असोजमा अझ घट्यो बैंकहरुको ब्याजदर

फाइल स्केच ।

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहे पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेपछि वाणिज्य बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०८९ प्रतिशतमा झरेको छ । जुन भदौमा ४.१३६ प्रतिशत थियो। यसले एक महिनामै व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ०.०४६ प्रतिशत विन्दुले घटेको देखाएको छ ।

निक्षेपको औसत ब्याज ४.०८ प्रतिशतमा झर्‍यो

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार संस्थागत निक्षेपतर्फ पनि ब्याजदर घटेको छ । भदौमा ३.०८१ प्रतिशत रहेको औसत ब्याजदर असोजमा ३.०६६ प्रतिशतमा झरेको छ । अर्थात् संस्थागत निक्षेपको औसत ब्याजदर ०.०१४ प्रतिशत विन्दुले घटेको हो ।

असोज महिनाका लागि ब्याजदर घटाउने बैंकमध्ये एभरेष्ट बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.०५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशतमा झारेको छ भने संस्थागत निक्षेपको ब्याजदर ३.५ प्रतिशतबाट ३.२५ प्रतिशतमा कायम गरेको छ । यसअनुसार एभरेष्ट बैंकले व्यक्तिगत निक्षेपतर्फ ०.५५ प्रतिशत विन्दु र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।

नबिल बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर ४.५५ प्रतिशतबाट ४.२५ प्रतिशतमा झारेको छ भने संस्थागत निक्षेपको ब्याजदर ३.०१ प्रतिशतमै स्थिर राखेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.८ प्रतिशतबाट ३.७५ प्रतिशतमा घटाएको छ । कुमारी बैंकले पनि व्यक्तिगत निक्षेपतर्फ सामान्य कटौती गरेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर यथावत् राखे पनि संस्थागत निक्षेपको ब्याजदर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको छ । विपरीत रूपमा सानिमा बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.५ प्रतिशतमै कायम राख्दै संस्थागत निक्षेपको ब्याजदर ३.३ प्रतिशतबाट बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ ।

प्रभु बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबीआई बैंक, एनएमबी बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराइज बैंकसहित अधिकांश बैंकले असोज महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।

असोज महिनाको ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा प्रभु बैंकले ४.५५ प्रतिशतसहित उच्चतम ब्याजदर कायम राखेको छ । त्यसपछि सानिमा बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ– मन्त्रिपरिषद्का ६ निर्णय