काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उनको उपचारका क्रममा बुधबार मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनी आफ्ना दाजुको अन्तिम संस्कारका लागि भारतको बैंग्लोर गएका र असार २४ गते नेपाल फर्किएका थिए । उनी भारतबाट फर्किएपछि रौतहटको एक क्वारेन्टिनमा बसेका थिए ।
उनलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनलाई स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरमा सारिएको थियो । उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।






