पाँच वर्षमा कोशी प्रदेशमा चट्याङबाट ६६ जनाको मृत्यु, २१८ घाइते

उदयपुर । कोशी प्रदेशमा पछिल्लो पाँच वर्षमा चट्याङका कारण ६६ जनाको मृत्यु भएको छ भने २१८ जना घाइते भएका छन्। चट्याङबाट मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

वर्षायाम सुरु भएसँगै कोशी प्रदेशका पहाडी तथा तराईका जिल्लामा चट्याङका घटना बढ्ने गरेका छन्। गत असार १३ गते मध्यरातमा मुसलधारे पानीसँगै इलामको रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तान तामाङको चट्याङ लागेर मृत्यु भयो। काठको बेरा र टिनको छानो भएको दुईतले घरको बरन्डामा सुतिरहेका तामाङलाई राति करिब १ बजे चट्याङ लागेको थियो।

त्यसैगरी, असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङकी ३९ वर्षीया कुमारी राईको पनि चट्याङ लागेर मृत्यु भयो। ठूलो वर्षा र हावाहुरी चलिरहेका बेला घरको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

यी घटना चट्याङबाट हुने क्षतिका पछिल्ला उदाहरण मात्र हुन्। बाढी र पहिरोजस्ता विपद्को तुलनामा कम चर्चा हुने चट्याङले पनि हरेक वर्ष ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याउँदै आएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि गत आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म चट्याङका कारण ६६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४४ पुरुष र २२ महिला छन्। सो अवधिमा २१८ जना घाइते भएका छन्। घाइतेमध्ये ११५ पुरुष र १०३ महिला छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पुरुषहरू बाहिरी काममा बढी संलग्न हुने भएकाले महिलाको तुलनामा चट्याङको जोखिममा बढी पर्ने गरेका छन्।

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा १५ जना, २०७९/८० मा १२ जना, २०८०/८१ मा १२ जना, २०८१/८२ मा १८ जना र गत आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म नौ जनाको चट्याङका कारण मृत्यु भएको छ।

पाँच वर्षको अवधिमा चट्याङबाट घाइते हुनेको सङ्ख्या सबैभन्दा बढी ओखलढुङ्गामा ४३ जना छ। भोजपुरमा ४०, उदयपुरमा ३३, खोटाङमा २७ र ताप्लेजुङमा १९ जना घाइते भएका छन्। झापा र सुनसरीमा १३/१३ जना, धनकुटामा नौ जना, पाँचथर र मोरङमा आठ/आठ जना तथा सोलुखुम्बुमा छ जना घाइते भएका छन्। इलाम, तेह्रथुम र सङ्खुवासभामा भने सो अवधिमा चट्याङबाट घाइते भएको विवरण शून्य रहेको प्रहरीले जनाएको छ।

चट्याङबाट मानिस मात्र नभई पशुधन र भौतिक संरचनामा समेत ठूलो क्षति भएको छ। प्रहरीका अनुसार पाँच वर्षको अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन्। चट्याङबाट लागेको आगलागीमा प्रदेशका १७० वटा घर तथा गोठ जलेर नष्ट भएका छन्। आगलागीबाट मात्रै तीन करोड ७२ लाख ६५ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

ग्रामीण क्षेत्रमा काठ तथा टिनले बनेका घरमा चट्याङबाट जोगिन आवश्यक अर्थिङको व्यवस्था नहुनु तथा चट्याङको जोखिम’bout पर्याप्त जानकारी नहुनुले क्षति बढाउने गरेको छ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोख्रेलका अनुसार पछिल्ला केही वर्षयता मौसममा देखिएको अस्थिरता तथा जलवायु परिवर्तनको प्रभावका कारण मेघगर्जनसहित चट्याङका घटना बढ्दो क्रममा छन्। मनसुन तथा प्रि–मनसुन अवधिमा मौसममा अचानक परिवर्तन भई मेघगर्जन, हावाहुरी र वर्षासँगै चट्याङ पर्ने सम्भावना उच्च रहने भएकाले विशेष सतर्कता आवश्यक हुने उनले बताइन्।

उनका अनुसार खुला स्थानमा रहेका मानिस चट्याङको बढी जोखिममा पर्ने गरेका छन्। खेतबारीमा काम गरिरहेका किसान, पशुचौपाया चराइरहेका गोठाला, जङ्गलमा घाँसदाउरा सङ्कलन गर्न गएका स्थानीय तथा खुला चौर, डाँडाकाँडा र नदी किनारमा रहेका व्यक्ति बढी जोखिममा पर्ने गरेका छन्।

मौसम खराब हुने सङ्केत देखिएलगत्तै खुला स्थानबाट सुरक्षित आश्रयमा जानुपर्ने, अग्ला रुखमुनि नबस्ने तथा बिजुलीका पोल, टेलिफोनका तार, ट्रान्सफर्मर र अन्य धातुजन्य संरचनाबाट टाढा रहनुपर्ने पोख्रेलको सुझाव छ।

