ट्रेड युनियन कर्मचारी कामदारका संरक्षक हुन् । ट्रेड युनियनको उपस्थिति प्रजातान्त्रिक शासन प्रणालीमा मात्र सम्भव छ । ट्रेड युनियन कामदार कर्मचारीको एउटा सामाजिक संगठन हो, जसले आफ्ना सदस्यको पेसागत हित प्रर्वद्धन गर्ने, सदस्यको शारीरिक, मानसिक र पेसागत सुरक्षा गर्ने तथा अधिकार प्रयोगको संवद्र्धन गर्ने गर्दछ । कल्याणकारी राज्यको अवधारणा, औद्योगिक क्रान्तिले ल्याएको औद्यौगिक प्रजातन्त्रको पृष्ठभूमिमा पुँजीवादी देशहरूमा ट्रेड युनियनको अभ्यास प्रारम्भ भएको हो । सहभागितामूलक व्यवस्थापनको सुरुवातसँगै ट्रेड युनियन व्यवस्थापकीय निर्णय प्रक्रियामा सहभागी बन्न थालेको हो । आफ्ना सदस्यको स्वार्थ वा हितको रक्षा गर्नु ट्रेड युनियनको सारभूत सैद्धान्तिक फिलोसफी हो । पेसागत हितको प्रवद्र्धन, सेवाप्रवाहमा प्रभावकारिता ल्याउन तथा निर्विवेकी व्यवस्थापनका अविवेकी व्यवहार र निर्णयमा आवश्यक नियन्त्रण गर्न र प्रतिकार गर्न कर्मचारीलाई ऐक्यबद्ध बनाउनु ट्रेड युनियनको मूलभूतः उद्देश्य हो ।
निजामती सेवामा ट्रेड युनियन आवश्यक छ-छैन भन्ने मत मतान्तर पाइन्छ । टे«ड युनियनको पक्ष र विपक्षमा रहेका मत अभिमतको विवेचना गर्न उचित देखिन्छ । टे«ड युनियन कर्मचारी कामदारको भरपर्दो प्रजातान्त्रिक संस्था भएकाले यसको पक्षमा गहकिला राय प्रस्तुत गरेको पाइन्छ । कर्मचारीले आफूले काम गर्ने वातावरणको निर्माण आफंैले गर्न पाउनुपर्दछ । आफूले पाउनुपर्ने सुविधा, आफ्नो सेवाको सुरक्षा र आफ्नो वृत्ति विकासका लागि कर्मचारी संगठित हुन पाउनुपर्छ । कर्मचारीका गुनासा व्यवस्थापन गर्न, व्यवस्थापन तहमा हुने निर्णय प्रक्रियामा सहभागी बन्न तथा सरकार कर्मचारीबीच सेतुको काम गर्न, पद सोपानको नियन्त्रणले व्यक्त गर्न नसकेका विषय व्यवस्थापन तहसम्म पु¥याउन तथा कर्मचारीलाई मानसिक एवं शारीरिक रूपमा सुरक्षित भएको महसुस गराउन, कर्मचारीका सेवा, सुविधा, हक, अधिकार र वृत्ति विकाससम्बन्धी उत्पन्न हुने विभिन्न स्वार्थबीच साझा स्वार्थको विकास गर्न निजामती सेवामा टे«ड युनियन आवश्यक छ भन्दै विद्वान्ले टे«ड युनियनको पक्षमा अभिमत प्रकट गरेका छन् ।
प्रजातान्त्रिक संस्कारको संगठन हँुदाहँुदै पनि ट्रेड युनियनको गठन, क्रियाकलाप, कार्यप्रक्रिया तथा राजनीतिक संलग्नतालाई लिएर ट्रेड युनियनको आलोचना गर्ने र विपक्षमा राय दिने जमात पनि सानो छैन । निजामती सेवालाई राजनीतीकरण गर्ने, कर्मचारीलाई आस्थाका आधारमा विभाजित गर्ने, सार्वजनिक प्रशासनको तटस्थता संकटमा पर्ने, जवाफदेहिता र उत्तरदायित्व निर्वाहमा बाधा पुग्ने, कर्मचारीमा पद सोपानीय अनुशासनमा ह्रास आउने, प्रशासनिक काममा ट्रेड युनियनमार्फत दबाब सिर्जना हुने राजनीतिक पहुँचको आधारमा प्रशासनिक निर्णयमाथि हावी हुने, राजनीतिक दलका हितयार बन्ने, सरकारी ढुकुटीबाट विधायिकाले तोकेको पारिश्रमिक लिने र कानुनतः सुविधा पाउने निजामती कर्मचारीको जमात मजदुर होइन । सौदाबाजी गर्न मिल्दैन । सार्वजनिक र निजी कर्मचारी प्रशासनबीचको फरक समाप्त हुने र सार्वजनिक सेवा प्रवाह संकटमा पार्नेजस्ता गम्भीर मत विपक्षमा दिन मिल्दैन ।
निजामती सेवालाई सफल, उत्तरदायी र तटस्थ बनाउन सरकार, ट्रेड युनियन र कर्मचारी समान रूपमा जिम्मेवार छन्
सन् १९१९ मा बेलायत सरकारले जेएच ह्वीटलेको अध्यक्षतामा बनेको काउन्सिलले निजामती प्रशासनमा कर्मचारी एसोसिएसनहरूलाई संलग्नता गराउन उचित हुने राय दिएपछि बेलायतको प्रशासनमा कर्मचारी एसोसिएसनको सहभागिता बढ्यो । अमेरिकाको वाग्नर ऐन १९३५ को कार्यान्वयनपश्चात् अमेरिकी सार्वजनिक प्रशासनमा ट्रेड युनियनको सहभागिता बढ्दै गएको हो । यसैगरी, भारतमा सन् १९६० मा पहिलोपल्ट ह्वीटले परिषद्का मान्यताको आधारमा कर्मचारीको मागबमोजिम तलब निर्धारण आयोगमा कर्मचारीको सहभागिता गराई ट्रेड युनियनको अभ्यासलाई स्वीकार गरेको पाइन्छ । नेपालमा नेपाल अधिराज्यको संविधान २०४७ तथा निजामती सेवा ऐन २०४९ जारी भएपछि निजामती सेवामा टे«ड युनियनको अभ्यास प्रारम्भ भएको हो । यद्यपि, निजामती सेवामा पेसागत व्यावसायिक संगठनको अभ्यास भने पहिलेदेखि नै हुँदै आएको पाइन्छ ।
प्रमुख जिल्ला अधिकारीलाई कार्यकक्षमा नै बहालवाला मन्त्रीले गालामा चड्कन लगाउँदा, स्थानीय विकास अधिकारीलाई मन्त्रीले बाथरुममा थुन्दा, राजनीतिक दलका कार्यकर्ताले कर्मचारीप्रति दुव्र्यवहार गर्दा वा स्थानीय तहमा पदस्थापन भएर गएका कर्मचारीलाई निर्वाचित पदाधिकारीले घाँस खुवाउने र पिट्ने गर्दा ट्रेड युनियनले विरोध गरे र कर्मचारी संरक्षणमा अटल भएर खडा भए । त्यस्तै, भरखरै संसदीय राज्य व्यवस्था समितिले प्रतिगामी प्रावधान राखेर संंघीय निजामती सेवा ऐनको विधेयक पारित ग-यो । ट्रेड युनियनले विरोध ग-यो । तर, सार्वजनिक प्रशासनको प्रमुख मुख्य सचिवले कर्मचारीको पक्षबाट बोलेर अविभावकत्व प्रकट गर्न सकेनन् ।
प्रस्तुत केही प्रतिनिधि उदाहरण र निजामती कर्मचारीको काम गर्ने वातावरणको अवस्थाले निजामती सेवामा टे«ड युनियनको अपरिहार्यता स्वतः सिद्ध भएको छ । सरकार र ट्रेड युनियनका आआफ्ना उद्देश्य छन् । सरकार कर्मचारीको उत्पादकत्व, अनुशासन र परिणाममुखी व्यवहारको चाहना राख्दछ भने कर्मचारी आफ्नो सेवाको सुरक्षा, वृत्ति विकासको सुनिश्चितता र सेवासुविधामा केन्द्रित हुन्छन् । सरकार र कर्मचारीको विरोधपूर्ण स्वार्थबीच सन्तुलन कायम गर्न टे«ड युनियनले महŒवपूर्ण भूमिका खेल्दछ । यद्यपि, ट्रेड युनियनले सदैव आफ्ना सदस्यको हितलाई सर्वोपरी राख्ने र व्यवस्थापनले सेवाको प्रभावकारिता र परिणाम खोज्ने कारण समस्या वा परिस्थितिलाई व्यवस्थापन र टे«ड युनियनले हेर्ने दृष्टिकोण फरकफरक हुने हुन्छ र विवाद सिर्जना हुन्छ । विवाद समाधानका लागि व्यवस्थापनसँग सामूहिक सौदाबाजी गरी समस्यालाई समाधान गर्न ट्रेड युनियनले महŒवपूर्ण भूमिका खेल्ने गरेका छन् ।
