काठमाडौं । नेपाली कांग्रेसले नारामा सिमित युवाको प्रतिनिधित्वको एजेण्डालाई पार्टीको विधान र संगठनात्मक संरचनामै सुनिश्चित गरेपछि १५औँ महाधिवेशनमा नयाँ पुस्ता निर्णायक तहमा पुग्ने दौडमा देखिएका छन् ।
संशोधित विधानले वडादेखि केन्द्रसम्म युवाका लागि निश्चित प्रतिनिधित्वको व्यवस्था गरेपछि पहिलोपटक ठूलो संख्यामा युवा पार्टीको नेतृत्व संरचनामा प्रवेश गर्ने भएका छन् ।
विधानअनुसार वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा ३० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । प्रदेश र केन्द्रीय कार्यसमितिमा भने ३५ वर्षमुनिका युवाका लागि छुट्टै व्यवस्था गरिएको छ ।
यो व्यवस्थाअनुसार ६ हजार ७४३ वडा कार्यसमितिमा कम्तीमा १० हजार २७० युवा, ७५३ पालिका कार्यसमितिमा २ हजार २५९ युवा तथा अन्य तहका कार्यसमितिमा समेत युवा सदस्य आउनेछन् ।
महाधिवेशनमा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका तीन–तीन जना युवा प्रतिनिधि आउने व्यवस्था गरिएको छ । यसअनुसार कम्तीमा ४९५ युवा महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।
उनीहरूमध्येबाटै केन्द्रीय कार्यसमितिमा २१ युवा निर्वाचित हुनेछन् । संशोधित विधानअनुसार सात प्रदेशबाट दुई–दुई जना र खुला प्रतिस्पर्धाबाट थप सात जना गरी ३५ वर्षमुनिका २१ युवा केन्द्रीय सदस्य बन्ने व्यवस्था गरिएको छ । प्रत्येक प्रदेशबाट निर्वाचित हुने दुईमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था छ ।
यससँगै युवा नेतृत्वका लागि पार्टीभित्र नयाँ प्रतिस्पर्धा सुरु भएको छ । सभापति गगनकुमार थापाले युवालाई नीतिगत र राजनीतिक निर्णय प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता जनाउँदै आएका छन् । तर, महाधिवेशनपछि युवाको संख्या संगठनमा बढ्नु मात्र नभई उनीहरूको भूमिका नीति निर्माण र निर्णय तहमा कसरी स्थापित हुन्छ भन्ने चुनौती रहनेछ ।
कांग्रेसको नयाँ व्यवस्थाले युवालाई महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यमा मात्रै होइन, संगठनका तल्ला तहमा समेत निश्चित स्थान दिएको छ । पार्टीको विधानमा यसअघि यस्तो बाध्यकारी युवा कोटाको व्यवस्था थिएन ।
युवा कोटा मुख्यतः सदस्य पदमा केन्द्रित छ । विभिन्न तहका पदाधिकारीमा युवा प्रतिनिधित्व अनिवार्य गरिएको छैन । महाधिवेशनमा युवा पुस्ताको उपस्थिति संख्यात्मक रूपमा सुनिश्चित भइसकेको छ ।
युवा आकांक्षी
१५औँ महाधिवेशनमा युवा प्रतिनिधित्वको व्यवस्था कार्यान्वयनसँगै विभिन्न पृष्ठभूमिका युवा नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
कांग्रेसका युवा सांसद निष्कल राई, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापा, सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउने तथा काठमाडौं–४ बाट कांग्रेसका उम्मेदवार बनेका सचिन तिमल्सिनालगायत छन् ।
विशेष महाधिवेशनका अभियन्तामध्येका डडेल्धुराका जनक चटौत, अछाम–१ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित डा. डीबी सुनार, अर्जुनचौपारी गाउँपालिका स्याङ्जाका अध्यक्ष प्रकाश तिवारी र नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटुवाल पनि केन्द्रीय सदस्यको दौडमा छन् ।
त्रिभुवन विश्वविद्यालयका निवर्तमान स्ववियु सभापति श्याम ओझाले पनि उम्मेदवारी घोषणा गरेका छन् । कञ्चनपुर–१ बाट महाधिवेशन प्रतिनिधि बनेका मदन उपाध्याय, सोलुखुम्बुबाट प्रतिनिधि चुनिएकी कांग्रेस सांसद गीता गुरुङ र युवा नेता सुशील भट्ट पनि केन्द्रीय सदस्यका आकांक्षी छन् ।
सम्बन्धित समाचार
देउवा समूहले कोशी र मधेशबाहेक पाँच प्रदेशका ५५ जिल्लामा तोक्यो संयोजक, क-कसले पाए जिम्मेवारी ?
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउको विषय संसदमा उठ्यो, विपक्षी दलहरुद्वारा चर्काे भर्त्सना
स्वदेश फर्किंदै गर्दा भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री बालेन
सुर्खेत २ बाट ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !
कांग्रेस देउवा समूहको पहिलो दिन ३ हजार १ सय ९१ वडामा अधिवेशन
‘मूलधार कांग्रेस’मा नेता व्यवस्थापनको सकस
कांग्रेस महाधिवेशनमा ओली नजाने, पोखरेल सहभागी हुने
गगनले थापाले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण





