प्रधानमन्त्रीको भिडियो खिचेको भन्दै सेनाले गर्‍यो डिलिट

पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गरी आइतबार पोखरा फर्किएका छन् । उनी पोखरा–१४, मझेरीपाटनस्थित मझेरी मन्जिल रिसोर्टमा बसेका छन् । यो रिसोर्ट आफ्नै क्याबिनेटका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गनेस) को हो ।

प्रधानमन्त्री हुनुअघि पोखरा आउँदा पनि उनी यहीँ बस्ने गर्थे । प्रधानमन्त्रीको भ्रमणमा पर्यटनमन्त्री गनेस पनि सहभागी छन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रधानमन्त्रीज्यू पोखरा आएर बसेको र भोलि सोमबार काठमाडौं फर्किनेसम्म जानकारीसम्म पाएको बताए । उनले भने, ‘उहाँ (प्रधानमन्त्री) को नितान्त व्यक्तिगत र पारिवारिक भ्रमण भएकाले हामीलाई केही खबर गरिएको छैन ।’

प्रधानमन्त्री शाह आफ्नो परिवार र सचिवालयको टिमसहित शुक्रबार कास्कीको माछापुच्छ«े गाउँपालिकाको अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए । शनिबार बिहान स्थलमार्ग हुँदै मुस्ताङ गएका उनले मुक्तिनाथको दर्शन गरेका छन् ।

मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री शाह घरपझोङ गाउँपालिका–३, जोमसोम बजारस्थित मुस्ताङी तथा थकाली मौलिक संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित होटल ओम्स होममा बसेका हुन् । पाँच दशकअघिदेखि विष्णु राज र लालकुमारी हिराचनले सो होटल सञ्चालन गर्दैआएका छन् ।

यसैबीच, प्रधानमन्त्रीको भिडियो खिचेको भन्दै उनको सुरक्षामा खटिएको नेपाली सेनाले डिलिट गरिदिएको छ । आइतबार दिउँसो पोखराको मझेरीपाटनस्थित रिसोर्ट प्रवेश गर्नेक्रममा पोखराका पत्रकार सुरेश सुनारले प्रधानमन्त्री र उनको छोरी रहेको भिडियो कैद गरेका थिए ।

प्रधानमन्त्री शाह दिउँसो करिब साढे ३ बजे रिसोर्ट छिरेका थिए । सुरुमा रिसोर्टको गेट अगाडिबाट भिडियो खिच्न लागेकामा नदिएपछि पारिपट्टी पुगेर खिच्दासमेत सेनाले ‘निजी भ्रमण’ भन्दै भिडियो हटाउन लगाएकोमा आफूले सहर्ष स्वीकार गरी डिलिट गरेको सुनारले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री शाहलाई नजिक देखेपछि केही दूरीबाट उहाँको भिडियो खिचेको हुँ । भिडियो खिचिसकेपछि एक जना सुरक्षाकर्मी गाडी लिएर आउनुभयो र क्यामरा उता नफर्काउन आग्रह गर्नुभयो । त्यसपछि उहाँले यो उहाँको पारिवारिक तथा नितान्त व्यक्तिगत भ्रमण भएकाले भिडियो सार्वजनिक नगरिदिन अनुरोध गर्नुभयो । मैले पनि उहाँको अनुरोधलाई सम्मान गर्दै भिडियो डिलिट गरिदिएँ ।’

यस घटनामा भने आफूमाथि कुनै दुर्व्यवहार वा अप्रिय व्यवहार भने नभएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा–दन्त शिविर