छ । सिराहामा ५४ हजार हेक्टर जमिन मध्ये सबैमा धान रोपाई सम्पन्न भई शतप्रतिशत भएको छ । उता धनुषामा ४३ हजार ७ सय हेक्टर क्षेत्रफल मध्ये ४१ हजार ५ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । त्यसै गरी महोत्तरीमा ४० हजार हेक्टर क्षेत्रफलमा ३४ हजार ७ सय २१ हेक्टर अर्थात् ८६ दशमलव ८० प्रतिशत, सर्लाहीमा ४२ हजार ६ सय ९५ हेक्टर मध्ये ४२ हजार २ सय ६८ दशमलव ०५ हेक्टर अर्थात् ९९ प्रतिशत, रौतहटमा ३८ हजार ५ सय हेक्टर मध्ये ३७ हजार ७ सय ३० हेक्टर अर्थात् ९८ प्रतिशत, बारामा ४५ हजार १ सय हेक्टर क्षेत्रफल मध्ये सत प्रतिशत अर्थात् १०० प्रतिशत र पर्सामा ५३ हजार ९ सय ३८ हेक्टर मध्ये ५२ हजार ८ सय ५९ दशमलव २४ हेक्टर अर्था ९८ प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।
मधेश प्रदेशकै सुदूरपश्चिम जिल्लामा
यता पर्साका १४ पालिका मध्ये वीरगन्ज महानगरपालिका, छिपहरमाई गाउँपालिका र धोविनी गाउँपालिकामा धान खेती योग्य जमिन मध्ये सबै अर्थात् सत प्रतिशत (१००) प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र, पर्साका सूचना अधिकारी उमेश थापाले बताए । बाँकी ११ पालिकामा पनि साउन २८ गतेसम्म ९८ प्रतिशत धान रोपाई सकिएको उनको भनाइ छ । गण्डक नहरको सुरुवाती जिल्ला भएर पनि साबिकका सबै कुलोहरू नासिएका र केही मासिएका तथा नहरको राम्रो मर्मत संहार हुन नसक्दा पर्साका किसानले पनि आकाशे पानीको प्रतीक्षा गर्नु पर्ने बाध्यता भने रहेको छ । फलतः साउनको २८ गतेसम्म पनि यो जिल्लाले सत प्रतिशतमा धान रोपाई सम्पन्न गर्न चुकेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख राम जीवन ठाकुरले राजधानी दैनिकसँग बताए ।
तथापि गत वर्षको तुलनामा ४ दिन पहिले नै पर्सामा पनि ९८ प्रतिशत क्षेत्रफल धान योग्य खेतमा धान रोपाई सकिएको उनको तर्क छ । मुख्य गरी धान खेती कालागि त पानीकै कुरा हुन्छ उनले भने ।
गत वर्षभन्दा २१.१७ प्रतिशत बढी रोपाइँ
२०८२ सालको धान रोपाइँको तुलनामा यो वर्ष २०८३ मा मधेश प्रदेशका ८ जिल्लामा २१ दशमलव १७ प्रतिशत बढी धान रोपाई सम्पन्न भएको पाइएको छ । २०८२ सालको यही मितिमा मधेश प्रदेशमा कुल ७६ दशमलव ५४ प्रतिशत मात्र धान रोपाई भएको मधेश प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । यो वर्ष ढिलो गरी वर्षा सुरु भए पनि नियमित जस्तो आकाशे पानी परिरहेकोले धान रोपाई छिटो भएको मन्त्रालयले जनाएको छ ।
सिँचाइको पूर्ण व्यवस्था हुन अझै नसक्दा मधेश प्रदेशका कर्मवीर किसानले आकाशे पानीको भरमा पनि सत प्रतिशत जस्तो जमिनमा धान रोपाई गर्न सफल भएको मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले राजधानी दैनिकसँग बताए । आफू प्रदेश सरकारको कृषि मन्त्री भएपछि यो प्रदेशका किसानको हितका लागि सिँचाइ र रासायनिक मलको उचित प्रबन्ध र बाली भक्षक किरा तथा रोगहरूबाट किसानको बाली जोगाउन गम्भीर रूपले लागिरहेको मन्त्री पटेलको दाबी छ ।
सम्बन्धित निकायहरूको अझ तदारुकता भए मधेशका किसानले देशलाई नै पुग्ने गरी धान उब्जाउन सक्ने स्थानीय किसानहरूको दाबी छ । राज्यले पूर्ण रूपले सिँचाइ र मल, खादको व्यवस्था गरिदिने हो भने यही प्रदेशको फसलले पूरै देशलाई अन्न उब्जाउन सकिने पर्साको उदयपुर घुर्मीका किसान शम्भु यादवले पनि तर्क गरे । पर्साका किसानहरू मध्ये उनी निकै सचेत किसानका रूपमा प्रस्तुत भए ।
सम्बन्धित समाचार
उद्योग विभागका अधिकांश सेवा अब पूर्णरूपमा ‘अनलाइन’ मार्फत, सेवाग्राहीले कार्यालय धाउन नपर्ने
फास्ट ट्रयाक निर्माणमा मुख्यमन्त्रीकै कम्पनीको मनोमानी
बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य, ग्यासको भने यथावत
२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा
सरकार ! ग्यास खै ?
अमेरिकी डलर : न बढ्यो, न घट्यो
घट्यो सुनको भाउ, चाँदी के भयो ?






