रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित तेस्रो मौराखारा खुला गुरिल्ला म्याराथनको उपाधि मुसिकोटका दुर्गाराज बुढा मगरले जितेका छन् । गाउँपालिकाको कार्यालय परिसबाट आज बिहान १० बजे शुरु भएको ४६ किलोमिटरको म्याराथन दौड ४ घण्टा ५४ मिनेट २५ सेकेन्डमा पुरा गर्दै बुढाले उपाधि जितेका हुन् ।
उनले सानीभेरी गाउँपालिकाका अर्जुन बस्नेतलाई ६ मिनेट अन्तरले पछि पार्दै उपाधि जितेको आयोजकले बताएको छ । दोस्रो स्थान हासिल गरेका बस्नेतले ५ घण्टा ५ सेकेन्डमा दौड पुरा गरेको बताईएको छ । त्यस्तै, गोरखाका भिम गुरुङ्गले तेस्रो स्थान हासिल गरेका छन् । उनले ४६ किलोमिटरको दौड ५ घण्टा ५ मिनेटमा पुरा गरेका हुन् । उपाधि विजेता बुढाले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० र ३५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यस्तै, महिला तर्फको म्याराथन दौडतर्फको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । उनले ५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी हुन् । बुढाले २ घण्टा ५७ मिनेटमा दौड पुरा गरेको आयोजकले बताएको छ ।
त्यस्तै , प्यूठानकी हुमी बुढाले ३ घण्टा ९ मिनेटमा दौड पुरा गरेर दोस्रो स्थान हासिल गरेकी छन् । तेस्रो स्थान भने सानीभेरी गाउँपालिकाकी रुपा नकालले प्राप्त गरेको आयोजकको भनाई छ । महिला तर्फको दोस्रो र तेस्रो हुनेले क्रमशः ३५ र २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त छन् । तेस्रो संस्करणको खुला मौराखारा गुरिल्ला म्याराथनमा ३७ जना महिला र ५२ जना पुरुषले सहभागीता जनाएका थिए ।






