सप्तरी । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरकी २३ वर्षीया नविला खातुनको हत्या भएको माइती पक्षले दाबी गरेको छ । मृतकका दाजुले घट्नाको उच्चस्तरिय छानवीनको माग पनि गरेको छ ।
नविलाको गत जेठ २४ गते मध्यरातमा मृत्यु भएको थियो । ससुराली पक्षले नविलाले आत्महत्या गरेको बताइरहँदा माइती पक्षले भने परिवारबाटै हत्या भएको आरोप लगाउँदै घट्नाको सुक्ष्म अनुसन्धान र उच्चस्तरिय छानविनको माग गरेको छ । नविलाको माइती सप्तरी कै छिन्नमस्ता गाउँपालिकामा पर्छ ।
विहीबार न्याय खोज्दै सदरमुकाम राजविराज आइपुगेका मृतकका दाजु फिरोज र भाई मोहिदले मृत्युको प्रकृति र घट्नाको अवस्थाले त्यो आत्महत्या नभई हत्या नै भएको दावी गरे । ‘घट्ना हुनु भन्दा १ घण्टा अगावै पनि नविलासँग मोवाइलमा कुरो गरेका थिएँ’, दाजु फिरोजले भने, ‘बहिनी खाना पकाउँदै थिइन्, एक डेढ घण्टापछि फोन गर्छु भनेकी थिइन्, तर डेढ घण्टापछि उनको मृत्युको खबर आयो ।’
मृतकका भाई मोहिदले घट्ना भइसकेपछि शवलाई हतार–हतारमा अस्पताल लगिनु र अस्पताल पुग्दा शरिरका विभिन्न भागमा शंकास्पद दागहरु देखिनु आत्महत्या न भएर हत्याको संकेत भएको बताए । मृतकका पति मो.नवाव विगत ८ महिनादेखि रोजगारीका सिलसिलामा कतारमा छन् भने ससुरा एयुव जफर मलेशियामा छन् ।
नविला भने १५ महिनाकी छोरीसंगै ४८ वर्षीया सासु मिना खातुनको साथमा घरमा बस्दै आएकी थिइन् । मृतकका दाजु फिरोजले २ वर्ष अघि भएको बहिनीको विवाहमा कबोल गरेको ३ लाख दाइजो रकममध्ये २ लाख रुपैयाँ बुझाई सकिएको र बाँकी १ लाख रुपैयाँका लागि सासु मिनाले पटक पटक फोन मार्फत ताकेदा गर्ने गरेको सुनाए । बहिनी नविला पनि भेट्न आउँदा दाइजोको बाँकी रकमका लागि सासुले निकै तनाव दिन थालेको सुनाउँदै ऋण काढेर भएपनि सो रकमको व्यवस्था गरी दिन पटक पटक आफुलाई याचना गर्ने गरेको दाजु फिरोजको भनाई छ ।
‘तर, आर्थिक अवस्था जर्जर बनेका कारण रकमको जोहे हुन न सक्दा सासु मिना र उनका आफन्तको योजनामा बहिनीको हत्या नै भएको हो, उनले दावी गरे ।
डिएसपी तिलक भारतीले नविला मृत्यु प्रकरण सम्बन्धमा प्रहरीले विभिन्न कोणबाट गहिरो अनुसन्धान गरिरहेको बताएका छन् । ‘घट्ना’bout सबै कोणबाट अनुसन्धान भइरहेको छ’, उनले भने, पोष्टमार्टम रिर्पाेट नआएसम्म अहिले नै हत्या वा आत्महत्या यकिन भन्न सक्ने अवस्था छैन ।’ घट्नाको भोली पल्ट नविलाको शव घरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिसकिएको छ । तर, विहीवार सम्म पोष्टमार्टम रिर्पाेट आएको छैन । डिएसपी भारतीले रिर्पाेट पर्खिन आग्रह गर्दै भने, ‘रिपोर्टको आधारमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडी बढाउँछ, दोषी उम्कदैन र निर्दाेषले सजाय पनि पाउँदैन ।’