सकेसम्म पक्की भवनभित्र बस्ने, झ्यालढोका बन्द गर्ने, विद्युतीय उपकरणको अनावश्यक प्रयोग नगर्ने तथा मौसमसम्बन्धी सूचना र पूर्वानुमान नियमित रूपमा पछ्याउनुपर्ने उनले बताइन्।

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि व्यक्तिगत सावधानीसँगै विद्यालय, स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायले नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। मौसमसम्बन्धी पूर्वसूचना प्रभावकारी रूपमा स्थानीयस्तरसम्म पुर्‍याउन सके मानवीय तथा भौतिक क्षति घटाउन सकिने उनले बताइन्।

चट्याङ कहाँ, कहिले, कति पटक र कति तीव्रतामा परेको थियो भन्ने वैज्ञानिक अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक मानिन्छ। तर कोशी प्रदेशमा यस्तो प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा चट्याङका घटनाको विस्तृत र वैज्ञानिक अभिलेख राख्न चुनौती रहेको छ।

जल तथा मौसम विज्ञान कार्यालय धरानका सूचना अधिकारी रूपक थापाका अनुसार प्रदेशभर चट्याङको स्थान, समय, आवृत्ति र तीव्रता मापन गरी अभिलेख राख्ने प्रणाली हाल सञ्चालनमा छैन।

उनका अनुसार विराटनगर विमानस्थलमा रहेको ‘लाइटनिङ डिटेक्टर’बाट सीमित रूपमा विवरण प्राप्त हुने गरेको छ। विमानस्थलको हवाई सेवा सञ्चालनसँग सम्बन्धित प्रयोजनका लागि जडान गरिएको सो उपकरणले विमानस्थल सञ्चालन अवधिमा मात्र रेकर्ड गर्ने भएकाले प्रदेशभरका चट्याङका घटनाको समग्र विवरण सङ्कलन गर्न पर्याप्त छैन।

धरानमा पनि ‘लाइटनिङ डिटेक्टर’ उपकरण रहेको छ। केही वर्ष अघिसम्म सञ्चालनमा रहेको सो उपकरण अहिले बिग्रिएको अवस्थामा छ। आवश्यक मर्मत तथा स्तरोन्नति हुन नसक्दा उपकरण पुनः सञ्चालनमा आउन सकेको छैन।

धरान कार्यालयमा रहेको लाइटनिङ डिटेक्टर लामो समयदेखि बिग्रिएको कारण अहिले कोशी प्रदेशमा विराटनगर विमानस्थल बाहेक अन्यत्र चट्याङ मापन गर्ने प्रभावकारी प्रणाली नरहेको थापाले बताए।

कोशी प्रदेशमा चट्याङका अधिकांश घटना प्रि–मनसुन र मनसुन अवधिमा हुने गरेका छन्। तर कुन क्षेत्रमा, कुन समयमा, कति पटक र कति तीव्रतासहित चट्याङ परेको हो भन्ने तथ्याङ्क नियमित रूपमा सङ्कलन गर्ने प्रणाली नहुँदा वैज्ञानिक अध्ययन तथा जोखिम विश्लेषणमा कठिनाइ भइरहेको छ।

थापाका अनुसार चट्याङको वैज्ञानिक अभिलेखले जोखिमयुक्त क्षेत्र पहिचान, पूर्वसूचना प्रणालीको विकास, विपद् व्यवस्थापन योजना निर्माण तथा जनधनको क्षति न्यूनीकरणका लागि महत्वपूर्ण आधार तयार गर्छ।

प्रदेशका विभिन्न जिल्लामा लाइटनिङ डिटेक्सन नेटवर्क विस्तार गरी नियमित सञ्चालनमा ल्याउन सके चट्याङसम्बन्धी तथ्याङ्क सङ्कलन, अनुसन्धान तथा पूर्वतयारीका काम प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।

बाढी र पहिरोजस्तै तत्काल देखिने विपद्को तुलनामा चट्याङलाई कम प्राथमिकता दिने प्रवृत्तिका कारण यसको जोखिम न्यूनीकरणमा पर्याप्त ध्यान पुग्न सकेको छैन।

तर पछिल्लो पाँच वर्षमा ६६ जनाको मृत्यु, २१८ जना घाइते तथा एक हजारभन्दा बढी पशुचौपायाको मृत्यु भएको तथ्याङ्कले कोशी प्रदेशमा चट्याङ गम्भीर प्राकृतिक जोखिमका रूपमा रहेको देखाउँछ। समयमै पूर्वसूचना, सुरक्षित संरचना, वैज्ञानिक अभिलेख र जनचेतना विस्तार गर्न सके चट्याङबाट हुने क्षति उल्लेख्य रूपमा घटाउन सकिन्छ। त्यसका लागि आवश्यक उपकरण सञ्चालन तथा मर्मत गर्न राज्यले तदारुकता देखाउनुपर्ने देखिन्छ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभुती गरेनन् : प्रभु साह