ट्राफिक व्यवस्थापनमा गति देऊ

दुईतिहाइको सरकार निर्माण हुनलाग्दा केही गति लिएको देखिएको नेपालको ट्राफिक व्यवस्थापन अहिले निकै सुस्ताएको छ । त्यतिबेला काठमाडौंका भित्री चोक तथा बाहिरी चोकमा गाडी रोकिएको कमै देखिन्थ्यो । गाडीको लस्कर लाग्न छाडेको देखेर दुईतिहाइको सरकारले गर्ने सुधारको आँकलन पनि सार्वजनिक चर्चाको विषय बन्ने गरेको थियो । वर्तमान दुईतिहाइको सरकारबाट आमूल परिवर्तन होइन, तर अत्यधिक सुधारको अपेक्षा जनताले गरेको सार्वजनिक अभिव्यक्ति थियो त्यो । मानिसले दैनिक रूपमा बेहोर्नुपर्ने सास्ती र समस्यालाई समयक्रमसँगै सरकारले हल गरिदिने आशा भरपुर रूपमा जनतामा थियो । तर, केही समयपछि यो साखले निरन्तरता पाउन छाड्यो । ट्राफिक व्यवस्थापन हेर्दा सामान्य आवतजावतको कुरा भएको र जीवनमा यसले खासै महत्वपूर्ण अर्थ नराख्नेजस्तो ठानिए पनि यसले काठमाडौंवासीको जनजीवनलाई अस्तव्यस्त तुल्याइदियो । यो अस्तव्यस्तता कर्मचारी समायोजनको विवाद र अकार्यान्वयनसँगै जोडिएर देखा प¥यो । त्यसपछि निरन्तर रूपमा ट्राफिक अव्यवस्थापनले निरन्तरता पाउँदै आएको छ र बिनाकारण नै बढीमा २० मिनेटको दूरीमा पुगिने गन्तव्यमा एकदेखि डेढ घण्टा लाग्ने समय खर्च हुने गरेको छ । यात्रुको यो समय निकै छटपटी, बेचैनी र निराशामा व्यतीत हुने गरेको छ ।

त्यसो त काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि एक बृहत् कार्ययोजना कार्यान्वयनमा ल्याइएको घोषणा गरिएको छ । सरकार स्वयंले मन्त्रिपरिषद् बैठकबाट उक्त कार्ययोजना पारित गरेर कार्यान्वयनमा ल्याइएको भनिएको पनि छ । तर, व्यवहारमा त्यसको कार्यान्वयन हुन सकिरहेको छैन । दीर्घकालीन योजना लागू गर्न र तिनले प्रतिफल दिन लामो समय लाग्ने कुरालाई दृष्टिगत गरी मन्त्रिपरिषद् बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना–२०७६’ निर्माण गरिएको छ । तर, त्यो केवल देखाउन र प्रचार गर्नका लागि सहयोगीसिद्ध भए पनि व्यवहारतः कार्यान्वयन हुन सकिरहेको छैन । नीति, नियम र कार्यक्रमका साथै सडकको अवस्था, आकाशेपुल तथा बसस्टेसन, जेब्रा क्रसिङ तथा वैकल्पिक बाटोको प्रयोग व्यवस्थित रूपमा हुन सकिरहेको छैन । यी सबै काम निर्देशनमा सीमित हुन गएका छन् । सडकमा ट्राफिक लाइटसम्म बल्न पाएका छैनन् । ट्राफिक व्यवस्थापनमा बुझ्नेलाई इसारा काफी भने झैं ट्राफिकको इसारा मात्रले समस्या ल्याएको छ । विज्ञान र प्रविधिको प्रयोग, संरक्षण तथा सम्बद्र्धन र तिनको निरन्तरतामा सम्बन्धित पक्षको चासो र चिन्ता दुवै देखिँदैन । सडकमा जडान गरिएका सीसी टीभी पनि धूलोले ढाकिएका र पुछपाछसम्म नगरिएका अवस्थामा छन् । ढल निकास र पैदल यात्रुका लागि बनाइन थालिएका छेउछाउका फुटपाथ पनि भत्काइएका र लामो समयसम्म निर्माणाधीन अवस्थामा छन् ।

ट्राफिक व्यवस्थापन व्यावहारिक, वैज्ञानिक र चुस्त बनाउनका लागि सम्बन्धित मन्त्रालय वा विभागले नियमित रूपमा निर्देशन दिने र अनुगमन निरीक्षण गर्नुका साथै व्यावहारिक व्यवस्थापन जरुरी छ । रातदिन सडकको धूलो खाएर सवारी व्यवस्थापनमा खटेका ट्राफिक प्रहरी कर्मचारीको वृत्तिविकास, सेवासुविधा वा आइपरेका व्यावहारिक समस्या समाधानका लागि उपयुक्त सम्बोधन गरिनु जरुरी छ । हल्का खालका हेलमेट टोप, प्रत्यक्ष वा हट लाइन कुराकानीका लागि सुविधाजनक फोन, लगाउने सुविधायुक्त ड्रेस, चस्मा, पन्जा तथा हल्काखालका बुटजुत्ता र राम्रा र गुणस्तरीय मास्कहरू अतिरिक्त सुविधाका रूपमा उपलब्ध गराउनु जरुरी देखिन्छ ताकि, घण्टौं ट्राफिक व्यवस्थापनमा खट्दा उनीहरूलाई आफूहरूले प्रयोग गरिरहेका सामान र उपकरण भारी बनेर थकाइ लागि वाक्कदिक्क नबनाओस् । काम गर्नेलाई उचित उपकरणको जरुरी हुन्छ । नेपालीमा उखान नै छ– ‘भाँडाले पो काम हुन्छ ।’ यसका साथै संघीय, प्रान्तीय र स्थानीय सरकारका बीचमा उचित समन्वय हुन सकेको पनि देखिँदैन । यी तीनै तहका सरकार र निकाय एकआपसमा समन्वय र सहकार्य गरी ट्राफिक व्यवस्थापनमा वैज्ञानिकता ल्याई गतिदिन निकै आवश्यक भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै