काठमाडौं । सरकारले लकडाउनको हालको मोडल यथावत् राख्दै आगामी ७ साउनसम्म जारी राख्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले हालकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन् तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्नेगरी एक मन्त्रीले राजधानीलाई बताए । निर्णयअनुसार ७ साउनसम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चल्नेछन् । यसैगरी, उद्धारबाहेकका सबै हवाई उडान, विद्यालय तथा शैक्षिक संस्था पनि बन्द नै रहने छन् ।
सभा, समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्विमिङ पुल पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अन्य अन्तर्राष्ट्रिय सीमानाकासमेत बन्द नै रहनेछन् भने रेस्टुरेन्टहरू प्याकिङ र ‘टेक अवे’ सेवा दिनेगरी खुला गर्न सकिनेछ भने क्वारेन्टाइन बनाइएकाबाहेकका होटल बन्द नै रहने जनाइएको छ ।