धनगढी । भोटेकोशीमा आएको भीषण बाढीबाट जोगिएका कैलालीका १३ जना कामदार घर फर्किएका छन् । उनीहरू रसुवास्थित त्रिशूली थ्री–ए जलविद्युत् आयोजनाको सुरुङमा काम गरिरहेका थिए ।
भजनी नगरपालिका–१ का २५ वर्षीय सन्तोष चौधरीसहित कैलालीका विभिन्न स्थानीय तहबाट आयोजनामा काम गर्न गएका उनीहरूले बाढी आउँदै गरेको सूचना पाएपछि सुरुङबाट बाहिरिएर उच्च भू–भागमा पुगेर ज्यान जोगाएका हुन् ।
सन्तोष आयोजनाको सुरुङभित्र सरिया मिलाउने काम गर्थे । उनी कामका लागि रसुवा पुगेको एक महिना १० दिन मात्रै भएको थियो ।
एक्कासि आयो बाढीको खबर
भदौ १० गते बिहान सुरुङभित्र काम गरिरहेका बेला एक्कासि ठूलो आवाज सुनिएको थियो । त्यहाँ सँगै काम गरिरहेका एक चिनियाँ नागरिक ‘के भएको रहेछ, हेरेर आउँछु’ भन्दै गाडी लिएर बाहिरिएका थिए ।
केहीबेरमै उनले माथिबाट ठूलो बाढी आउँदै गरेको भन्दै सुरुङभित्र रहेका कामदारलाई खबर गरेका थिए । सूचना पाएपछि करिब ४० जनाको टोली हतार–हतार सुरुङबाट बाहिरिएको सन्तोषले बताए ।
‘सुरुङभित्र धेरै जना काम गरिरहेका थियौँ। बाहिर बाढी आउँदै गरेको खबर पाएपछि हतार–हतार निस्कियौँ,’ उनले भने ।
सुरुङबाट बाहिरिएपछि ती चिनियाँ नागरिकले उनीहरूलाई डेरामा नजान र अझै माथिल्लो क्षेत्रमा जान सचेत गराएका थिए । बाढी केही शान्त भएपछि मात्रै उनीहरू डेरामा फर्किएका थिए ।
उनीहरू बसेको कोठामा क्षति नभए पनि आसपासका बैंक, कम्पनीका कार्यालय तथा घरहरू बाढीले बगाएको सन्तोषले बताए । बाढीका कारण दिनभर मोबाइल नेटवर्क अवरुद्ध हुँदा उनीहरूले परिवारसँग सम्पर्क गर्न सकेनन् । रातभर डर र त्रासमा बितेको उनले बताए ।
सेनाको हेलिकप्टरबाट उद्धार
भदौ ११ गते उद्धारका लागि हेलिकप्टर आउने आशमा उनीहरू अग्लो डाँडामा पुगेका थिए । तर हेलिकप्टर नआएपछि उनीहरू कम्पनीतर्फ फर्किएका थिए । पछि नेपाली सेनाको हेलिकप्टर पुगेपछि उनीहरूलाई उद्धार गरी सेनाको क्याम्पमा लगिएको थियो ।
भदौ १२ गते राति क्याम्पमै खाना र बासको व्यवस्था गरिएको थियो। भदौ १३ गते नेपाली सेनाले बसमार्फत उनीहरूलाई काठमाडौं पठाएको थियो । काठमाडौंमा जनही पाँच हजार रुपैयाँ यातायात खर्च दिएर घर पठाइएको थियो ।
सन्तोषसहितको टोली भदौ १५ गते सोमबार कैलाली पुगेको हो । ‘हामी बाँच्न सफल भयौँ। नयाँ जीवन लिएर घर फर्किएका छौँ,’ सन्तोषले भने ।
सकुशल घर फर्किनेमा सन्तोषसँगै भजनी नगरपालिका–१ का प्रेमबहादुर डगौरा, सरोजकुमार चौधरी, लक्ष्मण डगौरा, आकाश डगौरा, सुधराम थारु र भजनी नगरपालिका–८ का रामस्वरूप चौधरी तथा टीकापुर नगरपालिकाका बालकृष्ण चौधरी, प्रदेशी चौधरी, गौरव चौधरी, जीतराम चौधरी र अनिषकुमार डगौरा थारु रहेका छन् । त्यस्तै, जानकी गाउँपालिका–७ का छुनुकराम डगौरा पनि रहेका छन् ।
‘केही क्षण ढिला भएको भए अवस्था अर्कै हुन सक्थ्यो,’ अर्का कामदार आकाश डगौराले भने, ‘सकुशल फर्किएपछि परिवारमा खुसी छाए पनि सुदूरपश्चिमका धेरै परिवारको प्रतीक्षा अझै सकिएको छैन ।’
१४० भन्दा बढी अझै सम्पर्कविहीन
प्रहरीका अनुसार त्रिशूली बाढीपछि सुदूरपश्चिमका १४० भन्दा बढी मानिस अझै सम्पर्कविहीन छन् । हालसम्म ३६ जना सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आउनेमा कैलाली र कञ्चनपुरका ३५ जना तथा डडेल्धुराका एक जना रहेका छन् । बाढीमा परेर अझै सम्पर्कविहीन रहेका सुदूरपश्चिमका नागरिकका परिवारजन भने आफ्ना आफन्तको अवस्था’bout खबरको प्रतीक्षामा छन् ।
सम्बन्धित समाचार
बडीमालिका पूजाका लागि धनगढी उपमहानगरको सरकारी टोली बाजुरा प्रस्थान
सुदूरपश्चिमका ६ हजार मिटरभन्दा अग्ला हिमालको ‘पिक प्रोफाइल’ बनाउन पर्वतारोहण संघको माग
विपद्मा धनगढीको ऐक्यबद्धता: बाढीपीडितका लागि ४१ लाख सहयोग
धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी
कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्कियो, एक जनाको मृत्यु
सुदूरपश्चिमका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन
ब्रहमकुमारीद्वारा रक्तदानको आयोजना
चीनतर्फबाट आएको विनाशकारी बाढीले रसुवामा ठूलो क्षति भएको पूर्वानुमान





