राजनीतिक स्थिरतालाई ध्यान देऊ

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अहिले आन्तरिक विवाद चुलिन पुग्दा देश अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलिरहेको छ । बहुमत प्राप्त सत्ताधारी दलभित्रको कलहले अब पनि हिजोका झैं सरकार अदलीबदलीका खेलहरू चलिरहने पो हुन् कि भन्ने आशंकालाई थप बल दिएको छ । यसअघिको लामो समयसम्म एकपछि अर्को गर्दै गठबन्धन सरकार निर्माण र त्यसले निम्त्याइरहने अस्थिरताले न त देश विकासमा गति आएको थियो, न त जनतामा आशा र विश्वास नै ल्याउन सकेको थियो । बरु कसले सत्तामा रजाइँ गर्ने भन्दै सरकार ढाल्ने र सत्ता बाँडीचुँडी गरेर खाने नमीठो तरिकालाई सत्तासंस्कारका रूपमा निरन्तरता दिँदै आएको थियो । देशमा संवैधानिक राजतन्त्रको अन्त्यसँगै निर्माण गरिएको संघीय लोकतान्त्रिक गाणतन्त्रले यो विरासतलाई अन्त्य गर्ने सबैको आशा थियो । फलतः वाम गठबन्धको नाममा स्पष्ट बहुमत प्राप्त भयो । बहुमत ल्याएको नेकपाले दुई तिहाइ बहुमतको सरकार निर्माण गर्ने सुअवसरसमेत पायो । देश समृद्धितर्फ र जनता आशा र विश्वासका साथ स्थिर राजनीतिको बाटोतर्फ लागेको महसुस भयो ।

तर, दुई तिहाइको सरकार आफ्नो कार्यकाल पूरा नगर्दै सत्ताधारी पार्टीभित्रकै अन्तर कलहका कारण संकटमा पर्न थालेको छ । कोरोनाजस्तो महामारीले देश आक्रान्त भएका बेला सत्ताधारी पार्टीमा गुटगत स्वार्थहरू एकापसमा टक्कराउन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी हुन्छ सत्ताबाट विस्थापित गरी राजनीतिलाई अस्थिर बनाउने खेल सत्तारुढ दलबाटै भइरहेको छ । यस्तो खेल तत्काल रोकिनुपर्छ । प्रधानमन्त्रीले पनि सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार सबैलाई समेटेर अघि बढ्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने महŒवपूर्ण दायित्व बोकेको सरकारबाट आमजनताले ठूलो आशा र भरोसा गरेका थिए तर जनताको आशा र भरोसालाई मूर्त रूप दिन भने सरकार चुकेको सत्य हो । तर, अहिले जसरी सरकारले बर्बादै ग¥यो भनेर जसरी पहाडै खस्नेगरी कोकोहोलो मच्याउन खोजिएको छ । यस्ता प्रवृत्तिले अराजकता सिर्जना हुन सक्ने र प्रतिगामी तŒवलाई मलजल पु¥याउने भय बढेर गएको छ । सत्तारूढ दलको जारी स्थायी समितिको बैठकमा सिद्धान्त, विचार र जनताका आवाजहरू बुलन्द गराउनुपर्नेमा खाली कुर्सी र सत्ताको -याल मात्रै चुहाउने काम गरिएको छ, जसले राजनीतिलाई फोहोरी खेलका रूपमा रूपान्तरण गरिदिएको छ ।

मुलुकमा बेरोजगारी समस्या भयावह बन्दै गएको छ । आयआर्जनका बाटाहरू बन्द छन् । रोगी र बिरामी नागरिक बढ्दै छन् । महामारी संक्रमण उकालो लाग्दै छ । ज्यान गुमाउनेको संख्या बढ्दै छ । देशभर आत्महत्या गर्नेको संख्या अकल्पनीय बन्दै गएको छ । यस्तो संगीन परिस्थितिमा नेकपाका नेताहरूले त्यस्ता सबै समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उपायको खोजी गर्न नसक्नु घोर विडम्बना भएको छ ।

कमीकमजोरी गर्नेहरू कोही पनि आत्मसमीक्षा गर्न तयार छैनन् । सबैमा अहमताले राज गरेको छ । आफंै त भोकमरीको बाटोतर्फ अघि बढिरहेको देश त्यसमा पनि सलह फट्यांग्राको आगमनले अर्को महामारी थपिएको छ । हेर्दाहेर्दै बालीनाली सखाप हुँदै गएका छन् । मनसुनसँगै पहाडमा पहिरोले विनाश निम्त्याइरहेको छ । तराईमा डुबानले निम्त्याएको सास्ती खेपिनसक्नु छ । महामारीका यी विविध रूपहरू महाभारतकालीन यदुवंशी ‘फलामे मुसल’ बनेर सत्ताधारी पार्टीभित्र प्रवेश गरिसकेको छ ।

महामारीका विविध आक्रमणबाट जनता जति आजित छन्, त्योभन्दा बढी सत्ताधारी दलको कलह र बिग्रहबाट निराश छन् । आआफ्ना कमीकमजोरी सच्याउने र एकअर्कालाई रूपान्तरण हुन सहयोग गरेर अघि बढ्ने तयारीमा कोही पनि छैनन् । बरु कसले कसलाई सिध्याउनु छ, त्यसका लागि मरिमेटेर लागि परेका छन् । सत्ताधारी पार्टीले भुल्नुहुँदैन कि उनीहरूलाई जनताले दिएको जनादेश के हो ? त्यो पूरा गर्न कुनचाहिँ कर्तव्य पथमा तल्लीन हुनुपर्छ ? अहिले आन्तरिक बखेडा झिकेर तमासा देखाउने अवस्था होइन, बरु विनम्रताका साथ सबै नेताहरूले कमीकमजोरी स्वीकार गरेर हातेमालो गरी अघि बढ्नुपर्ने बेला हो । देश र जनताको भलाइका लागि मिलेर समाधान खोज्नु नै अहिलेको अहं आवश्यकता हो । सरकार परिवर्तनको खेल कसैका लागि पनि हितकर छैन । त्यसैले, सहमति गरेर राजनीतिक स्थिरताको उपयुक्त बाटो अपनाउनु नै सत्तारूढ दलका सबै नेता कार्यकर्ताको परम कर्तव्य हो ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?