काठमाडौं । एक महिनाको अवधिमा काठमाडौंको थोक तरकारी बजारमा केही वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको १८ साउन र १८ भदौको मूल्य तुलना गर्दा केही तरकारी तथा फलफूलको मूल्य ४० प्रतिशतदेखि २६० प्रतिशतसम्म बढेको देखिन्छ भने केहीको मूल्य दोब्बरभन्दा बढी बढेको छ ।
२६० प्रतिशतसम्म मूल्यबृद्धि
समितिको तथ्यांकअनुसार सबैभन्दा धेरै मूल्यवृद्धि पार्सले (साग जातको तरकारी)मा भएको छ । १८ साउनमा प्रतिकिलो अधिकतम ५०० रुपैयाँ रहेको पार्सलेको मूल्य १८ भदौमा १ हजार ८०० रुपैयाँ पुगेको छ । एक महिनामा पार्सले १ हजार ३०० रुपैयाँ अर्थात् २६० प्रतिशत महँगिएको हो ।
त्यस्तै सेलरीको मूल्य २०० बाट ५०० रुपैयाँ पुगेको छ । यसमा १५० प्रतिशत वृद्धि भएको छ । हाइब्रिड सेतो मूलाको मूल्य १५ बाट ३५ रुपैयाँ पुगेको छ भने कागती १८० बाट ४०० रुपैयाँ पुगेको छ । जुन क्रमशः १३३ र १२२ प्रतिशतभन्दा बढी वृद्धि हो ।
भान्सामा नियमित प्रयोग हुने भारतीय सुकेको प्याजको मूल्यसमेत एक महिनामा प्रतिकिलो ५७ रुपैयाँबाट ९८ रुपैयाँ पुगेको छ । प्याजमा ४१ रुपैयाँ अर्थात् करिब ७२ प्रतिशत वृद्धि भएको छ ।
टनेलमा उत्पादित सानो गोलभेडा २५ बाट ४० रुपैयाँ, भटमासकोसा ९० बाट १४० रुपैयाँ, जिरीको साग २०० बाट ३०० रुपैयाँ तथा अकबरे खुर्सानी २०० बाट ३०० रुपैयाँ पुगेका छन् ।
ठूलो नेपाली गोलभेडा, परवल र पुदिनाको मूल्य ४० प्रतिशतले बढेको छ । फुजी स्याउको मूल्य ३०० बाट ४०० रुपैयाँ पुगेको छ भने भारतीय रातो आलु ३७ बाट ४५ रुपैयाँ पुगेको छ ।
एक महिनाको अवधिमा स्थानीय गाजरसहितका केही तरकाीको मूल्य भने घटेको देखिन्छ । को अधिकतम मूल्य १२० बाट १०० रुपैयाँमा झरेको छ । लाम्चो भन्टा ४० बाट २० रुपैयाँ र डल्लो भन्टा ५० बाट ४० रुपैयाँमा झरेको छ ।
तने बोडी ६५ बाट ६०, घिउ सिमी १०० बाट ९०, टाटे सिमी १०० बाट ६०, तीते करेला ५० बाट ४०, पिँडालु १०० बाट ७० र स्कुस ५० बाट २० रुपैयाँमा झरेका छन् ।
प्याजमा मूल्य बृद्धिको प्रमुख कारण नेपालभित्रको मात्रै आपूर्ति समस्या नभई भारतीय बजारको अवस्थासँग जोडिएको देखिएको व्यवसायीहरु बताउँछन् ।
काठमाडौंको खुद्रा बजारमा प्याजको मूल्य किलोमा १२० रुपैयाँसम्म पुगेको छ भारतमै प्याजको उपलब्धता र मूल्यमा दबाब देखिएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरु बताउँछन् । कालीमाटीको तथ्यांकले समेत पछिल्लो अवधिमा भारतीय सुकेको प्याजको मूल्यमा तीव्र वृद्धि देखाएको छ ।
नेपाल खुद्रा व्यापार संघका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको दुई सातामै चामल, खानेतेल, दाल र वनस्पति घिउको मूल्य बढेको हो । १ साउनदेखि १५ गतेसम्म भटमासको तेल प्रतिलिटर २८० बाट २८५ रुपैयाँ, सनफ्लावर तेल २८५ बाट २९० रुपैयाँ र वनस्पति घिउ २६५ बाट २८० रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।
खुद्र व्यापार संघअनुसार स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८० रुपैयाँबाट १०० रुपैयाँ र पोखरेली चामल ९५ बाट १२० रुपैयाँ पुगेको छ । तीन महिनाको अवधिमा चामल प्रतिबोरा ३५० देखि ४०० रुपैयाँसम्म महँगिएको संघले जनाएको छ ।
महँगीको कारण’bout उद्योगी र व्यापारीको फरक दाबी
चामलको मूल्यवृद्धिलार्य लिएर व्यवसायीहरूबीच नै एकमत छैन । नेपाल चामल, तेल, दाल उद्योग संघका प्रतिनिधिले भारतमा धानको मूल्य बढेको र त्यसको प्रभाव नेपाली बजारमा परेको दाबी गर्दै आएका छन् । भारतसँगको व्यापार, धान–चामलको आयात र त्यहाँको मूल्यले नेपालमा पनि लागत बढाउने उद्योगीहरूको तर्क छ ।
तर खुद्रा व्यापार संघले थोक तहबाटै मूल्य बढाइएको बताउँदै आएको छ । संघका अनुसार उद्योग र होलसेलबाट महँगो बिल आएपछि मात्रै खुद्रा व्यापारीले मूल्य बढाएका हुन् ।
खानेतेलमा अन्तर्राष्ट्रिय बजार र डलरको तर्क
खानेतेलको मूल्यवृद्धिमा भने उद्योगीहरूले अन्तर्राष्ट्रिय बजार र विदेशी मुद्रा विनिमय दरलाई प्रमुख कारणका रुपमा उल्लेख गर्दै आएका छन् ।
