पोखरा । फ्लाइ दुबईले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि पोखरा-दुबई नियमित सिधा उडान गर्ने भएको छ।
पहिलो उडान दुबईबाट साँझ ६:१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र साँझ ७:१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्ने कार्यतालिका छ।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले आवश्यकताअनुसार एयरबस ३१९ र ३२० मार्फत उडान गर्नेछ।
एयरबस ३१९ मा करिब १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० यात्रु क्षमताको हुने उनले बताए। पहिलो उडानमा पोखरा आउने यात्रुको सङ्ख्या उल्लेख्य रहेको र फर्कंदा यात्रुसँगै कार्गोसमेत लैजाने उनले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई पोखरा(दुबई नियमित उडानको अनुमति दिएको थियो।
सञ्चालनमा आएको तीन वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन लागेको हो।
फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँबाट हुने उडानको तुलनामा पोखराबाट दुबई जाने टिकट करिब रु पाँच हजारसम्म सस्तो हुने बताए।
फ्लाइ दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको जनाउँदै उनले पोखरा(दुबई उडान प्रवर्द्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई विभिन्न सुविधा दिइने बताए।
फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत हुने उडानबाट पोखराबाट दुबई हुँदै अस्ट्रेलिया, युरोप, अमेरिका लगायतका गन्तव्यमा एउटै टिकटमार्फत यात्रा गर्न सकिने जनाइएको छ।
यसले यात्रुको ट्रान्जिटलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ। पोखराबाट लामो प्रतीक्षापछि नियमित अन्तरदेशीय उडान सुरु हुन लागेकाले यहाँका पर्यटन व्यवसायी उत्साहित छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्नुका साथै पर्यटन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले उडानलाई सफल र दीगो बनाउन सम्बद्ध सबै पक्षले सहकार्य गर्नुपर्ने बताए।
पोखरा महानगरपालिका र फ्लाइ दुबईबीच पनि पर्यटन प्रवर्द्धन, गन्तव्य बजारीकरण तथा अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
उडानबाट गण्डकी प्रदेशसहित आसपासका यात्रुलाई दुबई हुँदै लण्डन, न्युयोर्क, टोकियोलगायत विश्वका विभिन्न गन्तव्यमा पुग्न सहज हुने अपेक्षा गरिएको छ।
विदेशी पर्यटकलाई पनि सिधै पोखरा आउन सहज हुने भएकाले पर्यटन, व्यापार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
यसअघि सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा-ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि यात्रु सङ्ख्या न्यून भएपछि हाल स्थगित छ।
फ्लाइ दुबईको उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दोस्रो नियमित व्यावसायिक अन्तरदेशीय उडान हुनेछ।
सम्बन्धित समाचार
कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट
मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा
ट्रक ठक्करले मोटरसाइकल चालकको मृत्यु
बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना
नरमायाको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता
घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने
विपद्मा धनगढीको ऐक्यबद्धतास् बाढीपीडितका लागि ४१ लाख सहयोग
बाढीपीडित पहिचानमा सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग






