पोखरा ल्याइएका १०२ शवमा ४ मात्र सनाखत

पोखरा । रसुवाको भोटेकोशीमा आएको बाढीले ज्यान गुमाएकाहरुमध्ये हालसम्म १ सय २ शव पोखरा ल्याइएको छ । पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि पहिचान भएका शव परिवार तथा आफन्तलाई बुझाउने गरी तथा व्यवस्थापनका लागि नवलपुर, गोरखा, तनहुँ र धादिङमा संकलन गरेर यहाँ ल्याइएको हो ।

बाढीले बगाएर नवलपुरमा फेला परेका शवमध्ये सबैभन्दा बढी ४१ शव पोखरा ल्याइएको छ । ९३ शव रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ९ शव मणिपाल शिक्षण अस्पतालमा छन् ।

शुक्रबार साँझसम्म ४ वटा शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । ४ मध्ये एउटा मात्र शव मृतकका परिवारजनले बुझेर लगेका छन् । भक्तपुर नगरपालिका–९ का ३६ वर्षीय श्यामसुन्दर प्रजापतिको शव आफन्तले बुझेका हुन् । बाँकी ३ शव सनाखत भएको र पोस्टमार्टम हुन बाँकी रहेको प्रहरी निरीक्षक दीपक रिजालले बताए ।

२ दिन अवधिमा यहाँ २० शव पोस्टमार्टम भइसकेको छ । अब शनिबार बिहान ९ बजेदेखि बाँकी शवको पोस्टमार्टम सुरु गरिने रिजालले बताए । कास्कीमा शव व्यवस्थापनका लागि प्रहरी निरीक्षकको कमाण्डमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चौबिसै घण्टा हेल्प डेस्क खडा गरिएको छ । जहाँ शवको पहिचान खुल्ने गरी मुखाकृति, शरीरका टाटु, शरीरका अंगहरु भिडियोमार्फत देखाउने गरिएको छ । शव पहिचानका लागि मृतकका आफन्त तथा परिवारजन बिहीबार दिनभर मलीन मुद्रामा ओहोरदोहोर गरेको पाइन्थ्यो ।

शवको पहिचान गर्न आएका ३२ जना आफन्तलाई पोखराका विभिन्न होटलमा निःशुल्क खानेबस्ने व्यवस्था मिलाइएको छ । पहिचान भएका शव आफ्नो गृहजिल्लासम्म तथा अन्तिम दाहसंस्कार गर्ने ठाउँसम्म निःशुल्क शवबाहनको व्यवस्था गरिएको छ । ५ शववाहन तयारी अवस्थामा छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७२ मात्र शव राख्न मिल्ने क्षमता रहेको पूर्व जानकारी गराइएको थियो । तर २०-२२ वटा शव सग्लो नभएको र हात, खुट्टा वा शरीरका अन्य अंगमात्र भेटिएकाले छुट्टाछुट्टै राख्न नपर्दा व्यवस्थापन गर्न सकिएको अस्पतालले जनाएको छ ।

‘स्याम्पलिङ र ट्यागिङ फरक–फरक हुन्छ । त्यस्ता शव फरक–फरक पोकामा एउटै ठाउँमा राखेर पनि म्यानेज गरेका छौं,’ प्रहरी निरीक्षक रिजालले भने । उनका अनुसार प्रत्येक शवको फिङ्गर प्रिन्ट लिनुका साथै डिएनए नमूना संकलन गरिएको छ । कलेक्सन, लेभलिङ र प्याकेजिङ प्रक्रियाका लागि फरेन्सिङ साइन्स ल्याबबाट प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक टोली पोखरा आएको छ । उक्त टोलीले शवको वैज्ञानिक परीक्षण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

आज गाईजात्रा पर्व मनाइँदै