कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएसँगै निर्वाचन समितिले उम्मेदवारी रुजुका लागि आवश्यक कागजात र प्रक्रिया स्पष्ट गरेको छ ।

उम्मेदवारी दर्ता गर्न इच्छुक उम्मेदवारले आफूले उम्मेदवारी दिन चाहेको पदअनुसारको उम्मेदवारी फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ । फारममा सम्बन्धित पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार आफैँ भने आफू उम्मेदवार भएको पदका लागि प्रस्तावक वा समर्थक बन्न पाउने छैनन् ।

उम्मेदवारी दर्ताका क्रममा सम्बन्धित पदका लागि तोकिएको शुल्क बुझाएको बैंक भौचर वा रसिदसमेत अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । बैंक भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा खुलेको हुनुपर्ने निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उम्मेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपि पनि साथमा राख्नुपर्नेछ । समावेशी क्लस्टरबाट उम्मेदवारी दिने उम्मेदवारले आफू सम्बन्धित क्लस्टरमा पर्ने प्रमाणित गर्ने प्रमाणपत्रको प्रतिलिपिसमेत पेश गर्नुपर्नेछ ।

उम्मेदवारी रुजुका क्रममा उम्मेदवारको क्रियाशील सदस्यताको निरन्तरतासम्बन्धी सिफारिससमेत आवश्यक पर्नेछ । क्रियाशील सदस्यताको निरन्तरता प्रमाणित गर्ने सम्बन्धित सिफारिस उम्मेदवारी फारमसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका क्रममा फारम, प्रस्तावक–समर्थक, शुल्कको भौचर, महाधिवेशन प्रतिनिधि प्रमाणपत्र, आधिकारिक परिचयपत्र, क्लस्टर प्रमाणपत्र र क्रियाशील सदस्यताको निरन्तरता सिफारिसलगायत सबै कागजात पूरा भए–नभएको रुजु गर्नेछ ।

यसअनुसार कांग्रेसको केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिन चाहनेहरूले फारमदेखि आवश्यक प्रमाणपत्र र शुल्कको भौचरसम्म सबै कागजात पूरा गरेर मात्रै उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी