काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद प्रभु साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गैरजिम्मेवारीपूर्ण हर्कतले बजेट फ्रिज भएको आरोप लगाएका छन् ।
नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका सांसद साहले सामाजिक संजाल फेसबुक पेजमा संघीय मन्त्रालयकै कारण बिकासका काम प्रभावित भएको आरोप लगाएका छन् ।
मन्त्रालयले विभिन्न प्रभाव र प्रलोभनमा परेर ऐन विपरीत स्थानीय तहमा उप–सचिवको ठाउँमा नायब सुब्बालाई प्रशासकीय अधिकृत बनाएर अस्थिरता पैदा गरेको सांसद साहको आरोप छ ।
उनले अनावश्यक सरुवाका कारण अस्थिरताका साथै मिलेमतोमा भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भएको जनाएका छन् । प्रदेश र स्थानीय तहमा मन्त्रालयले अनावश्यक हस्तक्षेप गर्दा पालिकाहरुलाई अस्तव्यस्त बनाउनुको साथै अर्बौको बजेट फ्रिज भएको प्रति सांसद साहले चिन्ता व्यक्त गरेका छन् ।
‘वितेको आ. व. २०७६÷०७७ मा संघीय मन्त्रालयले विभिन्न प्रभाव र प्रलोभनमा परी असक्षम, कनिष्ठ उपसचिवको ठाँउमा सुब्बा), एउटा सेवा समुहको कर्मचारिलाई अर्का सेवा समुहको जिम्मेवारी (ईन्जिरिङ्ग, आयुर्वेद, चिकित्सा जस्ता क्षेत्रको कर्मचारीलाई समेत प्रशासन हाक्ने जिम्मेवारी) तथा अस्थिरता पैदा हुने गरी अनाधिकृत रुपमा गरेको अनावश्यक कर्मचारी सरुवा–बढुवाको नौटंकीपूर्ण ताण्डवले गर्दा आज मुख्यतः स्थानीय तहहरुमा बजेटको ठुल्लो हिस्सा फ्रिज हुनुको साथसाथै व्यापक आर्थिक अनियमितता एवं भ्रष्टाचार मौलाएको कारण अहिले जताततै चरम आलोचना र आक्रोश देखिदै छ’ साहले लेखेका छन् ।
मुलुकमा व्यापक यी र यस्ता चरम बेथिति, भ्रष्टाचार र अस्थिरताको छिट्टै अन्तय भई थिति, सुशासन र स्थिरताको स्थिति पैदा हुनुपर्नेमा उनले जोड दिएका छन् ।






