निफले माग्यो महोत्सवका लागि फिल्म

गत तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा बलिउड निर्देशक प्रकार झा र नेपाली चलचित्र निर्देशक अभिनेता नीर शाह ।

काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को आयोजक पक्षले महोत्सव तयारी सुरु गरेको छ । यो महोत्सवको चौथो संस्करण आगामी फागुनको दोस्रो साता हुँदै छ । सो महोत्सवमा सहभागी हुन चाहनेहरूका लागि फिल्म पठाउन आयोजक पक्षले आह्वान गरेको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा बर्सेनि हुँदै आएको फेस्टिभलको नयाँ संस्करण फागुन १२ देखि १६ सम्म हुने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताएका छन् । त्यसका लागि आवेदन खुला गरिएको पनि उनले बताए ।
पहिलो संस्करण पोखरामा, दोस्रो र तेस्रो संस्करण काठमाडौंमा आयोजना गरिएको यो महोत्सवका चौथो संस्करण पनि काठमाडौंमा गरिने भएको छ । महोत्सवमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरूले यही २०२० जुलाई १ देखि नोभेम्बर ३० सम्म सहभागिताका लागि आवदेन गर्न सकिने प्रतिष्ठान अध्यक्ष पाठकले बताए ।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको पनि पाठकले बताए । ‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्ट र डकुमेन्ट्री फिल्मले १५ अमेरिकी डलर र फिचर फिल्मले २० डलर आवेदन शुल्क तिर्नुपर्ने पनि उनले बताए । यसैगरी, महामारीको विषयमा बनेका फिल्मले १० डलर तिरेर सहभागिता जनाउन सक्ने पनि उनको कथन छ । तर, नेपाली प्रतिस्पर्धाअन्तर्गत आवेदन दिन भने कुनै शुल्क नलाग्ने पाठकले बताए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड अवार्ड प्रदान गरिनेछ । यो फिल्मले इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आईएफएफएस डन क्विजोट अवार्ड प्राप्त गर्नेछ ।

यस्तै अन्तर्राष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रुपैयाँ र सर्ट फिल्ममध्ये उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने पनि पाठकले बताए ।

फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । फेस्टिभलमा सहभागिताका लागि फिल्मकर्मीहरूले फिल्म फेयरवेमार्फत फिल्म पठाउन पनि आयोजक पक्षले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

आज साउने सङ्क्रान्ति पर्व