प्रधानमन्त्री बालेन्द्र शाह पहिलोपटक प्रहरी कार्यक्रममा, भने–नैतिकता र निष्ठामा सम्झौता नगर्नू

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिए ।

प्रधानमन्त्री भएपछि पहिलोपटक प्रहरी कार्यक्रममा सहभागी भएका उनले भने, ‘पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु÷गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहम् आवश्यकता पर्दछ । जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो । प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला ।’

उनले सधैँ अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढंगको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा भएको बताए ।

प्रधानमन्त्री शाहले भने, ‘यो महत्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला । एकलभावले आफ्नो भूमिका र संस्थाको गति चल्दैछ भन्ने पाटोलाई बुझेर नागरिक भावनाअनुरूप काम गर्नुपर्छ ।’

आफ्नो संगठनमा पूर्णप्रतिबद्ध भई सहयोग र सहकार्यसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे ।

‘अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ । यसमा समग्र प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणलगायतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘सरकारले यस प्रकारको अनुसन्धानका लागि आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउन र यहाँहरूप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सधैँ प्रतिबद्ध छ ।’

प्रधानमन्त्री शाहले आज दीक्षित भएका प्रहरीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्य र सफलताको कामना गरे । उनले प्रहरी सेवामा आबद्ध निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि विशेष आभार व्यक्त गरे ।

समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसलाई एकताबद्ध र गतिशील पार्टी बनाउने नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको प्रतिबद्धता