निजामती सेवामा ट्रेड युनियनको अभ्यास भएको ३० वर्षभन्दा धेरै भइसक्यो । विगतमा ट्रेड युनियनहरूले निजामती सेवालगायत सबै सार्वजनिक निकायमा राम्रा नराम्रा दुवै खाले कार्य गरे । तर, लामो अभ्यासले सरकार र टे«ड युनियनलाई परिपक्व, संस्कारी तथा परिणाममुखी हुन सिकाएको छ । यसकारण निजामती सेवामा ट्रेड युनियनलाई कसरी उत्पादक, अनुशासित र भरोसाको संगठन बनाउने भन्ने प्रश्न मात्र अबको महŒवपूर्ण चर्चा परिचर्चाको विषय हो ।
निजामती सेवालाई प्रभावकारी, इमानदार र उत्तरदायी बनाउन टे«ड युनियनलाई प्रोफेसनल र उत्तरदायी बनाई कार्यसम्पादन प्रक्रियामा सहयात्री बनाउनुपर्दछ । प्राफेसनालिज्म भनेको नागरिक, सेवाग्राही जनता र संगठनमा काम गर्ने जनताको स्वार्थ पूरा गर्नु हो । प्रोफेसनल युनियन भनेको विशिष्ट उद्देश्य प्राप्तिका लागि विशिष्ट र सभ्य व्यवहार तथा परिणामप्रति उत्तरदायी बन्ने संस्कृतियुक्त युनियन हुनु हो । पेसागतताको विकास भनेको संगठन सामान्य अर्थात् लर्निङ चरणबाट विशिष्ट क्षमता, सामान्य आचारबाट सभ्य र नैतिकवान् आचार तथा उत्तरदायीपूर्ण कार्यसम्पादनको चरणमा रूपान्तर हुनु हो । ट्रेड युनियनलाई प्रोफेसनल बनाउन ट्रेड युनियनको कार्यक्षेत्र, पेसागत गुण तथा कार्यविधि स्पष्ट गर्नुपर्दछ । निजामती सेवा ऐनले केही हदसम्म ट्रेड युनियनलाई व्यवस्थित गरे पनि सो व्यवस्था वैज्ञानिक र पर्याप्त छैन ।
टे«ड युनियनको कार्यक्षेत्रभित्र निजामती कर्मचारीसम्बन्धी नीति र ऐनकानुन निर्माणमा सहभागिता, कर्मचारीको क्षमता विकास, कर्मचारीको गुनासो व्यवस्थापन र कर्मचारीको सेवा, मानसिक तथा शारीरिक सुरक्षा, वृत्ति विकास, नैतिकताको प्रवद्र्धन, आपत्कालमा कर्मचारीको परिचालन तथा समग्र सेवाप्रवाहको प्रभावकारिता विकास पर्दछन् । यसले सरकार र ट्रेड युनियनबीचको दूरी र सामीप्य परिभाषित हुन्छ । विगतमा सरुवा र पदस्थापनका लागि बढी राजनीति हुने गरेको छ । पदस्थापन र सरुवाका लागि पद्धति बनाउने र ट्रेड युनियन कर्मचारीको सरुवा र पदस्थापनमा सहभागी नहुना साथ पेसागतता विकास हुन्छ ।
आफ्नो कार्य जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्नका लागि ट्रेड युनियनसँग जिम्मेवारी अनुकूलको ज्ञान, सीप, अनुभव, सक्षमता, इमानदारिता र नैतिकता, स्वनियमन, आपसी सम्मान र उत्तरदायित्व जस्ता गुणहरू हुनुपर्दछ भने ट्रेड युनियन र सरकारबीच सहकार्य गर्ने विधि तथा ट्रेड युनियनले कर्मचारीका हित प्रवद्र्धन गर्ने र गुनासा व्यवस्थापन गर्ने विधि पनि स्पष्ट हुनुपर्दछ । ट्रेड युनियनको विषयगत, कानुनी तथा व्यवहारगत क्षमता विकास गर्नुपर्दछ । निजामती सेवामा कर्मचारी प्रशासनका हरेक विधा पदस्थापन, सरुवा, बढुवा, विभागीय सजाय, सेवासुविधाको वितरणलाई प्रणालीबद्ध बनाउना साथ ट्रेड युनियन स्वाभाविक रूपमा प्रोफेसनल हुन जान्छ । यसरी कार्यक्षेत्र, क्षमता र कार्यविधिको पालना गर्दै गएमा ट्रेड युनियन प्रोफेसनल बन्ने हुँदा विगतमा प्रदर्शित व्यवहार, आचरण र शैली आफैं समाप्त भएर जान्छन् ।
