काठमाडौं । मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएसँगै गत चैतको दोस्रो सातादेखि नेपालमा लकडाउन सुरु भएको थियो । सो लकडाउनसँगै काठमाडौं उपत्यका ठप्प थियो । जसका कारण गीत संगीत रेकर्ड गर्ने सबैजसो रेकर्डिङ स्टडियो बन्द थिए । जेठको पहिलो साताबाट फाटफुट खुलेका रेकर्डिङ स्टुडियोमा यतिबेला गीत रेकर्डिङको चलहपहल बढेको छ । असार सुरु भएसँगै काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भयो । त्यसपछि यहाँका गीत रेकर्डिङ स्टुडियो धमाधम खुल्न थालेका हुन् ।
यसपटकको तीज आउन अझै दुई महिना बाँकी छ । तर, यतिबेला काठमाडौं उपत्यकाका रेकर्डिङ स्टुडियोमा तीज गीत रेकर्ड गर्नेको भिड बढ्न थालेको छ । काठमाडौंको पुतलीसडकस्थित आर्टो म्युज डिजिटल रेकर्डिङ स्टुडियोमा केही दिन यताबाट तिज गीतको रेकर्डिङ थालिएको संगीतकार तथा सो स्टुडियोका अध्यक्ष जुगल डंगोलले बताए ।
उनका अनुसार यसपटक भदौको अन्तिम सातामा तीज परेको छ । तीजको दुई महिनाअघि नै गीत तयार गरेर भिडियो ल्याउने हुँदा आफ्नो स्टुडियोमा रेकर्डिङको क्रम बढेको पनि उनले बताएका छन् । कतिपय कलाकारले असारको पहिलो सातामा तीज गीत रेकर्ड गरेर भिडियो सार्वजनिक गरी यतिबेला चर्चासमेत कमाइसकेको पनि संगीतकार जुगलले राजधानीलाई बताए ।
एक तथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र करिब ३ सय वटा रेकर्डिङ स्टुडियो छन् । तीमध्ये लोकभाकाका गीत बढी रेकर्ड हुने करिब १ सय स्टुडियोमा अहिले तीज गीत रेकर्डिङ सुरु भएको छ । केही दिनबाट केही स्टुडियोमा तीज गीत रेकर्डिङको चाप बढेको पनि जुगलले बताए ।
जुगलको मात्र हैन, काठमाडौंका अधिकांश रेकर्डिङ स्टुडियोमा अहिले तीजको चहलपहल देख्न पाइएको छ । सीतापाइलास्थित भिडियो क्राफ्ट नेपाल स्टुडियोमा पनि केही दिनयता तीज गीत रेकर्डिङ भइरहेको सो स्टुडियोका सञ्चालक तथा गायक संगीतकार सुवर्ण श्रेष्ठले बताएका छन् । उनका अनुसार बुधबार मात्र सो स्टुडियोमा गायिका दीपा कोइरालाको गीत रेकर्ड गर्दै गरेको सुवर्णले यो साता तीन वटा तीज गीत आफ्नो स्टुडियोमा रेकर्डिङका लागि आएको बताएका छन् । उनी आफू पनि गायक र संगीतकार भएकाले केही गायिकाले उनलाई रेकर्डिङसँगै संगीत कम्पोजको जिम्मेवारी पनि दिएको उनले बताएका छन् । संगीतकार सुवर्णका अनुसार रेकर्डिङ स्टुडियो सञ्चालकले दसैंलाई खर्च जोहो गर्ने भनेकै तीजको समयमा तीज गीत रेकर्डिङ गरेर हो । त्यसैले यो समय आफूहरूका लागि कमाउने बेला भएको पनि उनले बताएका छन् ।
यस्तै, काठमाडौंकै डिल्लीबजारमा रहेको भ्वाइस अफ नेपालमा पनि यतिबेला तीजको गीत रेकर्डको चहलपहल बढेको छ । गायक संगीतकार तथा सो स्टुडियोका सञ्चालक राज सागरका अनुसार गत सातासम्म राष्ट्रिय भावले ओतप्रोत र कोरोनासम्बन्धी सन्देशमूलक गीतको रेकर्डिङ हुँदै आएको सो स्टुडियोमा यतिबेला तीजका भाका रेकर्ड हुन थालेका छन् । विगतमा जेठबाटै तीजको गीत रेकर्डिङ हुने भए पनि यसपटक कोरोना संक्रमण र लकडाउनका कारण असारबाट मात्र सुरु भएको राजले बताए । अबको एक महिना आफ्नो स्टुडियो तीज गीतको रेकर्डिङ बढी हुने पनि उनले जानकारी गराए ।