आर्थिक नगरीमा कर दिवसः संकलन सदुपयोगको सवाल

वीरगन्ज । कर छलीमा खप्पिस आर्थिक नगरी वीरगन्जका करदाताहरुका बीचमा पनि १५ औं राष्ट्रिय कर दिवस मनाइएको छ । ‘कर’ तिर्नु राज्यप्रति नागरिकको दायित्व र राज्यले पनि करदाताको रकमको उचित सदुपयोग गर्नुपर्छ भन्ने सन्देश सहित सीमा नजिकको शहर आर्थिक नगरी वीरगन्जमा पनि मंगलबार राष्ट्रिय कर दिवस मनाइएको हो ।

२०५२ सालमा मूल्य अभिवृद्धि कर ऐन जारी भई २०५४ मंसिर १ गते नेपालमा पहिलो पटक मूल्य अभिवृद्धि कर (भ्याट) औपचारिक रूपमा लागू भएर विधिवत कर प्रणाली कार्यान्वयनमा छ । २०६९ कात्तिक २ गतेः मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने निर्णय गरेपछि २०६९ मंसिर १ गतेबाट भने ‘राष्ट्रिय कर दिवस’ मनाउन थालिएको औपचारिकता विगत नेपाली सामु छ ।

यो यर्थाथमा टेकेर नेपाल सरकार राजश्व विभागले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै राज्य र सेवाग्राहीको कर्तव्य फराकिलो पार्ने सन्देश दिन थालेको हो । खास गरी कर दिवस मनाइनुको मुख्य कारण करको दायरा विस्तार र राजस्व संकलनको वर्तमान अवस्थालाई परिमार्जन गरी मुलुकलाई सवल राष्ट्र बनाउनु रहेको पनि पाइन्छ । पर्सामा मनाइएको कर दिवस पनि यसैको ‘सार’ हो ।

प्लेकार्ड सहित प्रभात फेरी
कर तिर्न सचेतना जगाउने सन्देश सहित यहाँ निस्किएको प्रभात फेरीले बजार परिक्रमा गरी पुनः राजश्व कार्यालयमा पुगी सभा गरेको छ । कार्यक्रममा केही उद्योगी व्यवसायी र राज्यलाई कर तिर्न थालेका करदाताहरुको पनि सहभागीता रह्यो । करदाताले तिरेको रकमको सदुपयोग र सार्वजनिक जवाफदेहितामा राज्य र करदाता दुवैपक्षको सकारात्मक कदम आवश्यक पर्ने यो कार्यक्रमले सन्देश पनि छोडेको छ ।

उद्योगी–व्यवसायीले भोगिरहेका करसम्बन्धी समस्या, अनौपचारिक अर्थतन्त्र र राजस्व चुहावट, कर प्रशासनमा डिजिटल प्रविधिको प्रभावकारिता र करदाता सम्मानसँगै करदाताका समस्या समाधानमा राज्य सकारात्मक भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले बताए । विगतमाका धेरै चुनौती चिरिए । तथापि वर्तमानमा अझ चुनौति चिदै अगाडी बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।

ठूलो संख्यामा आर्थिक कारोबार करको दायरा बाहिर रहेको वर्तमानमा कर छली र राजस्व चुहावटलाई न्यूनिकरण गर्न ‘मैले तिरेको करबाट शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूत पाइरहेको छ’ भन्ने कुरा नागरिकले पनि भुल्न नहुने भन्सार प्रशासक मैनालीको तर्क छ ।

कर नीतिमा ‘ड्याष्टिक’ चेन्जः पूर्व अध्यक्ष लाठ
अनौपचारिक अर्थतन्त्रको विस्तार र कर कानुन तथा प्रक्रियाको जटिलता विगतमाभन्दा थुप्रै घटेको स्वीकार गर्दै उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष गणेश लाठले कर प्रशासनमा प्रविधि र दक्ष जनशक्तिको प्रभावकारीता फलदायी भएको बताए । ‘करदाता र राज्यबीच विश्वासको कमी विगतमाभन्दा ‘ड्याष्टिक’ परिवर्तन भयो’ उनले भने । अझै धेरै हुन बाँकी छ, विस्तारै हुनेमा उद्योगी व्यवसायी ढुक्क रहेको पनि उनको भनाइ छ । आफूले १० वर्षदेखि कर प्रणालीका ’bout हेरेको चर्चा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

आर्थिक कारोबारको ठूलो हिस्सा अझै पनि अनौपचारिक क्षेत्रमा रहनु, कर छली, राजस्व चुहावट, बिलबिजक जारी नगर्ने प्रवृत्ति तथा कर कानुनको पूर्ण पालना नहुनु राजस्व परिचालनका प्रमुख चुनौती रहेको भन्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले कर दिवस जस्ता कार्यक्रमले विस्थापन गर्दै जाने कुरामा जोड दिए ।

उद्योगी–व्यवसायीले करसम्बन्धी प्रक्रिया झन्झटिलो भएको, विभिन्न तहका कर तथा शुल्कले व्यवसाय सञ्चालन लागत बढाएको र कर प्रशासनलाई अझ सरल तथा सेवामैत्री बनाउनु पर्ने माग गर्दै आएको आर्थिक नगरीमा विगतमाभन्दा धेरै कुराको सुधार भएको, तर अझ हुन पर्नेमा वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधवलाल राजपालको जोड छ ।

साताव्यापी कर दिवसमा विविध गतिविधि हुने
सप्ताहव्यापी कर दिवसमा विभिन्न गतिविधि गर्दै करको भार र कर तिर्ने क्षमताबीच सन्तुलन कायम गर्ने चुनौतीलाई न्यूनिकरण गर्न करको दायरा विस्तारमा राज्य लागिरहेको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गजेन्द्र प्रसाद यादवले बताए । यस्ता कार्यक्रमलाई करदाताहरुले पनि सकारात्मक रुपमा लिदै सहयोग गर्नु पर्नेमा उनको जोड छ । कर दिवस मनाइरहँदा नेपालको कर प्रणालीमा रहेका चुनौतीलाई राज्यले पनि गम्भीरतापूर्वक हेरिरहेको उनले तर्क गरे ।

आन्तरिक राजश्व कार्यालय पर्सा, वीरगन्जका कर अधिकृत उद्वव अधिकारीले सहजीकरण गरेको कार्यक्रममा आर्थिक तथा प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र वीरगन्जमा कर प्रणालीको प्रभावकारिता अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको कार्यक्रमा औल्याइएको छ । धरातलीय यथार्थसँग मेल खाने कार्यक्रममा उद्योग, व्यापार, आयात–निर्यात तथा सेवा क्षेत्रको कारोबारलाई व्यवस्थित रूपमा करको दायरामा ल्याउन सके राजस्व परिचालनमा थप योगदान पुग्ने यहाँका अर्थविद्हरुको पनि सुझाव छ ।

करदाताको सम्मानसँगै राज्यको जवाफदेहिता पनि अपरिहार्य रहेको भन्दै कर दिवसले कर तिर्नु नागरिक दायित्वको सन्देश दिए झैं राज्यलाई करदाताप्रति जवाफदेही बन्न पनि जिम्मेवारी बोध हुन पर्ने उत्तिकै आवश्यक रहेको यहाँका बुद्धिजिबी मध्ये डा.विश्वम्भर शर्माले बताए । नागरिकले इमानदारीपूर्वक कर तिर्ने र राज्यले त्यसको पारदर्शी तथा प्रभावकारी सदुपयोग गर्ने कार्यमा इमान्दारिता देखाउनु पर्ने उनको सुझाव छ ।

दायरा बढाउने सन्देश बनोस् कर दिवसः
चालु आ.ब.को कार्तिकसम्म २ अर्ब ७० करोड ३९ लाख ७२ हजार राजश्व संकलन गरेको वीरगन्जको आन्तरिक राजश्व कार्यालय अन्तर्गत कुल ६१ हजार १ सय ८८ करदाता प्रत्यक्ष जोडिएका छन् । आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, शिक्षा, स्वास्थ्य, सरकारी संस्थालगायत गरी उक्त करदाता यहाँ प्रत्यक्ष जोडिएका छन् ।

अझ व्यक्तिगत पानमा जोडिएका करदाता समेत गरी यहाँ मात्र कुल १ लाख ८० हजार ७ सय १९ रहेको कार्यालयको तथ्याँकले देखाएको छ । यसले पनि कर प्रशासनलाई प्रविधिमैत्री बनाउने, करदातालाई सहज सेवा उपलब्ध गराउने, कर कानुनको समान कार्यान्वयन गर्ने तथा राजस्व चुहावट नियन्त्रण गर्ने कार्यमा कोही पनि चुक्न नहुने तथ्याँकले पुष्टि गरेको छ । तर यो नगरीमा अझै ठूलो हिस्सा राजश्व बाहिर राजश्व चुहावटमा सकृय छ । यो तप्कालाई करसँग जोड्न चुनौति छ ।

चालु वर्षको साताव्यापी राष्ट्रिय कर दिवसले राज्य र नागरिकबीचको आर्थिक सम्बन्धलाई थप जिम्मेवार, पारदर्शी र विश्वासिलो बनाउने कुरामा आशा जगाउन सक्नु पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा