मलेसिया रोजगारी विवाद : समस्या सुल्झाउन दुई प्रधानमन्त्रीबीच सहमति

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्दै नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री पक्षबाट सार्वजनिक विवरणअनुसार शाहले मलेसिया रोजगारीमा देखिएको भनिएको सिन्डिकेट तथा बिचौलिया प्रणाली स्वीकार्य नहुने धारणा राख्दै यसको स्थायी समाधानका लागि दुई देशबीच संयुक्त पहल आवश्यक रहेको बताएका छन्।

मंगलबार बिहान भएको टेलिफोन वार्तामा मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको विपक्षमा रहेको बताएका छन्। उनले आफ्ना श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग समन्वय गरी विषय अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको विवरणमा उल्लेख छ।

दुई प्रधानमन्त्रीबीचको संवाद मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सीमित म्यानपावर कम्पनीलाई प्राथमिकता दिने गरी अघि बढाएको संरचनालाई लिएर नेपालमा विवाद चर्किरहेका बेला भएको हो।

मलेसियाले २५ म्यानपावर कम्पनीलाई मुख्य एजेन्सी र थप २५० कम्पनीलाई सहयोगी एजेन्सीका रूपमा सूचीकृत गरेपछि नेपाल सरकारले उक्त संरचनाप्रति असहमति जनाउँदै आएको छ। श्रम मन्त्रालयले सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई समान अवसर र प्रतिस्पर्धाको वातावरण सुनिश्चित हुनुपर्ने बताउँदै आएको छ।

नेपालले यस विषयमा यसअघि नै कूटनीतिक माध्यमबाट मलेसियासँग छलफलको पहल गरेको थियो। पछिल्लो प्रधानमन्त्रीस्तरीय संवादपछि विवाद समाधानका लागि दुवै देशका श्रम मन्त्रालयबीच प्रत्यक्ष समन्वय अघि बढ्ने संकेत देखिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

ओलीसँग नजिकिए विष्णु, अझै दूरीमा शंकर !