धनगढी । कैलालीमा हालसम्म सात जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिकाका दुई जना र लम्कीचुहा नगरपालिकाका दुई जनामा जापानिज इन्सेफलाइटिस देखिएको हो । त्यस्तै घोडाघोडी नगरपालिकाका एक जना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यसले मुख्यतः मस्तिष्कमा असर गर्ने भएकाले संक्रमितमध्ये गम्भीर अवस्था निम्तिन सक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए ।
‘यो जनावर र लामखुट्टेबीचको रोग हो । संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि भाइरस शरीरमा प्रवेश गर्छ । त्यसपछि मुख्यतः मस्तिष्कसँग सम्बन्धित गम्भीर समस्या आउन सक्छ,’ कुँवरले भने ।
उनका अनुसार जापानिज इन्सेफलाइटिस मानिसबाट मानिसमा सर्दैन । संक्रमण भएका सबै व्यक्तिमा लक्षण देखिन्छ भन्ने हुँदैन । केहीमा कुनै लक्षण नदेखिए पनि लक्षण देखिने संक्रमितमा भने अवस्था गम्भीर हुन सक्ने उनले बताए । उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने, शरीरमा कम्पन हुने तथा घाँटीमा असहजता हुने यसका प्रमुख लक्षण हुन् ।
रोगबाट बच्न लामखुट्टे नियन्त्रण र सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुँवरले बताए । उनका अनुसार घरका झ्यालढोकामा जाली लगाउने, घरवरिपरि पानी जम्न नदिने र पूरा बाहुला भएका कपडा लगाउने गर्नुपर्छ ।
जापानिज इन्सेफलाइटिस सुगुर, बंगुर तथा चराचुरुङ्गी र लामखुट्टेबीचको संक्रमण चक्रसँग सम्बन्धित भएकाले घरमा सुगुर वा बंगुर पाल्ने भए बस्ती तथा घरबाट केही दूरीमा व्यवस्थित रूपमा पाल्नुपर्ने उनले बताए । हाँस तथा कुखुरा पनि व्यवस्थित तरिकाले पाल्दा संक्रमणको जोखिम कम गर्न सकिने उनको भनाइ छ ।
जापानिज इन्सेफलाइटिसको शंका लागेमा समुदायस्तरमा आवश्यक नियन्त्रण तथा व्यवस्थापनको काम स्थानीय तहले गर्ने कुँवरले बताए । संक्रमण भए–नभएको यकिन गर्न प्रयोगशाला परीक्षण आवश्यक पर्ने भएकाले त्यसको परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट हुने उनले जानकारी दिए ।
‘यसमा केही अनुसन्धान पनि गर्नुपर्ने हुन्छ । त्यसका लागि विश्व स्वास्थ्य संगठनको टोली र सम्बन्धित निकायका व्यक्तिहरूले केस देखिएको स्थानको विस्तृत जानकारी लिने तथा आवश्यक सहयोग गर्ने गर्छन्,’ उनले भने ।
सरकारले जापानिज इन्सेफलाइटिसविरुद्धको खोपको व्यवस्था गरेको कुँवरले बताए । उनका अनुसार बालबालिकालाई निर्धारित उमेरमा खोप लगाउने गरिन्छ । छुटेका बालबालिकालाई पाँच वर्षसम्म खोप लगाउन सकिने व्यवस्था रहेको उनले बताए ।
यस वर्ष कैलालीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारीसमेत भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
तान्त्रिक साधना केन्द्र: भुवनेश्वरी मन्दिर प्राचीन शैलीमा
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
सुदूरपश्चिम प्रदेशसभा : एकै वर्षमा राज्यकोषबाट १४ करोड खर्च, कानुन बनाउन भने सुस्त
बडीमालिका पूजा आजदेखि प्रारम्भ






