काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकाको शिक्षादेखि बुवा–आमाको स्वास्थ्य उपचारसम्मको जिम्मेवारी गोल्याण फाउण्डेशनले लिएको छ ।
फाउण्डेशनले २२ सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति तथा २२ सहिदका ४३ बुवा–आमालाई आजीवन स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउँदै आएको छ ।
भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ४५ जनाले सहादत प्राप्त गरेका थिए । आन्दोलनको एक वर्ष पुग्दै गर्दा गोल्याण ग्रुपको सामाजिक उत्तरदायित्वअन्तर्गतको संस्था गोल्याण फाउण्डेशनले सहिद परिवारको शिक्षा र स्वास्थ्यमा गरेको प्रतिबद्धता कार्यान्वयन गरेको जनाएको छ ।
फाउण्डेशनले २४ असोज २०८२ मा सहिद परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने घोषणा गरेको थियो । फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रेका अनुसार शिक्षा र स्वास्थ्य कार्यक्रमका लागि वार्षिक करिब साढे २ करोड रुपैयाँ विनियोजन हुँदै आएको छ ।
शैक्षिकवृत्तिअन्तर्गत प्रत्येक विद्यार्थीलाई मासिक ४० हजार रुपैयाँका दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ उपलब्ध गराइन्छ । कक्षा १२ सम्म प्रदान गरिने उक्त वृत्तिमा विद्यालय शुल्क, खाना तथा खाजा, छात्रावास, यातायात, अतिरिक्त क्रियाकलाप, भर्ना तथा प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी र पोसाकलगायतका खर्च समेटिएका छन् ।
शैक्षिकवृत्तिमा आबद्ध बालबालिकाले काठमाडौंका यूरो स्कुल, त्रिज्योति सेकेन्डरी स्कुल, गोल्डेन पिक स्कुल, ललितपुरको डिएभी सुशील केडिया विश्वभारती स्कुल, झापाको ग्रिन फिल्ड वल्र्ड स्कुल, चितवनको स्मल हेभन मोडेल स्कुल, पोखराको अर्ली चाइल्डहुड एकेडेमी, बुटवलको स्कलर्स होम बोर्डिङ हाइस्कुल, सुनसरीको मिनील्याण्ड सेकेन्डरी स्कुल र लहानको स्कुल अफ स्कलर्सलगायतका विद्यालयमा अध्ययन गरिरहेका छन् ।

शैक्षिकवृत्तिमा समेटिएकामध्ये चितवनकी आकृती राईले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेकी छन् । तीन बालबालिकाले सोही वर्ष अक्षरारम्भ गरेका छन् । फाउण्डेशनले आकृतीको थप तीन वर्ष र अक्षरारम्भ गरेका तीन बालबालिकाको करिब १५ वर्षसम्मको शैक्षिक खर्च व्यहोर्ने जनाएको छ ।
शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका बुवा–आमाका लागि स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ । उनीहरूलाई वार्षिक १० लाख रुपैयाँसम्मको आजीवन स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइएको फाउण्डेशनले जनाएको छ । बीमा कार्यक्रमअन्तर्गत पहिलो वर्ष करिब ८ लाख रुपैयाँ दाबी रकम भुक्तानी भइसकेको छ । सबैभन्दा बढी सहिद कृतिबल्लभ पन्तको स्वास्थ्य उपचारमा करिब ४ लाख रुपैयाँ भुक्तानी भएको फाउण्डेशनले जनाएको छ ।
गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिदहरूको बलिदानको सम्मान गर्दै उनीहरूले आफ्ना परिवार र सन्तानका लागि देखेको सपना पूरा गर्न सहयोग गरिएको बताए । ‘उहाँहरूको बलिदानले मुलुकमा नयाँ प्रणालीको सुरुवात भएको छ, देशले परिवर्तन पाएको छ,’ उनले भने, ‘सहिदहरूको बलिदानको कुनै मूल्य हुँदैन । हामीले केवल सहिदहरूले आफ्नो परिवार र सन्तानका लागि देख्नुभएको सपना पूरा गर्ने जिम्मेवारी लिएका हौं ।’
गोल्याण फाउण्डेशनका सीईओ गैह्रेले ‘एक परिवार, एक जिम्मेवारी’को उद्देश्यसहित शिक्षा र स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताइन् । ‘राम्रो शिक्षाले एउटा बालकलाई मात्र सक्षम बनाउँदैन, उसले परिवार, समाज र समग्र देशलाई समेत योगदान दिन सक्छ,’ उनले भनिन्, ‘छोराको मृत्युपछि सहारा गुमाएका सहिदका बुवा–आमाको स्वास्थ्यसम्बन्धी बोझ घटाउन स्वास्थ्य बीमाको व्यवस्था गरिएको हो ।’
जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत रहेका सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले सहिद परिवारप्रति गोल्याण ग्रुपले गरेको सहयोगको प्रशंसा गरे । ‘हाम्रा छोराहरूले सुशासनका लागि सहादत प्राप्त गरे, गोल्याणले त्यसको योगदानको सम्मान ग¥यो,’ उनले भने ।
समाजका कोषाध्यक्ष तथा सहिद श्रीयम चौलागाईंका बुवा गणेशप्रसाद चौलागाईंले दुःखको समयमा घोषणा भएका कतिपय सहयोग कार्यान्वयन नभइरहेका बेला गोल्याण ग्रुपले आफ्नो प्रतिबद्धता पूरा गरेको बताए । ‘सरकारले समेत शिक्षा र स्वास्थ्यमा यति ठूलो सहयोग गर्न सकेको छैन, तर गोल्याण ग्रुपले निःस्वार्थ सहयोग गरेको छ,’ उनले भने ।
सहिद मिलन रायको परिवार भने फाउण्डेशनको शिक्षा तथा स्वास्थ्य कार्यक्रममा समेटिएको छैन । उनका बालबालिका र बुवा–आमा नभएकाले कार्यक्रमको मापदण्डअनुसार समेट्न नसकिएको फाउण्डेशनले जनाएको छ ।
यस्तै, आन्दोलनका क्रममा मृत्यु भए पनि सहिद घोषणा नभएका दुई व्यक्तिका परिवारलाई समेत फाउण्डेशनले यसअघि गरेको प्रतिबद्धताअनुसार सहयोग गरेको छ । त्यसमध्ये एक जनालाई शैक्षिकवृत्ति र अर्का एक जनालाई स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइएको गैह्रेले बताइन् ।
सम्बन्धित समाचार
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
बाढीपीडितलाई ललितपुरका ३ स्थानीय तहको एक करोड ८० लाख सहयोग
रेडक्रसद्वारा पौने ५ अर्ब सहयोग अपील
चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित
११ जलविद्युत् आयोजनाका ८९८ अझै सम्पर्कविहीन
रसुवा बाढी पीडितलाई सिन्धुली कारागारका कैदीबन्दीको सहयोग
बेलीब्रिज र फरेन्सिक टोलीसहित चीनको तेस्रो खेप सहयोग
भोटेकोशी बाढीपीडितका लागि युरोपको ट्रिप इन होटल समूहले दियो ५१ लाख रुपैयाँ






