नपोली कोपा इटालिया च्याम्पियन

रोमा । चिरपरिचित प्रतिद्वन्द्वी युभेन्टसलाई पराजित गर्दै नपोलीले कोपा इटालिया च्याम्पियन बनेको छ । रोमामा बुधबार राति भएको फाइनलमा युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नपोली ६ वर्षपछि कोपा इटालिया च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा नपोलीले बाजी मारेको हो । युभेन्टसको १४औंपटक कोपा इटालिया उपाधि जित्ने लक्ष्यमा सफल नहुँदा नपोलीले भने ६ वर्षपछि उपाधि खडेरी तोड्न सफल भयो ।

खेल अवधिभर नै भेट्रान गोलरगक बुफोनले उत्कृष्ट प्रदर्शन गरे पनि युभेन्टसको अग्रपङ्ति फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो । पेनाल्टीमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भयो । नपोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाए ।

ड्यानिलोको दोस्रो प्रहार अकासिँदा युभेन्टसको सम्भावना तुहिएको थियो । तेस्रो प्रहारका रूपमा लियोनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले गोल गरे पनि नपोलीका सबै चार जनाले गोल गरेपछि युभेन्टस उपाधिबाट वञ्चित बन्यो । नपोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलिटानो, म्याक्सिमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरे ।

त्यसअघि घरेलु मैदानमा नपोलीले खेलको २६औं मिनेटमा अग्रता लिनबाट चुकेको थियो । फरवार्ड लोरेन्जो इन्सिग्नेको फ्रिकिक प्रहार पोस्टमा लाग्दा युभेन्टस जोगिएको थियो । रोड्रिगो बेन्टान्कुरले फल गरेपछि प्राप्त फ्रिकिकमा इन्सिग्नेले सिधै गोलको प्रयास गरेका थिए । पहिलो हाफको अन्त्यतिर नपोलीले अर्को अवसर गुमायो । ड्रिएस मर्टिन्सको पासमा इन्सिग्नेको प्रहारलाई गोलरक्षक जियानलुइजी बुफोनले डाइभ दिँदै बचाए । त्यस लगत्तै मिडफिल्डर डिएगो डेम्मेको प्रहारलाई बुफोनले खुट्टाले विफल पारे ।

पहिलो हाफको इन्जुरी समयमा बुफोनले अर्को उत्कृष्ट बचाउ गरे । उनले पुनः एकपटक इन्सिग्नेको प्रहारलाई नै गोल हुनबाट रोकेका थिए । पहिलो हाफमा गोलरहित बराबरीमा खेल सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोलरक्षक बाधक बनिरहे । ८३औं मिनेटमा इन्सिग्नेकै प्रहारले पोस्टको दिशा लिन नसक्दा नेपोली अभागी साबित भयो । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उनले बुफोनलाई समस्या दिन सकेनन् । इन्ज्युरी समयको दोस्रो मिनेटमा बुफोनले युभेन्टसलाई पुनः जोगाए ।

माक्सिमोभिचको हेडरलाई उत्कृष्ट ढंगले बचाएका बुफोनले ६ यार्ड बक्सभित्र भिडमा तीन प्रहारलाई गोल हुनबाट रोकेका थिए । बल पोजेसन राखे पनि युभेन्टसले कुनै पनि पनि समय गतिलो आक्रमण बुन्न सकेन । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई नपोलीका रक्षकले कडा निगरानीमा राख्दा चल्नै सकेनन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते