काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि आँखा धमिलो देख्ने समस्याबाट ग्रसित थिए । यसअघि उनले कहिल्यै आफ्नो आँखाको जाँच गराएका थिएनन् ।
तर, तुलसीपुर–१२ को वडा कार्यालयमा सोमबार राखिएको स्वास्थ्य शिविरमा जाँच गराउँदा मोतियाबिन्दु देखियो । ‘पहिल्यै धमिलो देखिन्थ्यो, तर, परीक्षण गराउन पाएको थिएन,’ उनले भने, ‘अहिले परीक्षण गराउँदा मोतियाबिन्दु भएको रहेछ, अब आज शल्यक्रियाका लागि बोलाउनुभएको छ ।’
हरीपौरीकै बट्क्या चौधरीको पनि देब्रे आँखा कम देखिने समस्या थियो । त्यो आँखा पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाव दिए । गाउँघरमै यसरी शिविर सञ्चालन भएपछि आफूले आँखा जाँच गराउन पाएको उनको भनाइ छ । ‘गाउँमै आँखा जाँच गर्ने शिविर आयो,’ उनले भने, ‘आँखा जाँच गराउँदा समस्या पनि पत्ता लाग्यो ।’
उनीहरू मात्रै होइन, सोही वडाका मात्रै तीनसय ८२ जनाको आँखा जाँच गरिएको थियो । त्योमध्ये ६३ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो, भने एकसय ११ जनालाई चस्मा वितरण गरिएको थियो ।
मोतियाबिन्दु बिग्रिएर जलविन्दु भएमा त्यसले आँखालाई निकै समस्या पार्ने भएकाले पनि मोतियाबिन्दुको पहिचान गरी शल्यक्रिया गर्न यो शिविर आयोजना गरिएको अस्पतालका नेत्र सहायक विमल घिमिरेले जानकारी दिए । उनका अनुसार मोतियाबिन्दुको शल्यक्रिया गर्न १२ हजार लाग्ने गरेको भए पनि शिविरबाट गएपछि छ हजार पाँच सयमा शल्यक्रिया गरिदिनेसमेत बताए ।
त्यस्तै चस्मा आवश्यक पर्नेहरूलाई निःशुल्क चस्मासमेत वितरण गरिएको अस्पतालका प्रशासन सहायक पूर्णबहादुर वलीले बताए । नेपालमा दृष्टि गुम्नुको मुख्य कारण नै मोतियाबिन्दु रहेकोसमेत उनले जानकारी दिए ।
उमेर बढ्दै जाँदा मोतियाबिन्दु हुनु स्वभाविक प्रक्रिया रहेको जनाउँदै यसलाई समयमै पहिचान र शल्यक्रिया गर्नुपर्ने उनको भनाइ छ । यदि समयमै शल्यक्रिया नभएमा भने जोखिम बढ्न सक्ने उनको भनाइ छ ।
वडावासीको मागअनुसार यसरी स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले जानकारी दिए । आँखाजस्तो संवेदनशील अङ्गलाई जोगाउन पनि यस्ता शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ ९राप्ती आँखा अस्पताल० प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर भएको हो । शिविरलाई नर्वेको ‘द नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्सियली साइटेड’, ‘एट्लास एलायन्स’ तथा नर्वे सरकारको आर्थिक सहयोग रहेको छ ।
यो शिविर तुलसीपुरको १२ र १३ मा सम्पन्न भइसकेको छ, भने केही दिनमा तुलसीपुर–११ मा आयोजना हुनेछ । त्यस्तै घोराही उपमहानगरपालिकासहित बबई, शान्तिनगर, दङ्गीशरणमा पनि शिविर सञ्चालन हुनेछ । यो कार्यक्रमअन्तर्गत डिसेम्बरसम्म १२ सयलाई मोतियाबिन्दुको शल्यक्रिया गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा
पन्ध्र जनामा औलो रोगको सङ्क्रमण
कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’bout नीति संवाद
विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई
माङसेबुङमा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’
मोबाइलबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने बाध्यताको अन्त्य
एचआइभीका नयाँ रोगी पहिचान
स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’






