गुटबन्दी अन्त्यको प्रतिबद्धता : कार्यान्वयनमा चुनौती


प्रेमलकुमार खनाल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र अनुशासन कायम गर्ने र गुटबन्दी नियन्त्रण नभएको ’bout गम्भीर ध्यानाकर्षण गराउँदै उल्लेख गरिएको छ, पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुट सक्रिय रहेको, पार्टीभित्र घात÷अन्र्तघात र अराजकताका प्रवृत्ति कायम रहेकाले पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरा दिन दिनै बढ्दै गएको छ । आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ । यस अवस्थालाई नियाल्दा अनुशासन कायम गर्ने र गुटबन्दी नियन्त्रण गर्ने कार्य चुनौतीको रूपमा रहेको देखिन्छ ।


वास्तवमा कम्युनिस्ट पार्टी सिद्धान्त, विचार, कार्यशैलीका मामलामा अन्य बुर्जुवा पुँजीवादी पार्टीभन्दा फरक पहिचान र चरित्रले युक्त पार्टी हो । कम्युनिस्ट पार्टी निर्माण र सञ्चालनमा माक्र्स र लेनिनले प्रतिपादन गरेको माक्र्सवादी संगठनात्मक सिद्धान्तलाई कम्युनिस्ट पार्टीले अनुशरण गर्दै आएका छन् । पार्टीभित्र विधि, अनुशासन र एकताको लागि पार्टीको नीति र विधानको अक्षरशः पालना गर्ने र पार्टीको कार्यशैली र जीवनशैलीकै रूपमा आत्मसात् गर्ने गरिएका कारण कम्युनिस्ट पार्टीमा अन्य पार्टीमा भन्दा अनुशासन र एकताको मामलामा विशिष्ट पहिचान कायम भएको
मान्यता राखिन्छ ।


कम्युनिस्ट पार्टीमा अनुशासन र एकता कायम गर्ने÷गराउने कार्य नेतृत्वको व्यवहारमा भर पर्दछ । तसर्थ, नेतृत्वले हरहमेशा पार्टीभित्र फलामे अनुशासन, चट्टानी र एकता कायम गर्न गराउन ध्यान दिनुपर्छ । भनिन्छ, पानीको मुहान स्वच्छ भए सफा, निर्मल पानी बगेर तलसम्म जान्छ । त्यसैगरी, पार्टी सञ्चालनका क्रममा नेतृत्वले विधि र विधानको अक्षरशः पालना गरेर नेतृत्व गर्ने बित्तिकै कमिटीभित्र सबैले विधि र विधानको अनिवार्य पालना गर्ने स्थिति हुन्छ र मातहत कमिटी पनि यसरी नै सन्चालन हुने स्थिति हुन्छ । जब पार्टी विधि र विधानबाट सञ्चालन हुँदैन, निर्णय प्रक्रियामा संस्थागत परिपाटीको अनुकरण हुँदैन, जिम्मेवारी र अवसर प्रदान गर्दा विधि र पद्धतिको अनुशरण हुँदैन । पार्टीको कमिटिको बैठकभित्र विगतमा आफ्नो सिंहवालोकन, आलोचना, आत्मआलोचना गर्ने परिपाटी हँुदैन । जब व्यक्तिले गरेको कामको उचित र वस्तुनिष्ठ ढंगले मूल्यांकन गर्ने, प्रशंसा गर्ने, राम्रो काम गरेकालाई उचित जिम्मेवारी दिने र अनुशासनहीन काम गर्नेलाई आलोचना र कारबाही हुँदैन । तब कम्युनिस्ट पार्टीभित्र समस्या उत्पन्न हुन थाल्दछ । नेतृत्वप्रति आलोचना, टिप्पणी सुरु हुन्छ । कमिटीको बैठक नियमित नबस्दा कमिटीभन्दा बाहिरसम्म गएर विचार व्यक्त गर्ने खालको गतिविधि बढ्दै जान्छ र त्यसैले पार्टीभित्र समूहवाद वा गुटवादको जन्म हुन थाल्दछ ।


