हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन् ।

पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौँदेखि काँग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताएका हुन् । मतदाताले काँग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख गर्दै उनले उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नको जवाफ दिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

थापाले काँग्रेसको १५ औँ महाधिवेशनपछि पार्टी नयाँ सोच र सङ्कल्पसहित अघि बढेको उल्लेख गर्दै विगतमा पार्टीबाट टाढिएका मतदाताका गुनासा सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे । काँग्रेसले विगतमा गरेका कामको चर्चा मात्र नगरी वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘१५ औँ महाधिवेशनपछि नेपाली काँग्रेसले वर्षौँदेखि पार्टीसँग जोडिएका तर पछिल्लो समय टाढिएका मतदातासँग पुनः संवाद गर्नुपर्छ । उनीहरूलाई दोष दिने होइन, उनीहरूको घरमा पुग्ने, गुनासा सुन्ने र विश्वास पुनः स्थापित गर्ने अभियान चलाउनुपर्छ । यसका लागि मंसिर महिनाभरि देशव्यापी संवाद अभियान सञ्चालन गर्न प्रस्ताव गर्दछु ।’

सभापति थापाले पार्टीभित्र नयाँ र पुराना पुस्ताबीच समन्वय आवश्यक रहेको पनि बताए । नयाँ पुस्तासँग नयाँ सोच र ज्ञान रहेको तथा पुराना पुस्तासँग अनुभव रहेको उल्लेख गर्दै उनले दुवै पुस्तालाई सँगै लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘नयाँ पुस्तालाई पुरानासँग अनुभव छैन भन्ने लाग्छ भने पुरानो पुस्तालाई नयाँसँग अनुभव छैन भन्ने लाग्न सक्छ । तर नयाँ र पुराना दुवै पुस्तासँग आ–आफ्नै ज्ञान र अनुभव छन् । त्यसैले पार्टीभित्र चारै पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्दै सबैलाई सँगै लिएर अघि बढ्नुपर्छ,’ उनले भने ।

पार्टीका सबै संगठनात्मक संरचनामा चार पुस्ताको उपयुक्त प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । आगामी स्थानीय तह निर्वाचनमा पुराना र नयाँ नेताकार्यकर्तालाई समेट्दै महिलालाई पर्याप्त जिम्मेवारी दिनुपर्ने तथा सबै जातजाति, भाषाभाषी र समुदायको प्रतिनिधित्वमा ध्यान दिनुपर्ने उनले बताए ।

स्थानीय तहका उम्मेदवार छनोटमा पनि तल्लो तहका पार्टी सदस्यलाई निर्णायक भूमिका दिनुपर्ने थापाले उल्लेख गरे । पार्टीको विधानअनुसार पोखरा महानगरपालिकाको उम्मेदवार पोखराकै पार्टी सदस्यले र स्याङ्जा तथा तनहुँका उम्मेदवार सम्बन्धित जिल्लाकै पार्टी सदस्यले छनोट गर्ने उनले बताए ।

पार्टीका नेता तथा सम्भावित उम्मेदवार केन्द्रमा सीमित नभई गाउँ, वडा र टोलसम्म पुग्नुपर्नेमा जोड दिँदै थापाले काँग्रेसको काम गर्ने शैली र नेताहरूको व्यवहार परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, ‘अब नेताहरू केन्द्रमा मात्र सीमित भएर बस्ने होइन, गाउँ, वडा र टोलसम्म पुग्नुपर्छ । स्थानीय निर्वाचनका उम्मेदवार स्थानीय पार्टी सदस्यले नै छान्ने व्यवस्था गरिएको छ। त्यसैले उम्मेदवार बन्न चाहनेदेखि पार्टीका नेतासम्म जनतामाझ पुग्नुपर्छ ।’

नेताहरू विमानस्थलमा आउँदा लामो तामझामसहित स्वागत गर्ने, माला र खादा लिएर लामबद्ध हुने तथा सर्वसाधारणबाट टाढा रहने प्रवृत्तिले जनतामा नकारात्मक सन्देश जाने उनको भनाइ छ । नेताहरू सर्वसाधारणसँग सहजै भेटिने, उनीहरूका कुरा सुन्ने र जनताकै बीचमा रहेर काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

‘नेताहरूको स्वागतमा तामझाम गर्ने, लामो सवारीसाधनको लस्कर लगाउने र जनताबाट टाढा रहने प्रवृत्ति बदल्नुपर्छ । जनताले नेताहरूलाई सहजै भेट्न, आफ्ना कुरा राख्न र उनीहरूका कुरा सुन्न पाउनुपर्छ। काम गर्ने, सोच्ने र जनतामाझ पुग्ने शैलीमा परिवर्तन आएपछि मात्र जनताले पार्टी बदलिएको अनुभूति गर्नेछन्,’ थापाले भने ।

आफूले पार्टी सभापतिको जिम्मेवारीलाई नयाँ अध्यायका रूपमा लिएको उल्लेख गर्दै उनले आगामी चार वर्ष पार्टीलाई व्यवस्थित र जनतासँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसको नेतृत्व गर्नु पार्टीको संगठन व्यवस्थापनमा मात्र सीमित नभई नेपालको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने जिम्मेवारीसमेत भएको उनको भनाइ छ । यसका लागि पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको निरन्तर साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

‘नेपाली काँग्रेसको नेतृत्व गर्नु भनेको पार्टीलाई मात्र सम्हाल्नु होइन, नेपालको लोकतान्त्रिक अभ्यासलाई पनि बलियो बनाउनु हो । यो जिम्मेवारी पूरा गर्न सबैको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दछु । साथै, आज सम्मानित सबै व्यक्तित्वप्रति पार्टीका तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दछु,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

रन र विकेटको रोमाञ्चबीच एक्स्ट्रिमले ल्यायो उत्कृष्ट खेलाडीलाई चाँदीको बल