बागमतीका मुख्यमन्त्री बानियाँद्वारा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा पेस

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन् ।

मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन सोमबारका लागि प्रदेशसभाको बैठक बोलाइएका थियो । तर विश्वासको मत नलिई उनले राजीनामा घोषणा गरेका हुन् ।

उनले आफ्नो कार्यकालमा गरिएका कार्यहरू समेत समेटेर सम्बोधन गरेका थिए । आवश्यक बहुमत नपुग्ने भएपछि उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री बानियाँले संसद्लाई सम्बोधन गरेर मार्गप्रशस्त गर्न प्रदेश प्रमुख समक्ष राजीनामा दिने संसदमा बताएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष राजीनामा दिएका हुन् ।

सरकार टिकाउन आवश्यक संख्यामा सांसदहरूको समर्थन प्राप्त नहुने भएपछि उनले राजीनामा घोषणा गरेको बताइएको छ ।
सोमबारै हेटौंडामा बसेको कांग्रेस बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर मार्गप्रशस्त गर्ने निर्णय गरेको थियो । बैठकले सरकार र आगामी कार्ययोजनाको निर्णय गर्ने अधिकारसमेत मुख्यमन्त्री बानियाँलाई जिम्मा दिएको छ । अबको परिस्थिति र सरकार गठनको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री बानियाँलाई नै तोकिएको बताइएको छ ।

प्रदेशसभामा सम्बोधनपछि विश्वासको मत विभाजनको प्रक्रियामा नजाँदै उनले भने, सँगै हिँड्नेले साथ छोडे अब के भन्नू र खै, अब जसले विश्वास जित्न सक्छ उसले सरकार बनाउँछ, मैले बाटो खोलिदिएँ ।’

एमालेले सरकारलाई दिएको समर्थन ६ साउनमा फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत लिनुपर्ने बाध्यता सिर्जना भएको थियो । सरकार जोगाउन उनले हाम्रो नेपाली पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को समर्थन जुटाउने प्रयास गर्दै आएका थिए । जसअनुसार हानेपालाई मन्त्रिपरिषदमा सहभागीसमेत गरेका थिए ।

विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन मुख्यमन्त्री बानियाँले शुक्रबार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेपछि कार्यसूचीसमेत सभाले तयार गरेको थियो ।

मुख्यमन्त्रीले मार्गप्रशस्त गर्न राजीनामा दिने घोषणा गरेलगत्तै विश्वासको मत सम्बन्धी कार्यसूची सभामुख अप्सरा चापागाईंले सूचीबाट हटाइकी थिइन् । ४३ दिनपछि सोमबार बसेको प्रदेशसभाको बैठक समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।

यसैबीच एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको छ । तर, एमाले र नेकपाले आवश्यक बहुमत जुटाउन नसक्दा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन ।

यसअघि राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोमबार बसेको राप्रपा बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको थियो ।

अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार राप्रपाले मुख्यमन्त्री बानियाँको विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको थियो । राप्रपाले अध्यक्ष लिङ्देनको निर्देशन र संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्री बानियाँको विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ रहन सांसदहरूलाई ह्विप समेत जारी गरिएको थियो ।

हालको परिस्थितिमा प्रदेश सरकार गठनको लागि राप्रपा निर्णायक दल रहेको छ । तर राप्रपाले कसलाई सघाउने स्पष्ट पारेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थ मन्त्रालयमा