जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा ४ जनाको मृत्यु

सप्तरी । सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका-१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका-३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिए ।

दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो । यादवको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको बताउँदै स्वास्थ्य अधिकृत यादवले जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा अन्य तीन जना बिरामी भएका जानकारी दिए । बिरामीहरू उपचारपछि घर फर्किसकेका जनाउँदै उनले तीमध्ये दुई जनाको मृत्यु भएको उल्लेख गरे ।

स्वास्थ्य अधिकृत यादवले अहिलेको समयमा यो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेकामा जोड दिए । उनले साँझपख घर बाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाउला भएका लुगा लगाउने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत गरेमा लामखुट्टेको टोकाइबाट बच्न सकिने धारणा राखे ।

यसैबीच, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । उपचारका क्रममा घोडाघोडी-४ र ९ का दुई जनाको मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला छन् ।

सिनियर अहेब बोहराका अनुसार घोडाघोडीमा पछिल्लो तीन वर्षयता जापनिज इन्सेफलाइटिसका बिरामी देखिन थालेका हुन् । अघिल्लो आर्थिक वर्षमा वडा नं ४ का एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि निको भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा वडा नं ५ र ६ का दुई जनामा सङ्क्रमण देखिएको थियो भने यस वर्ष सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत घुससहित पक्राउ