सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलहरु नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को सँयुक्त सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

यसै महिनाभित्र फाष्ट ट्रयाकबाट बजेट ल्याइने

मुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलबीचको सहमतिका आधारमा सोमबार ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम सार्वजनिक गर्दै आर्थिक मामिलामन्त्री चक्र मल्लले ‘उत्पादन–रोजगारी–आय’लाई समृद्धिको मूल आधार बनाइ कृषि, उद्योग, पर्यटन, पूर्वाधार र सेवा क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोज गरिने बताए ।

उनले सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला, दलित, थारू, पूर्वकमैया र मुक्त हलियालाई लक्षित गरी सीप, प्रविधि र पुँजीको उद्यमशीलता तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने बताए ।

बजेट निर्माणलाई पारदर्शी तथा परिणामुखी बनाउन आयोजना छनोट तथा कार्यान्वयनमा देखिएका कमजोरी तथा विसंगितको अन्त्य गरिनेछ तथा भौगोलिक विकटता, जनसंख्या र मानव विकास सूचकांकका आधारमा सन्तुलित र मितव्ययी बजेट तर्जुमा गरिने कार्यक्रममा उल्लेख छ ।

भौगोलिक क्षेत्रको अनुकुलतामा कृषिको व्यवसायिकरण गर्न गाई, भैंसी, भेडा च्यांग्रा, बाखा, बङ्गुर, माछा, मौरीपालन लगायतको बृहत पशुपालन आयोजना सञ्चालन गर्न प्रोत्साहन गर्दै प्रदेशलाई दूध, माछा, मासु, अण्डा, मह लगायतमा पूर्ण आत्मनिर्भर बनाइने सरकारको साझा कार्यक्रममा उल्लेख छ ।

जातीय विभेद र छुवाछूत अन्त्यका लागि ‘दलित अधिकार दशक’ कार्यान्वयन गरी आत्मसम्मान र जीविकोपार्जन सुनिश्चत गरिने जनाइएको छ ।

त्यस्तै,जनआन्दोलन, जनयुद्ध लगायत लोकतान्त्रिक तथा सामाजिक परिवर्तनका आन्दोलनका सहिद, घाइते, अपांग एवं वेपत्ता नागरिकका परिवारको योगदानलाई सम्मान गर्दै उनीहरूको अभिलेखीकरण, सम्मान, परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता तथा जीवन निर्वाहमा आवश्यक सहयोगको नीतिगत व्यवस्था गरिने सार्वजनिक कार्यक्रममा भनिएको छ ।

यसै महिनाभित्र बजेट ल्याइने
झण्डै दुई महिनादेखि बजेटविहीन अवस्थामा रहेको यो प्रदेशमा मुख्यमन्त्री भट्टले यसै महिना (भदौ मसान्त) भित्र फाष्ट ट्रयाकबाट बजेट आउने बताएका छन् । सत्तासाझेदार दल न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले बजेट ल्याउने नीतिगत तयारी पुरा भएको बताएका हुन् । मन्त्रालयहरुलाई बजेट निर्माणका लागि दिने मार्ग निर्देशन समेत तयार रहेको मुख्यमन्त्री भट्टले बताए । मुख्यमन्त्रीको तर्फबाट मन्त्रालयहरुलाई दिने नीतिगत निर्देशनको मस्यौदा पनि बनाइरहेको उनले बताए ।

मुख्यमन्त्री भट्टले यि मार्गदर्शनहरुको आधारमा बजेट बनाउन धेरै दिन नलाग्ने भएकाले भदौ मसान्तभित्रै बजेट ल्याउन सम्भव रहेको पनि बताए । उनले बजेटमा रहेको बेथिति सामान्य तरिकाले समाधान हुन सक्ने अवस्था नरहेकोले केही दिन बढि लगाएर भएपनि शब्द–शब्द, वाक्य–वाक्यमा र बुँदा बुँदामा छलफल गरेर न्युनतम साझा कार्यक्रम तयार गरेको बताए ।

अघिल्लो सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसक्दा प्रदेश सरकार साउन १ गतेदेखि बजेट शून्यतामा छ । अघिल्लो पटक २०८१÷८२ मा प्रदेश सरकार बजेट शून्यता जाँदा पनि बजेट पुनर्लेखन गरी भदौ ३१ गते प्रदेशसभामा प्रस्तुत गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

चीन–नेपाल जोड्ने केरुङ नाका यही स्थानमा किन बन्यो ?