ऊर्जामा धक्का, बीमा दाबी अकल्पनीय

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको ऊर्जा क्षेत्रमा ठूलो क्षति पु¥याएपछि त्यसको वित्तीय असर बीमा कम्पनी र जलविद्युत्मा लगानी गरेका बैंक तथा वित्तीय संस्थासम्म पर्ने देखिएकोे छ ।

बाढीबाट जलविद्युत् आयोजना, प्रसारण तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि विद्युत् उत्पादन क्षमताको ठूलो हिस्सा प्रणालीबाट बाहिरिएको छ भने बीमा कम्पनीमा परेको प्रारम्भिक दाबी रकम अहिलेसम्मकै उच्च देखिएको छ ।

– ४३१ मेगावाट विद्युत् प्रणालीबाट बाहिर

– १५ बीमा कम्पनीमा पौने २६ अर्बको प्रारम्भिक दाबी

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ सम्म १५ वटा निर्जीवन बीमा कम्पनीमा ५८३ बीमालेखबाट २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ । यो अन्तिम क्षतिपूर्ति रकम भने होइन । स्थलगत सर्भे, क्षतिको मूल्यांकन, बीमालेखका सर्त तथा अन्य कागजात परीक्षणपछि मात्रै बीमा कम्पनीको वास्तविक दायित्व निर्धारण हुनेछ । क्षतिको विवरण संकलन जारी रहेकाले दाबी रकम अझ बढ्न सक्ने बीमा क्षेत्रका अधिकारीहरूले बताएका छन् ।

यसअघि जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा करिब २३ अर्ब ५० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको थियो । त्यसको तुलनामा भोटेकोशी–त्रिशूली बाढीको प्रारम्भिक दाबी बढी देखिएको हो ।

बीमा प्राधिकरणको विवरणअनुसार बाढीबाट भएको क्षतिमा सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाअन्तर्गत परेको छ । यस शीर्षकमा ५२ बीमालेखबाट २० अर्ब ५० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ ।

सम्पत्ति बीमामा ११३ बीमालेख, मोटर बीमामा ३१३, परिवहन बीमामा ४७, अन्य बीमा शीर्षकमा ५४ र स्वास्थ्य बीमामा चार बीमालेखबाट दाबी परेको छ । सबै शीर्षक जोड्दा ५८३ बीमालेखबाट २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी पुगेको हो ।

कम्पनीगत रूपमा सबैभन्दा ठूलो दाबी दी ओरियन्टल इन्स्योरेन्समा परेको छ । आठ बीमालेखबाट उक्त कम्पनीमा मात्रै १३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ । दाबी गर्ने बीमालेखको संख्याका आधारमा भने शिखर इन्स्योरेन्स अगाडि छ ।

४३१ मेगावाट विद्युत् प्रणालीबाट बाहिर
बाढीका कारण भोटेकोशी नदी बेसिनका जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि करिब ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको ऊर्जा क्षेत्रसम्बन्धी विवरणमा उल्लेख छ । प्रभावित उत्पादन केन्द्रमा रसुवागढी, सान्जेन, माथिल्लो सान्जेन, चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो मैलुङ, मैलुङ, त्रिशूली र देवीघाटलगायत आयोजना तथा संरचना छन् ।

नेपाल पछिल्लो समय वर्षायाममा अतिरिक्त विद्युत् भारत निर्यात गर्ने अवस्थामा पुगेको थियो । तर भोटेकोशी–त्रिशूली क्षेत्रमा विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि घरेलु माग व्यवस्थापनमा समेत दबाब परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीबाट जोगिएका कैलालीका श्रमिक घर फर्किए, १४० भन्दा बढी अझै सम्पर्कविहीन