किसानहरूले मानो रोपेर मुरी फलाउने तयारी गरिरहँदा अन्नबालीको मुख्य शत्रुका रूपमा रहेको सलह कीरा एकाएक नेपालमा प्रवेश गरेपछि आमकिसान चिन्तित र निराश बनेका छन् । कोभिड–१९ का कारण महासंकट भोग्नुपरिरहेको अवस्थामा बालीनाली सखाप पार्ने सलह कीराले उत्पन्न गर्ने अर्को संकट बेहोर्नुपर्ने अवस्था आउनु हामी सबैका लागि गम्भीर चिन्ताको विषय हो । कोभिड–१९ का कारण लामो समयदेखि जारी रहँदै आएको लकडाउनले मुलुकको अर्थतन्त्रमा ठूलो असर परिरहेको छ । नेपालले चालू आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिको उच्च लक्ष्य बोकेकोमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता निकायले नेपालको आर्थिक वृद्धि २.५ देखि ४.३ प्रतिशत हाराहारी रहने अनुमान गरेका छन् । यो अवस्थाले मुलुकमा झन् समस्या आउने अनुमान सहजै गर्न सकिन्छ ।
कोरोना संकटबाट पार पाउन कृषि क्षेत्रको विकास र विस्तार गर्नुपर्ने आवाज जबरजस्त रूपमा उठिरहेको अवस्थामा सलहको प्रभावले कृषि क्षेत्र पनि ठूलो संकटमा पर्ने देखिएको छ । कृषि क्षेत्रमा संकट आउनु भनेको अनिकाल लाग्नु हो । अनिकाल र भोकमरीको अवस्था आयो भने त्यसले सिंगो राज्यसत्तामाथि नै ठूलो प्रश्नचिह्न खडा हुन सक्छ । कृषि मन्त्रालयले केही दिनअघि मात्रै नेपालमा सलह नआउने बताएको थियो । सरकारी निकायले त्यसरी सलह नआउने बताएको केही दिनमा नै नेपालका विभिन्न भागमा एकैपटक सलह आउनुले सरकारी निकाय संवेदनशील बन्न नसकेको देखिन्छ । सरकारी निकायको अध्ययन अनुसन्धान फितलो हुन पुग्दा यो समस्या आएको हो । सलहको समस्या आउन सक्ने अनुमान पहिला नै गर्न सकेको भए त्यसलाई निस्तेज बनाउन सक्ने गरी आवश्यक नीति योजना र कार्यक्रम बनाउन सकिन्थ्यो तर सलहको बथान आएर यहाको बालीनाली नष्ट गर्दासमेत त्यसलाई निस्तेज पार्न सक्ने खालका योजना बनाउन नसक्नु सरकार र कृषि मन्त्रालयको कमजोरी हो । किसानका मुख्य सम्पत्तिका रूपमा रहेका अन्नबालीहरू नष्ट हुने अवस्था आयो भने अन्नको अभावमा मुलुक र मुलुकवासीले नै भोलिका दिनमा थप संकट बेहोर्नुपर्ने अवस्था पनि आउन सक्छ । किसानले सरकारलाई सराप्ने दिन आउन नदिन सरकार विशेष चनाखो भएर अगाडि बढ्न्पर्छ । सलहको समूहलाई नष्ट गर्न संघ, प्रदेश र स्थानीय सरकारले समन्वयत्मक किसिमले कार्यक्रम अघि बढाउनुपर्छ ।
विभिन्न अध्ययको निष्कर्ष नै छ कि घाम नै छेकिनेगरी आउने सलहको झुन्ड जहाँ बस्छ, त्यहाँको हरियाली नै नष्ट हुन्छ । यसले अन्नबाली मात्रै नभएर अन्य बिरुवालाई समेत असर गर्ने भएकाले वातावरणीय असन्तुलनसमेत निम्त्याउन सक्ने देखिएको छ । रासायनिक र भौतिक गरी दुई किसिमले सलहलाई नियन्त्रण गर्न सकिने विज्ञहरूले सुझाव दिएका छन् । उनीहरूका अनुसार विषादी प्रयोगबाट मात्रै नभएर धुवाँको प्रयोगबाट पनि सलहलाई भगाउन सकिन्छ । सलहको समूह करोडांैको संख्यामा हुने भएकाले यसलाई नियन्त्रण गर्न पनि सोहीअनुसारकै पर्याप्त स्रोतसाधनको आवश्यकता पर्छ । त्यसैले, तीनवटै सरकारले यसलाई नियन्त्रण गर्नका लागि विषादी प्रयोग गर्न वा अन्य उपाय अपनाउन आवश्यक पर्ने बजेटको समेत तत्काल जोहो गरेर छिटोभन्दा छिटो सलह नष्ट अभियान थाल्न ढिलाइ गर्नुहँुदैन ।