कम्युनिस्ट पार्टीभित्र जनवादी केन्द्रियता तथा अनुशासन र स्वतन्त्रताको सन्तुलित अभ्यासले अनुशासन र एकता कायम हुन्छ । कमिटीभित्र सबैले विषय केन्द्रित विषयमा आफूलाई लागेको कुरा राख्न पाउने, दोहोरो छलफल हुने अभ्यासले नै कम्युनिस्ट पार्टीभित्र जनवादी अभ्यासको थालनी हुन्छ । बैठकभित्र छलफल गरेर निर्णय गरिएका विषय बिनाशर्त सामूहिक तबरले कार्यान्वयन गर्ने विषय केन्द्रियता हो । जनवादको माग गर्ने तर केन्द्रियता नमान्ने अर्को अराजकतावादी गतिविधि हो र कमिटीभित्र छलफलमा भाग लिएपछि आफूले भनेजस्तो निर्णय भए ठीक, आफूले भने जस्तो निर्णय भएन भने बेठीक भन्ने सोच÷पद्धति गलत हुन्छ ।

यस्तै कम्युनिस्ट पार्टीभित्र अनुशासन र स्वतन्त्रता अर्को महŒवपूर्ण विषय हो । कम्युनिस्ट पार्टीलाई एकतावद्ध बनाउने भनेको अनुशासनका विधि र पद्धतिले नै हो ।
यसैले कम्युनिस्ट पार्टीभित्र अनुशासन र स्वतन्त्रताको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । अनुशासनको डन्डाचाहिँ लगाउने तर अभिव्यक्तिको स्वतन्त्रता नदिने हो भने अनुशासन र स्वतन्त्रताका बीचमा सन्तुलित अभ्यास हुँदैन । यस्तो असन्तुलित अभ्यासले पार्टीभित्र निरंकुशता, स्वेच्छाचारिता बढेर जान्छ र यसको प्रत्युत्पादकको रूपमा अन्यायको महसुस गर्नेले नेतृत्वको आलोचना, टिप्पणी गर्न थाल्दछन् र यस्तै अन्यायमा परेकाको, मन मिल्नेको छुट्टाछुट्टै समूह बन्न थाल्छ र गुट जन्मन थाल्दछन् ।


पार्टीभित्र गुटबन्दी बढ्दै जाँदा एकअर्को बीच बोलचाल नगर्ने, हार्दिकता नदेखाउने, अप्ठेरो, सारो गाह्रोमा साथ नदिने, सामाजिक संस्कारअन्तर्गत विवाह, व्रतबन्ध, मृत्युजस्ता संस्कारमा पनि भेटघाट नगर्ने, सम्मका घटना हुनेगर्छन् । यति मात्रै होइन, निर्वाचनका बखत घात, अन्तरघात गर्ने, पराजित गराइदिने, प्रतिस्पर्धी पार्टीका उम्मेदारलाई जिताउन भित्रभित्रै लाग्ने खालका घटना पनि हुने गरेका छन् । कम्युनिस्ट पार्टीभित्र गुटबन्दी जन्मने अनेक कारण छन् । खास गरी समाजको प्रतिबिम्ब कम्युनिस्ट पार्टीभित्र पर्नु स्वाभाविक हुन्छ । नेपाली समाजको विकास जसरी भएको छ, त्यसको प्रभाव कम्युनिस्ट आन्दोलनमा पर्दै आएको छ ।
समाज अब पुँजीवादी चरणमा प्रवेश गरेको छ । समाजमा विकसित भएको पुँजीवादले अहिले दलाली चरित्र लिएको छ । रातारात धनी बन्ने, धन, सम्पत्तिको हैसियत देखाएर पार्टीभित्र व्यक्ति प्रवेश गर्ने ढंगले दलाल पुँजीवादले टाउको उठाउँदै छ । अर्कोतिर सामन्ती शासन व्यवस्थाको अन्त्य भए पनि व्यक्तिका आनीबानी व्यवहार र संस्कृतिमा सामन्ती संस्कार, संस्कृति हट्न सकेको छैन । कम्युनिस्ट पार्टी खुला छ, पार्टीबीच प्रतिस्पर्धा पनि चलिरहेको छ । ठूलो पार्टी बनाउने नाममा धमाधम मानिस पार्टीमा प्रवेश गरेका छन् ।


