काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नाम, लेटरप्याड, चारतारे झण्डा र चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा गतिविधि सञ्चालन गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ ।
पार्टीको आधिकारिक पहिचान र प्रतीक प्रयोग गरेर भ्रम सिर्जना गर्ने गतिविधि नरोकिए विधान र प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिँदै कांग्रेसले त्यस्ता गतिविधि रोक्न निर्वाचन आयोगसहित सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्नको अनधिकृत प्रयोगसम्बन्धी निर्णय गरेको हो । बैठकले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा पार्टी विधानअनुसार २०८३ असोज १६ देखि २३ गतेसम्म १५औँ नियमित महाधिवेशन सम्पन्न भई थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको जनाएको छ ।
कांग्रेसका अनुसार २०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न केन्द्रीय विशेष महाधिवेशनको म्यान्डेट तथा पार्टी विधानको धारा ४३ ले निर्धारण गरेको समयावधिभित्र नियमित महाधिवेशन सम्पन्न गरिएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्यसमितिमा भएको परिवर्तन र विधान संशोधनको विवरण निर्वाचन आयोगले २०८३ मंसिर ८ गते अद्यावधिक गरिसकेको पनि बैठकको निर्णयमा उल्लेख छ ।
तर, केही व्यक्ति तथा समूहले पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा र चुनाव चिह्न ‘रुख’ प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा गतिविधि सञ्चालन गरिरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पु¥याउनुका साथै पार्टीका सदस्य, शुभेच्छुक र आम नागरिकमा भ्रम सिर्जना गरेको उसको ठहर छ ।
पार्टीका आधिकारिक प्रतीक प्रयोग गरी गतिविधि सञ्चालन नगर्न र त्यस्ता गतिविधिलाई आधिकारिक कार्यक्रमका रूपमा प्रचार नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दै कांग्रेसले सदस्य, तहगत समिति र शुभेच्छुकलाई पनि भ्रमपूर्ण गतिविधिमा सहभागी नहुन अपिल गरेको छ । आग्रहका बाबजुद यस्ता गतिविधि जारी राख्ने व्यक्ति वा समूहविरुद्ध पार्टीको विधान र प्रचलित कानुनअनुसार कारबाही तथा कानुनी प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।
कानुनबमोजिम दर्ता भएको राजनीतिक दलको नाम, झण्डा, चुनाव चिह्न र अन्य आधिकारिक प्रतीकको संरक्षण गर्नु तथा तिनको अनधिकृत प्रयोग रोक्नु सम्बन्धित निकायको कानुनी दायित्व भएको उल्लेख गर्दै कांग्रेसले निर्वाचन आयोगलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
बैठकले सरकारका पछिल्ला गतिविधिप्रति पनि गम्भीर आपत्ति जनाउँदै आफूलाई रचनात्मक, जिम्मेवार र सशक्त प्रतिपक्षका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । सरकारका सकारात्मक काम र राष्ट्रिय हितका विषयमा सहयोग गर्ने तर संविधान, लोकतन्त्र, विधिको शासन र जनहितविपरीतका निर्णयको सशक्त प्रतिवाद गर्ने कांग्रेसको भनाइ छ ।
सरकारले संसद् र संसदीय समितिलाई उपेक्षा गरेको, अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको तथा कार्यपालिकाले संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय र राज्यका विभिन्न अङ्गमाथि हस्तक्षेप गर्न खोजेको कांग्रेसको आरोप छ । प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश फिर्ता लिन र संसद् अधिवेशन आह्वान गर्न उसले माग गरेको छ ।
कानुनको चयनात्मक प्रयोग र अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशंका व्यक्त गर्दै कांग्रेसले सुनकोशी–मरिन आयोजना तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ । दोषी देखिएका जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन र अनुसन्धानकारी निकायको व्यावसायिक स्वतन्त्रता सुनिश्चित गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका द्विपक्षीय संवाद र सहकार्यका सहमतिलाई स्वागत गर्दै कांग्रेसले सीमा समस्यालगायत राष्ट्रिय मुद्दामा पर्याप्त ध्यान नदिइएको भन्दै प्रश्न उठाएको छ ।
भैरहवा हुँदै दुईतर्फी हवाई रुट सञ्चालनसम्बन्धी सहमति, २४० अर्ब रुपैयाँको भारतीय विकास सहायता प्याकेज तथा आईआईटी, स्टार्टअप, नवप्रवर्तन, खेलकुद र जलवायु उत्थानशीलतासम्बन्धी सहकार्यलाई सकारात्मक रूपमा लिएको कांग्रेसले सहायता प्याकेजमा ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको उल्लेख गरेको छ । सहमति कार्यान्वयनको पारदर्शिता र समयबद्ध योजनासमेत सार्वजनिक गर्न उसले माग गरेको छ ।
भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनामा सरकार उदासीन रहेको कांग्रेसको अर्को आरोप छ । भोटेकोशी बाढी गएको तीन महिनाभन्दा बढी समय बित्दा पनि प्रभावकारी पुनर्निर्माण तथा पुनर्लाभ योजना नआएको, राहत प्रभावितसम्म नपुगेको र क्षतिको पूर्ण विवरणसमेत सार्वजनिक नभएको बैठकको निष्कर्ष छ ।
प्रभावित क्षेत्रको एकीकृत पुनर्लाभ तथा पुनर्निर्माण खाका बनाउन, विस्थापित नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्न र साना ऋणी तथा जलविद्युत् र पर्यटन व्यवसायीलाई राहत, अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन कांग्रेसले माग गरेको छ । यसका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा रहेको समन्वय तथा सहजीकरण समितिलाई जिम्मेवारीसमेत दिइएको छ ।
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका विषयमा पनि कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । वैकल्पिक आवास, कानुनी प्रक्रिया र पुनःस्थापनाको व्यवस्था नगरी बस्ती हटाउँदा मानवीय समस्या उत्पन्न भएको भन्दै वास्तविक भूमिहीन र सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत वा व्यावसायिक लाभ लिने व्यक्तिको निष्पक्ष पहिचान गर्नुपर्ने निर्णयमा उल्लेख छ । अध्यादेशको सट्टा संसद्बाट स्थायी कानुन निर्माण गर्नुपर्ने भन्दै कांग्रेसले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ पारित गर्नुपर्ने धारणा राखेको छ ।
बैठकले ‘हामी तयार छौँ’ अभियानको अवधारणापत्र स्वीकृत गरेको छ । पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित, समयबद्ध, मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ परिमार्जनसहित पारित गर्दै कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्ने अधिकार सभापति थापालाई प्रत्यायोजन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउँदै पार्टीले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान (आईजिइडिएसआई) स्थापना गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानले नीति सुझाव, अध्ययन अनुसन्धान, पैरवी, गुनासो सुनुवाइ, प्रशिक्षण तथा नेतृत्व विकासका काम गर्नेछ । अभियानलाई देशका ६ हजार ७४३ वटै वडामा पु¥याउन पार्टीका सबै तहका संरचनालाई बैठकले निर्देशन दिएको छ ।
सम्बन्धित समाचार
दुई पूर्वमन्त्रीसहित ६ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
ओलीको आरोप–‘डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले संसद विघटन गरेर बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो’
पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
बालेनले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
मोदीलाई बालेनले दिएको शालिग्राम : मुस्ताङबाट कसरी पुग्यो हैदरावाद हाउस ?
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति
रास्वपालाई घण्टे र खराने युगबाट बाहिर निकाल्छौंः रवि लामिछाने






