सूर्योदयको एक अर्ब १८ करोड बजेट सार्वजनिक

इलाम । सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि १ अर्ब १८ करोड ४३ लाख ४६ हजार ३ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले कुल बजेटको ४०.६७ प्रतिशत अर्थात् ४८ करोड १६ लाख २९ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ ।

नगरपालिकाको बजेटमा चालुतर्फ ७० करोड २७ लाख १७ हजार ३ सय रुपैयाँ र पुँजीगततर्फ ४८ करोड १६ लाख २९ हजार रुपैयाँ छुट्टाइएको छ । नगरपालिकाका अनुसार पुँजीगत बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशतले वृद्धि गरिएको हो ।

बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ६ करोड २५ लाख, सङ्घीय सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानबाट ६४ करोड ७३ लाख, प्रदेश सरकारको अनुदानबाट ६ करोड ९३ लाख ८९ हजार र राजस्व बाँडफाँटबाट १६ करोड ७६ लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

बाँकी २१ करोड ५७ लाख २ हजार ३ सय रुपैयाँ अघिल्लो वर्षको मौज्दातबाट व्यहोर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले कृषि, चिया, पर्यटन, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले बताए ।

सडक पूर्वाधारतर्फ सङ्घीय समपूरक अनुदान र नगरपालिकाको लागत साझेदारीमा दामसिङ मार्ग–रोङ मार्ग–किरात मार्ग सडक स्तरोन्नतिका लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश समपूरक अनुदान र नगरपालिकाको साझेदारीमा ऋषिमोड–गोर्खे–मङ्गलवारे तथा बरबोटे–कट्टेबुङ–छिरुवा सडक निर्माणका लागि २ करोड रुपैयाँ छुट्टाइएको छ । जोखिमयुक्त विद्यालयको प्रबलीकरण तथा अन्य भौतिक पूर्वाधार पुनर्निर्माणका लागि सङ्घीय विशेष अनुदानमार्फत ३ करोड ६ लाख रुपैयाँ प्राप्त हुने नगरपालिकाले जनाएको छ ।

क्षेत्रगत रूपमा सामाजिक विकासमा ५४ करोड ७६ लाख ११ हजार, पूर्वाधार विकासमा ३० करोड १ लाख ५४ हजार, आर्थिक विकासमा ८ करोड ८२ लाख ९३ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ६ करोड ५१ लाख तथा सुशासन र संस्थागत क्षमता विकासमा २ करोड ५८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले यस वर्ष रणनीतिक पूर्वाधार निर्माण, बाह्रै महिना सञ्चालन हुने सडक सञ्जाल, सुरक्षित शैक्षिक पूर्वाधार र दीर्घकालीन विकास योजनालाई प्राथमिकतामा राखेको जनाएको छ ।

नगर सभाको उन्नाइसौँ अधिवेशनबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नगरपालिकाले कृषि, चिया, पर्यटन, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको जनाएको छ । कार्यवाहक नगर प्रमुख दुर्गा बरालका अनुसार नगरपालिकाले स्थानीय उत्पादन र रोजगारी प्रवर्द्धनसँगै पूर्वाधार विकास तथा नागरिकलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पु-याउने २६ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, साहित्य, सङ्गीत, सञ्चार, खेलकुद, पर्यटन, महिला सशक्तीकरण, टोल विकास र सामाजिक क्षेत्रका योगदानकर्तालाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि इलाम क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य निस्कल राई थिए । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, इलाम नगरपालिकाका प्रमुख केदार थापा, माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबे र सूर्योदय नगरपालिकाका पूर्व नगरप्रमुख रणबहादुर राईलगायत सहभागी थिए । समारोहमा राजनीतिक दलका प्रतिनिधि, जिल्लाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी र विभिन्न सरोकारवालाको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत