जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको तयारीस्वरुप झाडी पन्छाउने र सडकको अवस्था हेरी स्तरोन्नतिको काम सुरु गरिएको उनले जानकारी दिए ।

उनका अनुसार अहिले सडक सरसफाइका लागि दैनिक १० जना मजदुर काममा खटिएका छन् । उनले भने, “आवश्यकताअनुसार कामदार प्रयोग गरेर सडक सरसफाइ सुरु गरिएको छ ।”

यही असोज १७ गतेदेखि जिप सफारी सञ्चालन गर्नेगरी निकुञ्जभित्रको सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पुल मर्मत गर्नेलगायत काम गर्न लागिएको हो । सौराहाका पर्यटन व्यवसायीको सक्रियतामा सरसफाइ र मर्मतको काम गर्न लागिएको उनले जानकारी दिए ।

गत असार १७ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द भएको थियो । यस निकुञ्जमा पर्यटन व्यवसायीले सौराहा, कसरा, मेघौली, माडी र पूर्वी नवलपरासीका विभिन्न क्षेत्रबाट जिप सफारी गराउँदै आएका छन् । निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडीयाल गोहीलगायत जनावर हेर्नका पर्यटक आउने गर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट