रोजमान–निशाको ‘नुगलय् तय्लात’ले २४ घण्टा नबित्दै कटायो लाखबढी ‘भ्युज’

काठमाडौं । दसैंको उल्लासमय वातावरणबीच सार्वजनिक नेपाल भाषाको गीत ‘नुगलय् तय्लात’ले २४ घण्टा नबित्दै लाखबढी ‘भ्युज’ कटाएको छ ।

गायिका निशा देशार र गायक तथा संगीतकार रोज मान महर्जनको स्वरकृत यस गीतको भिडियोमा अभिनेत्री निती शाहले पहिलोपटक नेवाः भाषाको म्युजिक भिडियोमा अभिनय गरेकी छन् । यस गीतले परम्परागत सांगीतिक स्वादसँगै प्रेम, भावना र मनोरञ्जन समेट्ने प्रयास गरेको छ ।

भिडियोमा अभिनेत्री शाहसँगै मनोज महर्जन, सञ्जना महर्जन र जेनिश शाक्यले अभिनय गरेका छन् । कलाकारका अभिनय, नृत्य तथा दृश्यात्मक प्रस्तुति विशेष प्राथमिकता दिइएको गीतको कोरियोग्राफी सृष्टि महर्जनले गरेकी हुन् ।

ज्यास फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘नुगलय् तय्लात’ गीतमा रोज मान महर्जनकै शब्द तथा संगीत रहेको छ । नेपाल भाषाका गीतसंगीतमा रुचि राख्नेका लागि यो गीत नयाँ सांगीतिक स्वाद बनेको छ ।

आशुतोष बराहीको निर्देशनमा तयार भिडियोमा गीतको भावअनुसार कलाकारका प्रस्तुति समेटिएको छ । निती शाहको आकर्षक उपस्थिति र नृत्यसहितको अभिनयले भिडियोलाई थप रोचक बनाएको छ । गीतको श्रव्य पक्ष गुणस्तरीय बनाउन रेकर्डिङदेखि मिक्सिङ तथा मास्टरिङसम्मका प्राविधिक पक्षमा विशेष ध्यान दिइएको छ । ज्योति रेकड्र्समा स्वरांकित गीतको रेकर्डिङ, एरेन्जमेन्ट, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी फिरोज बज्राचार्यले सम्हालेका छन् ।

नेपाल भाषा तथा नेपाली संगीत क्षेत्रमा आफ्ना सिर्जनामार्फत परिचित निशा देशार र रोज मान महर्जनले यसअघि पनि विभिन्न गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रियता हासिल गरेका छन् । ‘ऐला लूवया’, ‘माया मदुला’ र ‘मखं त्वाः या ग्वाः’लगायतका नेपाल भाषाका गीतबाट चर्चामा आएको युगल जोडीको नयाँ प्रस्तुतिले चर्चा बटुल्दै छ ।

नेपाल भाषा संवादको माध्यममात्र नभई मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदासमेत हो । गीतसंगीतले भाषालाई नयाँ पुस्तासम्म पु¥याउन र सांस्कृतिक पहिचान जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्छ । ‘नुगलय् तय्लात’जस्ता सिर्जनाले नेपाल भाषाको सांगीतिक यात्रामा थप योगदान पु¥याउने अपेक्षा गायक तथा संगीतकार रोज मान महर्जनको छ ।

त्यसो त, नेपाली सांगीतिक क्षेत्रमा गीतको अडियोसँगै भिडियोको प्रस्तुति, कलाकारको छनोट र दृश्यात्मक आकर्षणलाई पनि उत्तिकै महत्व दिन थालिएको छ । यही परिवेशमा ‘नुगलय् तय्लात’लाई पनि श्रव्य तथा दृश्य दुवै पक्ष समेटेर तयार पारिएको निर्देशक बाराही बताउँछन् ।

दसैं नेपाली समाजमा पारिवारिक भेटघाट, आपसी सद्भाव र खुसी साटासाट गर्ने महत्वपूर्ण अवसर हो । यही उत्सवमय समयलक्षित सार्वजनिक ‘नुगलय् तय्लात’ ले दर्शकलाई नयाँ सांगीतिक स्वाद दिने निर्माण पक्षको अपेक्षा छ । गीतमा प्रेम र भावनासँगै मनोरञ्जनात्मक पक्ष समेटिएको छ ।

नेपाल भाषाका गीत सुन्ने श्रोता, मौलिक सांगीतिक सिर्जनामा रुचि राख्ने दर्शक तथा निती शाहका प्रशंसकका लागि यो भिडियो चासोको विषयसमेत बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन