बैतडी । पहिरोका कारण बैतडीमा एक घरपरिवार विस्थापित भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ४ कपिन्नास्थित दमथला टोलका देवदत्त भट्टको परिवार विस्थापित भएको हो । महाकाली कोरीडोर अन्तर्गत निर्माण भएको सडकले पहिरो खसेपछि भट्टको परिवारलाई तत्कालका लागि अर्को घरमा स्थानान्तरण गरेको दोगडाकेदार गाउँपालिका ४ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए । पहिरोले घरको आँगन समेत भत्काएपछि भट्ट परिवारलाई स्थानान्तरण गरिएको उनले बताए ।
पहिरो खसेको ठाउँमा महाकाली कोरीडोरका इन्जिनियर दिनेश रैखोलाको टोलीले अनुगमन समेत गरेको छ । टोलीको अनुगमन पछि समस्यामा परेको परिवारलाई स्थानान्तरण गरिएको हो । सो ठाउँमा अन्य ७ घरपरिवार पनि पहिरोको जोखिममा परेका छन् भने मकै लगाएको खेत पनि पहिरोले बगाउँदै लगेको वडा अध्यक्ष भट्टले जानकारी दिए ।
पहिरो खसेको ठाउँमा महाकाली कोरीडोर आयोजनाले भाद्र महिनादेखि पर्खाल लगाउने सहमति समेत भएको छ । यस्तै कोरीडोरका कारण भत्किएको पानीको कुवा र बाटो निर्माण गरिने वडा अध्यक्ष भट्टले जानकारी दिए ।
माटोको ढिस्कोमा पुरिएरे बालिका घाइते
यसैबीच बैतडीमा सडकमाथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर एक बालिका घाइते भएकी छन् । शिवनाथ गाउँपालिका वडा नं ६ की १० बर्षीय उर्मिला धनाडी घाइते भएकी हुन् ।
बिहीबार शिवनाथ गाउँपालिकाको बसेडी–आमचौरा द्वारिकादेवी ठकुरानी सडकखण्ड निर्माण भइरहेका बेला माथिबाट माटो ढिस्को आएर धनाडी घाइते भएकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । सडक निर्माण भईरहेको ठाउँमा अरु पनि मानिस भएकाले तत्कालै बालिकाको उद्धार गरिएको उनले बताए ।
घाइते बालिकाको दाहिने हात र छातीमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते बालिकालाई उपचारका लागि हिजो राती नै धनगढी पठाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । सो ठाउँमा सडक निर्माण गरिरहेको जेसीबी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।