कोरोनाको जोखिमसँगै बढ्यो सर्पको डसाइ, दुई दिनमा दुईको मृत्यु

सप्तरी । कोरोना संक्रमण सँगसँगै सप्तरीमा सर्पदंसको घटनामा पनि बृद्धि भएको छ । दुई दिन यता सर्पले डसेर दुई महिलाको मृत्यु भएको छ भने शुक्रबार एकै दिन दुई महिलासहित चार जना सर्पको डसाईमा परेका छन् ।

उनी सबैको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । अघिल्लो दिन जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका बनरझुल्ला टोलकी १९ वर्षिया कंचनकुमारी रायको सर्पदंसबाट मृत्यु भएको थियो । उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका मामा जयप्रकाश रायले बताए ।

शुक्रबार भने सर्पले डसेर भर्ना गराएकी राजविराज नगरपालिका ९ मलेठ की ४० वर्षीया सरस्वती मेहताको उपचारको क्रममा मृत्यु भएको हो । गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत अहेब जयकृष्ण गुरमैताले सर्पले डसेको ती महिलालाई ढिलो गरी ल्याउँदा विष शरीरभरि फैलिसकेकोले चिकित्सकको निकै प्रयासका बाबजुद पनि बचाउन नसकिएको बताए ।

यस्तै शुक्रबारै सर्पले डसेर उपचारका लागि भर्ना हुनेहरुमा राजविराज नगरपालिका ११ की पुष्पा मण्डल, राजगढ गाउँपालिका ३ की प्रमिला यादव, डाक्नेश्वरी नगरपालिका ७ का रामकुमार मण्डल र अग्निसाइर कृष्णासवरण गाउँपालिका ३ का महिनारायण चौधरी छन् । उनीहरुको अवस्था भने खतरामुक्त रहेको अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. रन्जित झाले बताए ।

सर्पदंशको घटना ह्वातै बढेपछि अस्पतालमा एन्टी स्नेकभेनम नामक औषधी स्टक गरिएको उनको भनाई । गर्मीसँगै सर्पको डसाई एक्कासी बढेको छ एक स्वास्थ्यकर्मीले भने, ‘वर्षा सुरु भएपछि अझ बढ्छ ।’ एकातिर कोरोना संक्रमणका बिरामी बढिरहेको र अर्कोतर्फ सर्पदंशका घटनामा पनि बृद्धि हुन थालिएपछि जोखीम झनै बढाएको चिकित्सकहरुको भनाई छ ।

सर्पदंशबाट जोगिन अन्ध्यारो र जंगल क्षेत्रमा खालि खुट्टा हिडडुल नगर्न, बसोवास स्थाल र आसपास सरसफाई राख्न, राती र अध्यारोको समयमा टर्च वा उज्यालो पार्ने उपकरणको प्रयोग गर्न चिकित्सकहरुले सुझाव समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका