काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो दिन देशभरका ३ हजार १ सय ९१ वडामा अधिवेशन सम्पन्न भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सातै प्रदेशका ती वडामा बिहीबार नेतृत्व चयनसहित अधिवेशन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। कांग्रेसले २०८३ मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
पार्टीका सातै प्रदेशमा कुल ६ हजार ७ सय ४३ वडा रहेका छन्। पहिलो दिन कुल वडाको करिब ४७ प्रतिशतमा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
प्रदेशगत रूपमा कोशीमा ५ सय ७७, बागमतीमा ५ सय ६३, लुम्बिनीमा ५ सय ५०, सुदूरपश्चिममा ४ सय ५६, मधेशमा ४ सय २, गण्डकीमा ३ सय ८६ र कर्णालीमा २ सय ५७ वडामा अधिवेशन सम्पन्न भएको छ।
प्राकृतिक विपद् र शोकका कारण रसुवा र बागलुङमा भने बिहीबार वडा अधिवेशन हुन सकेन। रसुवामा बाढीपहिरोका कारण र बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी धर्मपत्नीको निधनका कारण अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ। दुवै जिल्लामा शुक्रबार असोज १६ गते अधिवेशन गर्ने कार्यतालिका छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलका अनुसार बाँकी वडाको अधिवेशन असोज १८ गतेसम्म सम्पन्न गर्ने तयारी छ।
वडा अधिवेशनपछि कांग्रेसले पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुनेछ।

सम्बन्धित समाचार
दुवै महाधिवेशनमा सहभागी नहुने शेखर कोइरालाको घोषणा
संविधान संशोधनको साहस र स्पष्टता महाधिवेशनबाट ल्याउँछौंः गगन थापा
रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : राष्ट्रसंघको महासभामा भोटेकोशी विपद सम्बन्धमा सम्बोधनको तयारी गर्नु
एमालेले स्वीकार्यो बादलको प्रतिवेदन, अब केन्द्रीय कमिटीमा छलफल हुने
इलाम कांग्रेसमा ३ जना २१ वर्षमुनिका क्षेत्रीय प्रतिनिधि
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउको विषय संसदमा उठ्यो, विपक्षी दलहरुद्वारा चर्काे भर्त्सना
मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै
सुर्खेत २ बाट ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !





