काठमाडौं । पद थोरै र आकांक्षी धेरै भएपछि नेपाली कांग्रेसको मूलधारमा नेता व्यवस्थापनको चुनौती थपिएको छ । विशेष महाधिवेशनमा सहभागी नभएका तर १५औँ महाधिवेशनपछि पदाधिकारीमा समेट्नुपर्ने दबाबमा रहेका नेताका कारण सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई शक्ति सन्तुलन मिलाउन सकस भएको छ ।
पुराना नेता समेट्न उपसभापति र महामन्त्री थप्ने तयारी
असन्तुष्ट नेताहरू व्यवस्थापन हुन नसके देउवा समूहमा जाने जोखिमसमेत संस्थापनका लागि चुनौती बनेको छ । यो चुनौती व्यवस्थापन गर्न भन्दै महाधिवशेन हलबाट एक उपसभापति र एक महामन्त्री थप्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले त्यससम्बन्धी प्रस्ताव तयार गरिरहेको छ । समितिमा जीवन परियार, राजीव ढुंगाना, कुसुम थापा र अञ्जु झा सदस्य तथा प्रताप पौडेल सदस्यसचिव छन् । समितिले एक महिला उपसभापति र एक महिला महामन्त्री थप्ने प्रस्ताव तयार गरिरहेको समितिका एक सदस्यले राजधानीलाई बताए ।
कांग्रेसको विशेष महाधिवेशनबाट अहिले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका थिए ।
विशेष महाधिवेशनमा सहभागी नभएका किशोरसिंह राठोर, धनराज गुरुङ, भीष्मराज आङदम्बे, अमरसिंह पुनलगायत नेताहरूलाई १५औँ महाधिवेशनपछि पदाधिकारीमा समेट्नुपर्ने दबाब छ । उनीहरूलाई पदाधिकारीमा ल्याउँदा विशेष महाधिवेशनमा साथ दिएका नेताहरू केन्द्रीय सदस्यमा सीमित हुन सक्ने अवस्था छ । यही कारण पदाधिकारी विस्तारलाई नेता व्यवस्थापनको उपायका रूपमा हेरिएको छ ।
सभापतिमा राठोरको दाबी, पदाधिकारीमा अधिकांश दोहोरिदै
सभापति पदमा गगन थापालाई बर्दियाका किशोरसिंह राठोरले चुनौती दिने तयारी गरेका छन् । राठोरलाई उपसभापति बनाएर थापा निर्विरोध सभापति बन्ने प्रयास भएको कांग्रेस वृत्तमा चर्चा छ । तर राठोर सभापतिको दाबीबाट पछि नहट्ने पक्षमा छन् ।
उपसभापतिका थप पदमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महालक्ष्मी उपाध्याय ‘डिना’, गुरुराज घिमिरे, भीष्मराज आङदम्बे, धनराज गुरुङ र देवराज चालिसेको नाम चर्चामा छ । शर्मा र भुसाललाई निरन्तरता दिने सम्भावनासँगै थप पदमा घिमिरे, आङदम्बे, गुरुङ र चालिसेबीच प्रतिस्पर्धा हुने नेताहरूको आकलन छ ।
महामन्त्रीमा पनि आकांक्षीको संख्या धेरै छ । वर्तमान महामन्त्री प्रदीप पौडेललाई दोहो¥याउने तयारीसँगै महिला महामन्त्रीमा डिला संग्रौला वा डिना उपाध्यायमध्ये एकलाई अघि सार्ने चर्चा छ । महामन्त्रीको आकांक्षीमा उदयशमशेर राणा अगाडि रहेको नेताहरू बताउँछन् ।
जीवन परियार, राजीव ढुंगाना, मीन विश्वकर्मा, नैनसिंह महर, डा. सुनिल शर्मा, अमरसिंह पुन, बहादुरसिंह लामा, मधु आचार्य, आङेलु शेर्पा र रञ्जित कर्णले पनि महामन्त्रीमा दाबी गरिरहेका छन् । तीमध्ये केहीले महामन्त्रीको दाबीलाई सहमहामन्त्रीमा आफ्नो स्थान सुरक्षित गर्ने बार्गेनिङका रूपमा प्रयोग गरिरहेको कांग्रेस नेताहरूको बुझाइ छ ।
सहमहामन्त्रीका लागि महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्र गरी आठ क्लस्टरको प्रतिनिधित्व छ । महिलातर्फ प्रतिमा गौतम, पिछडिएको क्षेत्रबाट हुम्लाका जीवनबहादुर शाही, दलितबाट मीन विश्वकर्मा र मधेसीतर्फ पल्टन साहको नाम चर्चामा छ ।
प्रतिमा गौतम, जीवनबहादुर शाही, पल्टन साह र मीन विश्वकर्माको सम्भावना बलियो रहेको कांग्रेस वृत्तमा चर्चा छ । शाही र विश्वकर्मा देउवा समूह छाडेर पछिल्लो समय थापा नेतृत्वको समूहमा आएका हुन् ।
देउवा समूहको वडा अधिवेशनमा गएनन् खड्का र कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइराला र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बिहीबारदेखि सुरु गरेको समानान्तर महाधिवेशनको वडा अधिवेशनमा सहभागी भएनन् । कोइराला संस्थापन पक्षले अघि बढाएको महाधिवेशनमा पनि सहभागी भएका छैनन् ।
बुधबारसम्म शेखर पक्ष देउवा समूहको महाधिवेशन प्रक्रियामा सहभागी हुने चर्चा थियो । तर कोइराला दुवै पक्षका महाधिवेशन प्रक्रियाबाट अलग बसेका छन् । उनीनिकट नेता–कार्यकर्तालाई भने कुनै एक पक्षको अधिवेशनमा सहभागी हुन रोक लगाइएको छैन ।
कोइरालाले अहिले नै कांग्रेस एक हुने सम्भावना नरहेको भन्दै दुवै पक्षलाई आ–आफ्नो महाधिवेशन सम्पन्न गर्न दिनुपर्ने बताएका छन् । ‘म आज पनि कांग्रेस एकताका लागि पहल गरिरहेको छु । अहिले नै कांग्रेस एक हुने सम्भावना छैन । दुवैको महाधिवेशन सक्न दिनुहोस्, त्यसपछि कुरो हुन्छ,’ उनले भने ।
देउवा समूहले बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको हो । संस्थापन पक्षले भने असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्दैछ । देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा समानान्तर केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
दुई पक्षले छुट्टाछुट्टै समयसीमा र प्रक्रियाअनुसार महाधिवेशन अघि बढाएपछि कांग्रेसको संगठनात्मक संरचना र आधिकारिकतासम्बन्धी विवाद थप जटिल बनेको छ । कोइरालाको तटस्थताले भने उनी तत्काल कुनै एक पक्षको महाधिवेशनमा सहभागी हुनेभन्दा दुवै प्रक्रिया सकिएपछि एकताको पहल गर्ने बाटोमा रहेको संकेत गरेको छ ।
सम्बन्धित समाचार
संविधान संशोधनको साहस र स्पष्टता महाधिवेशनबाट ल्याउँछौंः गगन थापा
रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : राष्ट्रसंघको महासभामा भोटेकोशी विपद सम्बन्धमा सम्बोधनको तयारी गर्नु
बझाङ कांग्रेस अधिवेशनः ९४ मध्ये ८९ वडामा नयाँ नेतृत्व
अन्तरसंंघर्ष व्यवस्थापनमा एमाले, एकताको ढोका खोल्दै नेकपा
इलाम कांग्रेसमा ३ जना २१ वर्षमुनिका क्षेत्रीय प्रतिनिधि
कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै
चोलेन्द्रशमशेरलाई भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाइयो
सत्यको पक्षमा छौँ, न्याय पाउँछौँ : डा. प्रकाशशरण महत