ट्रेड युनियन र निजामती सेवाको तटस्थता : म्याक्स वेवरअनुसार पद सोपान, निष्पक्षता, औपचारिकता अवैयक्तितता, नामरहितता, विधिप्रधान, श्रम विभाजन, विशिष्टीकरण, मेरिट प्रणाली, व्यावसायिक तटस्थता कर्मचारीतन्त्रका विशेषता हुन् । निजामती सेवाका कर्मचारीले ट्रेड युनियनको अभ्यास गर्दा कर्मचारीतन्त्रको महŒवपूर्ण विशेषता तटस्थता कसरी जोगाउने भन्ने प्रश्न उठ्ने गर्दछ । प्रश्न उठ्नु स्वाभाविक पनि हो । ट्रेड युनियन राजनीतिक दल निकट हुन्छन् र आस्थाका आधारमा विभाजित पनि हुन्छन् । अहिले तटस्थ प्रशासनभन्दा प्रतिबद्ध प्रशासन ठीक हुन्छ भन्ने मान्यता पनि राजनीतिक एवं प्रशासनिक वृत्तमा प्रतिस्पर्धात्मक रूपमा उठिरहेका छन् । तापनि, निजामती सेवामा ट्रेड युनियनको अस्तित्व र सक्रियता स्वीकार गरिसकेपछि निजामती सेवाको तटस्थता जोगाउने उपाय पनि अवलम्बन गर्नु आवश्यक र तर्कपूर्ण हुन्छ ।
राजनीतिक तटस्थता कर्मचारीतन्त्रको पहिचान हो । निजामती सेवाको तटस्थता, निष्पक्षता र नैतिकता कायम गर्न प्रशासनका यावत् कार्यहरू विधिसम्मत ढंगले गर्नुपर्दछ । मेरिटमा कर्मचारी नियुक्ति, पदस्थापन, सरुवा, पदोन्नति हुने र सेवासुविधाको वितरण पनि मेरिटमा हुने व्यवस्था गर्ने, कर्मचारीको वृति विकासका आधार पारदर्शी बनाउने, कर्मचारी आचारसंहिताको पालनामा कडाइ गर्ने, निजामती सेवाको कार्यसम्पादन पारदर्शी रूपमा गर्ने, सार्वजनिक सेवा नागरिक बडापत्रअनुरूप प्रवाह गर्ने, सहभागितामूलक व्यवस्थापन पद्धति अपनाउने, ट्रेड युनियनको पेसागतता विकास गर्ने, निजामती सेवा सरकारका नीति कार्यक्रमप्रति प्रतिबद्ध रहने, नागरिकलाई राजनीतिक आस्थाका आधारमा भेदभाव नगरी सेवा प्रवाह गर्ने प्रणालीको विकास गर्ने, सरकार कर्मचारीबीचको विवाद सामूहिक सौदाबाजीको माध्यमद्वारा सुल्झाउने, सरकार–कर्मचारीबीचको द्वन्द्वलाई सरकार–कर्मचारीबीचको साझेदारीमा रूपान्तरण गर्ने तथा समग्र निजामती प्रशासनलाई पद्धतिअनुरूप सञ्चालन गर्ने गर्नाले निजामती सेवामा तटस्थता कायम गर्न सकिन्छ । निजामती सेवामा तटस्थता कायम गर्न सरकार र कर्मचारीले आफ्नो स्वार्थ पूरा गर्न ट्रेड युनियनको उपयोग गर्ने खेल र ट्रेड युनियन त्यसैमा रमाउने प्रवृत्ति बन्द हुनुपर्दछ ।
अन्तमा, सूचना प्रविधिको विकास, व्यवस्थापनमा आएको टिम वर्क र सहभागितामूलक व्यवस्थापनको प्रचलन तथा म्यानेजमेन्ट वाइ वाकिङ, सार्वजनिक प्रशासनको डाउन साइजिङजस्ता नयाँ प्रवृत्ति, उद्योग व्यवसायमा उद्योगपति र मजदुर कर्मचारीबीच सोझै सम्पर्क हुने वातावरणको निर्माण, तथा मजदुर कर्मचारीमा ज्ञान र सीप पर्याप्त मात्रामा विकास भएकाले व्यवस्थापनसँग सोझै मोलतोल गर्ने क्षमता वृद्धि भएको कारण ट्रेड युनियनको भूमिका फितलो बन्दै गएको छ भन्ने भनाइ पनि आएका छन् । तर, ट्रेड युनियन निजामती सेवाको यथार्थ हो । कामदार कर्मचारीको भरोसा हो । यसकारण सरकार र ट्रेड युनियनबीचको सम्बन्ध हार्दिक बनाउँदै निजामती सेवालाई सफल, उत्तरदायी र तटस्थ बनाउन सरकार ट्रेड युनियन र कर्मचारी समान रूपमा जिम्मेवार बन्नुपर्दछ ।






