रंगीचंगी फूलले फेरिँदै धनगढीको मुहार, सडक र चोकमा बगैँचाको झल्को

धनगढी । सडकका छेउछाउ, चोक तथा सार्वजनिक स्थलमा ढकमक्क फुलेका रंगीचंगी फूलले सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीको सौन्दर्य बढाएको छ ।

धनगढी उपमहानगरपालिकाले विभिन्न स्थानमा रोपेका फूल फुलेपछि सहरका सडक र चोक आकर्षक देखिन थालेका छन् । उपमहानगरपालिकाले सडकका किनार, मध्यभाग, चोक तथा सार्वजनिक स्थलमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका फूल तथा बोटबिरुवा रोप्दै आएको छ । अहिले ती बिरुवामा फूल फुलेपछि सहरको स्वरूप थप मनमोहक बनेको छ ।

फूलले लोभ्याउँछ सर्वसाधारणको मन

धनगढीका सार्वजनिक स्थल र सडक किनारमा फुलेका फूलले सर्वसाधारणको ध्यान खिच्न थालेका छन् । फूल र हरियालीले सहरलाई सुन्दर बनाउनुका साथै मनमा शान्ति र शीतलताको अनुभूति गराउने स्थानीय रमेश केसी बताउँछन् ।

त्यस्तै, शिवनगरकी सरिता चौधरी सहरका विभिन्न स्थानमा फुलेका फूल देख्दा मन प्रफुल्लित हुने बताउँछिन् । विगतमा फोहोर र अव्यवस्थित देखिने कतिपय स्थान अहिले रंगीचंगी फूलले सजिएको देख्दा खुसी लाग्ने उनको भनाइ छ ।

स्थानीय शोभा कुँवरका अनुसार सार्वजनिक स्थलमा फुलेका फूलले नागरिकको ध्यान आकर्षित गर्नुका साथै वातावरण सफा र सुन्दर राख्न पनि प्रेरित गरिरहेका छन् । ‘धनगढीले हरियाली र सरसफाइलाई प्राथमिकता दिँदै छुट्टै पहिचान बनाउँदै गएको छ,’ उनी भन्छिन् ।

तस्बिर खिच्ने र टिकटक बनाउनेको आकर्षण

सडक र चोकमा फुलेका फूलसँग रमाउने र तस्बिर खिच्नेहरूको संख्या पनि बढ्न थालेको छ । युवायुवतीहरू फूलसँग तस्बिर खिच्ने, टिकटक बनाउने र सामाजिक सञ्जालमा साझा गर्ने गर्छन् ।

फूलले सजिएका सार्वजनिक स्थल नागरिकका लागि केही समय बिताउने, प्रकृतिसँग रमाउने र आनन्द लिने आकर्षक ठाउँ बनेका छन् ।

स्थानीय इन्द्र चौधरी सहरका विभिन्न स्थानमा फूल फुलेपछि धनगढीको स्वरूपमा उल्लेख्य परिवर्तन आएको बताउँछन् । ‘कुनै समय फोहोर र अव्यवस्थित देखिने ठाउँ अहिले रंगीचंगी फूलले सजिन थालेका छन् । सडकदेखि बजार र सार्वजनिक स्थलसम्म ढकमक्क फुलेका फूलले धनगढीको मुहार फेरिँदै गएको छ,’ उनी भन्छन् ।

संरक्षण र नियमित हेरचाहमा जोड

धनगढी उपमहानगरपालिकाले अघि सारेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानअन्तर्गत सार्वजनिक स्थलको सरसफाइ र हरियाली प्रवर्द्धनका लागि भइरहेका प्रयासलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।

तर, फूल रोपेर मात्रै सहरको सौन्दर्य कायम नहुने उनीहरूको भनाइ छ । रोपिएका बिरुवाको नियमित हेरचाह, संरक्षण र सार्वजनिक स्थलको सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनीहरू बताउँछन् । नियमित रेखदेख गर्न सके मात्रै सहरमा देखिएको सौन्दर्यलाई दीर्घकालसम्म कायम राख्न सकिने उनीहरूको सुझाव छ ।

सहरको सौन्दर्य बढाउनुका साथै हरियाली प्रवर्द्धन र वातावरण संरक्षणका लागि आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने स्थानीयको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

गुल्मीका कोतघरमा सरायको रौनक