मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिसहितका विषयमा दायर रिट निवेदनमा उच्च अदालत पाटन, हेटौंडा इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । योसँगै प्रदेश सरकारका काम कारबाही रोक्नुपर्ने अवस्था नरहेको र प्रदेश सरकारले नियमित रूपमा आफ्ना काम अघि बढाउन सक्ने अदालतका उपरजिस्टार प्रवक्ता बद्रीप्रसाद लामिछानेले जानकारी दिएका छन् ।
न्यायाधीशद्वय जनक पाण्डे र किरणकुमार पोखरेलको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश दिएको हो । कुमारी तामाङले प्रदेश प्रमुखको कार्यालय, बागमती प्रदेशलाई विपक्षी बनाई मुख्यमन्त्री थापामगरको नियुक्ति तथा विश्वासको मतसम्बन्धी प्रक्रियामाथि प्रश्न उठाउँदै रिट दायर गरेकी थिइन् ।
रिटमा अन्तिम टुंगो नलागेसम्म मुख्यमन्त्रीलाई काम गर्न रोक लगाउन, विश्वासको मतसम्बन्धी प्रक्रिया अघि नबढाउन तथा नियुक्तिसम्बन्धी काम कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो ।
अदालतले प्रदेशसभा सदस्य किरण थापामगर ४ भदौ २०८३ मा मुख्यमन्त्रीमा नियुक्त भई मन्त्रिपरिषद् गठन भइसकेको र ९ भदौमा प्रदेशसभाबाट विश्वासको मतसमेत प्राप्त गरिसकेको अवस्थालाई आधार मानेको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई तत्काल रोक्दा कार्यपालिकालाई लामो समयसम्म ‘शून्य’ अवस्थामा राख्नुपर्ने अवस्था आउन सक्ने भन्दै अदालतले अहिले अन्तरिम आदेश जारी गर्न नमिल्ने ठहर गरेको हो ।
बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता एवं कानुन उपसचिव प्रकाश चापागाईंले अदालतको आदेशपछि प्रदेश सरकारका काम कारबाहीमा कुनै अवरोध नरहेको बताए । ‘अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेसँगै भए–गरेका काम कारबाही रोक्नुपर्ने अवस्था रहेन र प्रदेश सरकारले आफ्ना काम कारबाही गर्न कुनै अवरोध छैन,’ उनले भने ।
चापागाईंले अदालतको आदेशलाई सम्मान गर्दै सचिवालयले आफ्नो हकमा प्रतिरक्षा गर्ने बताए । मुद्दाको अन्तिम निरूपण हुन बाँकी रहेकाले अहिले नै कुनै निष्कर्ष निकाल्नु उपयुक्त नहुने उनको भनाइ छ । ‘अदालतको अन्तिम फैसला तथा आगामी कानुनी प्रक्रियालाई हामी प्रतीक्षा र सम्मानका साथ हेर्नेछौँ,’ उनले भने ।
सम्बन्धित समाचार
बागमतीमा एमालेलाई नेकपा र राप्रपाको समर्थन, आजै थापा मुख्यमन्त्री बन्ने
बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिँदै, मत दिन नेकपाद्वारा ह्विप जारी
बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे
स्कुलबाट घर आउँदै गर्दा बगेकी बिनिताको शव भेटियो, एक जनाको खोजी जारी
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने, राप्रपामा भाँडभैलाे
बाल शल्यचिकित्सकबीच अन्तरक्रिया
गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय
आवश्यकता परे वैदेशिक सहयोग परिचालन गर्छौं: सरकार