यस क्रममा कम्युनिस्ट पार्टीभित्र पनि ठूलो संख्यामा मानिस प्रवेश गरिरहेका छन् । विचार, दृष्टिकोण, बानी बेहोरा माक्र्सवादी, सर्वहारावादी दृष्टिकोण राख्ने मानिसभन्दा पनि समाजमा जस्तो आनीबानी र संस्कारमा हुर्किएका छन्, तिनै मानिस पार्टीमा प्रवेश गर्ने गर्छन् । तर, उनीहरूलाई रूपान्तरण गर्ने, सर्वहारावादी दृष्टिकोण र चेतको विकास गर्ने गराउने पार्टीमा ठोस, योजना, नहुँदा स्वाभाविक रूपमा अस्वस्थ्य गतिविधि हुने र यसबाट नै गुट÷समूह निर्माण
हुनेगर्छन् । कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्यसत्ता सञ्चालन हुन थालेपछि राजकीय सुविधा पाउने र नपाउने बीचको खाडल बढ्न थालेपछि राजकीय सुविधा पाउने र नपाउने बीचको खाडलले पनि पार्टीभित्र दुई खालको वर्ग उत्पादन गर्दै छ । राज्यबाट सुविधा पाउने नयाँ अभिजात वर्गको र नपाउने चाहिँ निम्न वर्गको जस्तो देखिने स्थितिले पनि पार्टीभित्र नयाँवर्गको निर्माण हुँदै छ ।


कम्युनिस्ट पार्टीभित्र गुटबन्दीलाई अन्त्य गर्न प्रथमतः पार्टीलाई विधि र विधानबाट सञ्चालन गर्न ध्यान दिनुपर्छ । विधानअनुसार नियमित बैठकको आयोजना गर्ने, बैठकमा पूर्व निर्धारित विषयमा छलफल गर्ने, बैठकमा सबैका विचार र भावनालाई मुखरित गर्ने गराउने, पार्टीको हित नेतृत्वका कमी कमजोरीका सुझाव र आलोचनालाई सम्मानका साथ आत्मसात गर्ने परिपाटीको थालनी हुँदा स्वाभाविक रूपमा पार्टीभित्र हार्दिकता, मित्रता, एकता र कमरेडली भावनाको विकास हुन्छ, यसैको जगमा विचार र व्यवहारमा एकता कायम भएर जान्छ र सिंगो पार्टीमा एकमना एकता कायम हुन्छ, यस्तो स्थितिमा छुट्टै खालका समूह, गुट क्रमशः समाप्त भएर जान्छन् ।


दोस्रो, पार्टीभित्र जिम्मेवारी, अवसर प्रदान गर्दा व्यक्तिको योग्यता, क्षमता, वरिष्ठता, अवसर पाए नपाएको आदि जस्ता विधि र नीति बनाएर जिम्मेवारी प्रदान गर्ने नीति अवलम्बन गर्दा व्यक्तिले जिम्मेवारी र अवसरमा न्याय प्राप्त गर्दछन् । तेस्रो, पार्टीभित्र राष्ट्रिय अन्तर्राष्ट्रिय महŒवका सवालमा अनेक धारणा र विचार हुन सक्छन् । सबै विचारलाई प्रकट गर्ने अवसर दिनुपर्छ । माओत्सेतुुुङले सयौं फूललाई फुल्न देऊ भनेझैं पार्टीभित्र व्यवस्थित ढंगले छलफल, वहस र संघर्ष हुने दिने व्यवस्था गर्नुपर्छ, तर बैठकबाट निर्णय भएका विषय वा दृष्टिकोणलाई शिरमा राखेर व्याख्या, विश्लेषण गर्ने प्रचारप्रसार गर्ने कार्यको सुनिश्चित गरिनुपर्छ, चौथो पार्टीको महाधिवेशन । अधिवेशनमा समूहबन्दी भएर निर्वाचन लड्ने र निर्वाचन जित्न जेजस्तो अस्वथ्य कार्य गर्ने खालको हालको निर्वाचन प्रणालीको सट्टा कार्यसम्पादनका आधारमा नेतृत्व छनोट गर्ने परिपाटीको थालनी गरेमा गुटबन्दी अन्त्य गर्न मद्दत पुग्ने विश्वास लिन सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह परिणामः दलका हैसियत अदलबदल हुँदै