मूर्धन्य समाजशास्त्री इमाइल दुर्खिमद्वारा प्रतिपादित आत्महत्यासम्बन्धी सिद्धान्त आत्महत्या अध्ययनका क्षेत्रमा विकास भएका सिद्धान्तमध्ये एक आधारभूत सिद्धान्त हो । यसले व्यक्तिलाई आत्महत्या गर्न उद्धत गर्ने कारक तत्वहरू सम्बन्धित समाजिक व्यवस्था तथा संरचनाले पैदा गर्दछ भनी व्याख्या गर्दछ । यसले व्यक्तिको मानसिक अवस्था समाजका विविध पक्षले निर्धारण गर्दछन् भनी जिकिर गरेको छ । कारक तत्वमध्ये यसले व्यक्ति स्वयंमा विकास हुने स्वाभाविक तथा प्राकृतिक शारीरिक, मानसिक र जैविक कारकलाई समेटेको छैन । यसर्थ, आत्महत्यासम्बन्धी मानसिक, जैविक र शारीरिक कारकलाई नकारेकाले आधुनिक चिकित्साशास्त्री र मनोविद् यसलाई अधुरो भनी आलोचना गर्ने गरेका छन् । यद्यपि, १८औं शताब्दीमा प्रतिपादित यस शास्त्रीय सिद्धान्तको औचित्यता तथा सान्दर्भिकता आजकलसम्म पनि उत्तिकै महत्वपूर्ण रूपमा रहेको छ । यस समाजशास्त्रीय सिद्धान्तले आत्महत्यासम्बन्धी शोधअध्ययन गर्न, आत्महत्या दर न्यूनीकरण गर्न र आत्महत्या रोकथामका खातिर समग्र मनोचिकित्सा तथा मनोसामाजिक क्षेत्रलाई एक बृहत्तर समाजशास्त्रीय आधार खडा गरिदिएको छ ।
दुर्खिमको मान्यता र नेपाली समाज : सामाजिक ऐक्यबद्धता र सामाजिक नियमनको संयुक्त अवस्थाले सम्बन्धित समाजमा आत्महत्याको दर निर्धारण हुन्छ भनी दुर्खिमले व्याख्या गरेका छन् । दुर्खिमले सामाजिक ऐक्यबद्धता र सामाजिक नियमनको संयुक्त अवस्थासँग आत्महत्याको दर समानुपातिक रहने कुरामा विश्वास गरेका छन् । अर्थात्, सामाजिक नियमन तथा सामाजिक संघटनको न्यून, मध्यम र उच्च अवस्थाले सम्बन्धित समाजमा आत्महत्याको दर पनि न्यून, मध्यम र उच्च रहने कुरा उल्लेख गरेका छन् ।
वर्तमान नेपाली समाजमा व्यक्तिगत स्वतन्त्रता र स्वार्थ प्राथमिकतामा रहेका छन् । सामाजिक हित तथा साझा सामाजिक उद्देश्य पूर्ति गर्न कम महत्व दिइएको छ । जसले गर्दा सामाजिक ऐक्यबद्धता तथा एकीकरण कमजोर भएको छ । समाजको बृहत्तर सुरक्षा अवस्थामा नकारात्मक असर परेको छ । सामाजिक तथा सार्वजनिक हितका लागि प्रत्यक्ष रूपमा कार्य गर्ने संयन्त्रको अवस्थानुकूल स्थापना हुन सकेको छैन । यावत् कारणले गर्दा नेपाली समाजमा आत्महत्याको दर उच्च रहेको छ ।
उच्च ओहदा, धनाढ्य, कुलिनवर्ग सामाजिक मानहानिका कारण आत्महत्याका सिकार बन्न पुग्छन्
नेपाली समाजमा सामाजिक कार्य सञ्चालन गर्दा सामाजिक योगदान तथा सामाजिक सहभागिता नगन्य रूपमा हुने गरेको छ । बृहत्तर व्यक्तिगत स्वतन्त्रता र स्वार्थले व्यक्तिगत जीवनलाई व्यापक बनाएको छ तर सामाजिक जीवनलाई कुण्ठित बनाएको छ । मानिस उच्चस्तरको सामाजिक प्राणी भएकाले उसका लागि सामाजिक जीवन सबैभन्दा बढी प्रिय हुन्छ । किंतु, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा आएको स्खलनले व्यक्तिगत तथा समाजिक जीवन कठिन, असहज र असमान्जस्यपूर्ण भएको छ । सन्तुलित सामाजिक जीवनबिना व्यक्तिगत जीवन एकलकाटे, एकोहोरो, अन्तर्मुखी, असामाजिक, अव्यावहारिक र असन्तुलित हुन सक्छ । समाजको मूल प्रवाहमा आउन नसकेका, सामाजिक, सांस्कृतिक, आर्थिक, जातीय, लैंगिकजन्य आदि विभेदमा परेका मानिस यस किसिमको आत्महत्याका सिकार हुन सक्छन् ।
अतः व्यक्तिको सामाजिक जीवनलाई कुण्ठित गर्ने व्यक्तिगत स्वतन्त्रताको कुनै महिमा हुन नसक्ने हुँदा हरेक कार्य सामाजिक हितार्थ लक्षित हुनु अनिवार्य हुन जान्छ । किंतु, नेपाली समाजमा व्यक्तिगत इच्छा, स्वतन्त्रता र स्वार्थ हाबी हुँदै गएका छन् । नेपाली समाजमा व्यक्तिगत स्वार्थको त्याग गर्न सक्ने अवस्थाको गुन्जायस रहेको देखिँदैन । दुर्खिमले सामाजिक हित र स्वार्थका खातिर व्यक्तिगत हित, स्वार्थ र स्वतन्त्रताको तिलाञ्जली गर्न सक्ने प्राचीन समाज र सेनाको समुदायको कल्पना गरेका छन् । यद्यपि, वर्तमान अवस्थामा यस्तो किसिमको समाजको अवस्थिति रहेको विश्वास गर्न सकिँदैन । प्राचीन नेपाली समाजमा भएको सतीप्रथा, सेनाले देशका लागि गरेको प्राणको उत्सर्ग र आधुनिक समाजमा कहीँकतै विरलै रूपमा हुने जल समाधिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । जल समाधि, सेनाको देशका लागि भएको प्राणको उत्सर्ग र सतीप्रथाले व्यक्तिगत हितको तिलाञ्जली दिन्थ्यो भने सामाजिक हितलाई प्रश्रय दिएको मानिन्थ्यो । सामाजिक परोपकार व्यक्तिको अन्तिम लक्ष्य हुन्थ्यो । यस्तो समाजको परिकल्पना आधुनिक समाजमा विरलै गर्न सकिन्छ । यस किसिमको आत्महत्यालाई दुर्खिमले परोपकारोन्मुख आत्महत्या भनी मानेका छन् ।
अर्कोतिर मानिसको नितान्त व्यक्तिगत जीवनमा औपचारिक तथा अनौपचारिक सामाजिक–राजनीतिक व्यवस्था हाबी हुँदै गइरहेका छन् । व्यक्तिको नितान्त व्यक्तिगत क्रियाकलापको समेत अनवरत नियमन हुने गरेको छ । प्रकृतिउन्मुख मानव प्राणी विद्युतीय–भौतिक संयन्त्रको चंगुलमा हेलिएको छ । व्यक्तिको नितान्त व्यक्तिगत जीवनमा हुने अति सामाजिक निगरानी, चियोचर्चा र बन्धनले व्यक्तिहरूको मानसिक हालत असन्तुलित हुन जान्छ । यस्तो सामाजिक व्यवस्था तथा संरचनाले सहायकस्तरका कर्मचारी तथा सेना, विद्यार्थी, ज्यालादारी काम गर्ने मजदुर, एकल महिला आदिको मानसिक हालत दुर्बल भई आत्महत्या गर्न पुग्छन् ।
नेपाली समाजमा आएको आमूल राजनीतिक तथा सांस्कृतिक परिवर्तनले समाजको सामाजिक, आर्थिकलगायतका विविध पक्षमा परिर्वतन ल्याएको छ । ती परिवर्तनले व्यक्तिको व्यक्तिगत तथा सामाजिक जीवनलाई जटिल बनाएको छ । व्यक्ति परिवर्तित परिवेशमा सामञ्जस्य हुन कठिन महसुस गरिरहेका छन् । यस्तो किसिमको असहज तथा कठिन सामाजिक जीवनले व्यक्तिमा समाजबाट बहिष्कृत भएको भान हुन्छ । समाजका आएका राजनीतिक, आर्थिक र सांस्कृतिक परिवर्तनसँगै विकसित नयाँ सामाजिक संरचनासँग व्यक्ति समायोजन हुन नसक्ने अवस्था आउने र यसले व्यक्तिमा आफू बहिष्कृत र एक्लो भएको महसुुस हुने अवस्था सिर्जना हुन्छ । यसलाई दुर्खिमले एनोमी भनेर नाम दिए । एनोमीबाट पीडित आत्महत्याको बाटो रोज्दछन् । सांस्कृतिक तथा राजनीतिक परिवर्तनसँगै व्यक्तिको सामथ्र्य, शक्ति, सामाजिक प्रतिष्ठामा आएको संकुचनले एनोमीको अवस्था सिर्जना हुन्छ । उच्च ओहदा, धनाढ्य, कुलिन वर्गहरू यस्तो किसिमको आत्महत्याका सिकार बन्न पुग्छन् ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ र आत्महत्या : नेपालको कानुनी मान्यतामा आत्महत्या व्यक्तिमा स्वाभाविक र प्राकृतिक तवरले विकास हुने हर्मनका कारण र सामाजिक व्यवस्था तथा संरचना र समाजको प्रभावले विकास हुने मनोविज्ञानका कारण हुने गरेको कुरा समेटिएको छ । आत्महत्या गर्न दुरुत्साहनको सिद्धान्तलाई टेकेर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा १८५ (१)मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’ भन्ने उल्लेख गरिएको छ । उपरोक्त कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिमाना हुने व्यवस्था छ ।
मनोसामाजिक र मनोचिकित्सा सेवा : आत्महत्याको रोकथामका लागि व्यक्तिको मानसिकका साथै सामाजिक जीवनलाई समानान्तररुपले मध्यनजर गर्नु आवश्यक छ । मनोसामाजिक तथा मनोचित्सिकीय सेवा प्रदान गर्ने सरकारी संयन्त्रको व्यवस्था हुनु जरुरी छ । आत्महत्याप्रतिको सामाजिक मान्यता र दृष्टिकोण बदल्नका लागि अनवरत नागरिक सचेतनाका कार्यक्रम सञ्चालन गरिनुपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर बढी आत्महत्या हुने देशमध्ये नेपाल सातौं स्थानमा पर्छ । पुरुषको तुलनामा महिला आत्महत्या बढी हुने नेपाल विश्वमा तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत ८ हजार ६ सय ४० मानिसले आत्महत्या गर्छन् ।
अधिकांश आत्महत्याका कारण व्यक्ति स्वयं बाँचेको समाज तथा परिवारजनित भएकाले मनोसामाजिक परामर्शका कार्यक्रम परिवारस्तरसम्म पु-याउनु आवश्यक छ । मानसिक स्वास्थलाई खुला छलफलको विषय बनाउनुपर्छ । जीवनलाई सार्थक र कर्मशील बनाउनुपर्छ ।






