नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थानसम्मको योजना

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारका विभिन्न महत्वपूर्ण योजना अघि सार्दै छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

साधारणसभामा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास, फार्मेसी शाखा विस्तार, सिटी हस्पिटल तथा एकीकृत क्यान्सर संस्थान स्थापनालगायतका योजना सार्वजनिक गरेका छन्।

कार्ययोजनाअनुसार निर्माणाधीन अस्पताल भवनको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य नर्भिकले लिएको छ।

त्यस्तै, हाल काठमाडौं उपत्यकामा १५ शाखा सञ्चालनमा रहेको नर्भिक फार्मेसियाले चालु आर्थिक वर्षमा उपत्यकाभित्र १८, उपत्यकाबाहिर १५ र फ्रान्चाइज मोडलमा ६ शाखा विस्तार गर्ने लक्ष्य राखेको छ। यससँगै शाखाको कुल संख्या ५४ पुर्‍याउने र आगामी दुई वर्षभित्र १०० शाखा विस्तार गर्ने योजना रहेको जनाइएको छ।

स्वास्थ्य सेवाको पहुँच काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा समेत विस्तार गर्ने उद्देश्यले नर्भिक सिटी हस्पिटल लिमिटेडको परियोजना अघि बढाइएको छ। ५० शय्याको उक्त सिटी हस्पिटलमा ओपीडी, आकस्मिक सेवा, क्रिटिकल केयर, आईपीडी र अप्रेसन थिएटरलगायतका सेवा सञ्चालन गर्ने योजना छ।

सिटी हस्पिटलमा प्याथोलोजी, यूएसजी, इको, इन्डोस्कोपी, ल्याप्रोस्कोपिक सर्जरी, एक्सरेलगायतका डायग्नोस्टिक तथा उपचार सेवा उपलब्ध गराउने नर्भिकको योजना छ।

यस्तै, अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापना गर्ने योजना अघि सारिएको छ। संस्थान स्थापनाका लागि कम्पनी स्थापना भइसकेको जनाइएको छ।

चालु आर्थिक वर्षमा उक्त योजनालाई कार्यान्वयनतर्फ अघि बढाउन संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरीले नेतृत्व सल्लाहकारको भूमिका निर्वाह गर्ने जनाइएको छ। परियोजनाको अनुमानित कुल लागत करिब ३०० करोड रुपैयाँ रहने र दीर्घकालीन रूपमा उच्चस्तरीय क्यान्सर उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्य रहेको नर्भिकले जनाएको छ।

स्वास्थ्य सेवा सेवाग्राहीको घरघरमै पुर्‍याउने उद्देश्यले ‘नर्भिक एट होम’ स्थापना तथा सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ। पहिलो चरणमा होम हेल्थ केयर र जेरियाट्रिक सर्भिसबाट सेवा सुरु गरिने जनाइएको छ।

नर्भिकको सेवा प्रवाहलाई थप प्रभावकारी, एकीकृत तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई पनि प्राथमिकता दिइएको छ। गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, सेवा क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग तथा संस्थागत विस्तारलाई अस्पतालले मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

नर्भिकले व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ। आगामी दिनमा निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा विपन्न वर्गका लागि आवश्यक स्वास्थ्य सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

२० प्रतिशत बोनस सेयर वितरण गर्ने
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव पनि पारित भएको छ। उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायतका आवश्यक काम कारबाहीका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभाले पारित गरेको छ।

साधारणसभालाई सम्बोधन गर्दै नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरीले देशमा उत्पन्न विषम परिस्थितिका बाबजुद पनि संस्थाले आर्थिक सूचकमा प्रगति गर्न सफल भएको बताए। उनले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकले लगानी बढाउँदै लैजाने जानकारी दिए।

सञ्चालक मेधा चौधरीले नर्भिकलाई एउटा अस्पतालमा मात्र सीमित नराखी आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित तथा दिगो स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको विश्वसनीय केन्द्रका रूपमा विकास गर्ने बताइन्।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले नर्भिकले सञ्चालन गर्ने सिटी हस्पिटलको सेवा नर्भिकभन्दा सुलभ र स्थानीय सर्वसाधारणले सहज रूपमा उपभोग गर्न सक्ने बनाइने जानकारी दिए। उनले रसुवा बाढीपीडितका लागि स्थापना गरिएको कोषमा नर्भिक अस्पतालको तर्फबाट एक करोड रुपैयाँ सहयोग गरिएको पनि जानकारी दिए।

अस्पतालको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा नर्भिकले ओपीडीमा एक लाख ७९ हजार, आईपीडीमा ९ हजार र आकस्मिक सेवातर्फ ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ।

त्यस्तै, ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

फार्मेसीसमेत जोड्दा कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँ तथा खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको नर्भिकले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थानसम्मको योजना