२६ विद्यालयलाई पछि पार्दै लभ्ली एन्जल्स बन्यो च्याम्पियन

सुन्दरहरैँचा (मोरङ) । मोरङको सुन्दरहरैँचामा अन्तरविद्यालयस्तरीय ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ सम्पन्न भएको छ। सुन्दरहरैँचा–५, बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा सुन्दरहरैँचा र इटहरी क्षेत्रका गरी २६ विद्यालयको सहभागिता रहेको थियो।

विद्यार्थीहरूमा रहेको ज्ञान, सिर्जनात्मक क्षमता, तार्किक सोच तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न चरणमा विद्यार्थीहरूले उत्साहपूर्वक प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुल प्रथम भएको छ। त्यस्तै १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय द्वितीय, ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तृतीय र ८० अङ्कसहित शिशिर एकेडेमी सान्त्वना भएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताए। उनले पाठ्यपुस्तकको ज्ञानसँगै विद्यार्थीमा सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज प्रतियोगिताले सहयोग पुग्ने धारणा व्यक्त गरे।

क्षेत्रीले विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण सिर्जना गर्न विद्यालय, शिक्षक र अभिभावक सबैको सहकार्य आवश्यक रहेको बताए। यस्ता कार्यक्रमले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुका साथै उनीहरूलाई भविष्यमा अझ मेहनत गर्न प्रेरित गर्ने उनको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता महत्वपूर्ण रहेको बताए। उनले विद्यार्थीको क्षमता केवल परीक्षाको अङ्कबाट मात्र मापन नहुने भन्दै अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।

दंगालले विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउने कार्यले विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत बनाउने बताए। उनले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

त्यस्तै सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रमले शिक्षालाई अझ व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीमा रहेको ज्ञान र प्रतिभालाई प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताए।

उनले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी उनीहरूको सर्वाङ्गीण विकासमा विद्यालयले निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गरे। लम्सालले आगामी दिनमा पनि विद्यार्थीको क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने खालका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने बताए।

प्रतियोगितामा २६ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रतिस्पर्धात्मक र रोचक बनाएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कारको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रतियोगिता सम्पन्न भएसँगै विजेता विद्यालय तथा विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका यौन दुर्व्यवहार आरोपमा खरेल पक्राउ