नेपालमा खानेतेल उत्पादनका लागि आवश्यक कच्चापदार्थ ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्छ । उद्योगीका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य र डलरको विनिमय दर बढ्दा नेपालमा तेलको लागत स्वतः बढेको हो ।
व्यवसायीका अनुसार साउनमै तेलको मूल्य १५ दिनमा प्रतिलिटर ५ देखि १५ रुपैयाँसम्म बढेको थियो । उद्योगी पक्षले भने अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण मूल्य समायोजन भएको दाबी गरेको छ ।
यस्तो छ बाढीको प्रभाव
१० भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो क्षति गरेपछि काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ ।
मुख्य सडक तथा राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा सामान ल्याउन वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको छ । त्यसले मालवाहक सवारीको दूरी र ढुवानी लागत बढाएको व्यवसायीहरूको भनाइ छ ।
नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवालले उद्योगबाट पुरानै मूल्यमा चामल बजार पठाइरहेको तर विराटनगरबाट काठमाडौंसम्मको ढुवानी सहज हुन नसक्दा वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको र ढुवानी भाडा अत्यधिक बढेको बताए ।
उनका अनुसार धानको कच्चा पदार्थको मूल्य नबढेकाले उद्योग तहबाट चामलको मूल्य नबढाइएको हो ।
बाढीपछि आपूर्ति प्रणालीमा अर्को समस्या पनि देखिएको छ । बजारमा सामानको वास्तविक अभावभन्दा पहिले नै अभाव हुने आशंकाले मूल्य बढाउने अवस्था सिर्जना गरेको व्यवसायी र उपभोक्ताकोे गुनासो छ ।
खुद्रा व्यापार संघका अनुसार चिनी, खानेतेल र चामल पहिलेदेखि नै महँगो अवस्थामा थिए । विपद्ले त्यसमा थप दबाब सिर्जना गरेको मात्र हो । संघले काठमाडौं उपत्यकामासडक अवरोध लामो समय रहिरहेमा असर अझ गहिरिन सक्ने जनाएको छ ।
थोक व्यापारीले बिल नदिँदा खुद्रा व्यापारीलाई चिनी बिक्री गर्नै समस्या भएको संघको गुनासो छ । काठमाडौंको खुद्रा बजारमा केही दिनअघिसम्म प्रतिकिलो १२० रुपैयाँसम्म रहेको चिनी अहिले १४० रुपैयाँ पुगेको व्यवसायीले बताएका छन् ।
चिनी किलोमा २० रुपैयाँ अर्थात करिब १७ प्रतिशत महँगिएको छ । सनफ्लावर तेल ब्रान्डअनुसार प्रतिलिटर ३०० देखि ३५० रुपैयाँ र तोरीको तेल करिब ४०० रुपैयाँ पुगेको व्यवसायीको भनाइ छ । तर दाल र गेडागुडीको मूल्यमा अहिलेसम्म ठूलो वृद्धि नआएको व्यवसायीहरू बताउँछन् ।
किन मेल खाँदैन मुद्रास्फीतिअनुसार र बजार भाउ ?
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०८२–०८३ को अन्त्यमा राष्ट्रिय उपभोक्ता मुद्रास्फीति ५ दशमलव १४ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव २५ प्रतिशत थियो भने वार्षिक औसत मुद्रास्फीति ३ दशमलव ०८ प्रतिशत र खाद्य तथा पेय पदार्थको वार्षिक औसत १ दशमलव ०४ प्रतिशत थियो ।
तर कालीमाटीको एक महिनाको तथ्यांकमा प्याज ७२ प्रतिशत, कागती १२२ प्रतिशत र हाइब्रिड मूला १३३ प्रतिशतसम्म महँगिएको छ ।
बाढीपहिरो र चाडपर्वलाई लक्षित गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ । विभागले गत दिन दिनयता बजार अनुगमनलाई तिब्र बनाएको दाबी गरेको छ । विभागले बाढीका कारण खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन अनुगमन बढाउने जनाएको छ ।
तर बजारमा देखिएको तथ्यांकले अनुगमन मात्र पर्याप्त नहुने देखाउँछ । उद्योगबाट निस्कँदा कति, थोक व्यापारीले कति र खुद्रा पसलसम्म पुग्दा कति मूल्य थपियो भन्ने आपूर्ति शृंखलाको लागत र मार्जिन सार्वजनिक गर्न विभागले नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।
सम्बन्धित समाचार
खस भाषाको उद्गमस्थल सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा
कमजोर बन्दै अमेरिकी डलर, मजबुत बन्दै थाई भाट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
कमजोर बन्यो अमेरिकी डलर, अन्य मुद्राको अवस्था कस्तो छ ?
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
आजको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा हुँदा अरु देशको मुद्राको कति ?
ऊर्जामा धक्का, बीमा दाबी अकल्पनीय
सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेको छ आज ?





