काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटाएको छ । श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय कटाइरहेका कोइरालालाई अदालतले ८ वर्ष ६ महिना मात्रै कैद सजाय सुनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाले साढे ८ वर्ष मात्रै जेल बस्दा पुग्ने फैसला गरेको छ ।
गत १५ असारमा भएको फैसला हालै मात्रै सार्वजनिक भएको हो । अदालतले आदेशमा कोइरालालाई साविक मुलुकी ऐन अ.ब. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुने फैसला गरेको हो । ८ माघ २०६८ बाट हालसम्म थुनामा बसेकामा सर्वोच्च अदालतको ठहरबमोजिम ८ वर्ष ६ महिना यही ७ साउनमा पुग्दै छ ।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले ७ वैशाख २०७१ मा पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । जिल्ला अदालतको फैसलालाई तत्कालीन पुनरावेदन अदालतले २३ मंसिर २०७२ मा सदर गरेको थियो । तत्कालीन पुनरावेदन अदालतले पनि जिल्लाको आदेश सदर गरेपछि कोइराला त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए ।
फैसलामा न्यायाधीशको चित्त
सर्वोच्चले पूर्वडिआइजी कोइरालाको मुद्दाको फैसलामा भनेको छ, ‘मृतक गीता ढकाल र प्रतिवादी कोइरालाको २७ पुस २०६८ मा व्यापारका लागि पैसा मागेको कुराबाट उठेको विवादमा दुवै जनाबीच झैझगडा वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा भित्तामा ठोकिई मृत्यु भएको देखिन्छ । साथै वारदात हुँदा पृष्ठभूमिको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आदेश आई उठेको रिसबाट भएको भन्ने अवस्था देखियो । साथै ढकालको मृत्युपश्चात् नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षा दिक्षालगायतका कार्यहरु अभिभावकविहीनताका कारण अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जान सक्ने भएकाले सो सजाय चर्को मूल्य पर्न जाने जस्तो चित्तमा लागेको हुदाँ प्रतिवादीलाई साविक मुलुकी ऐन अ.ब १८८ नम्बर हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुनेछ ।’
‘रञ्जनले प्रहरीसमक्ष आफैंले हत्या गरेको भनी गरेको बयान, लास जलाएको स्थानमा भेटिएका हड्डीका टुक्रा, आगोले डढेको लेडिज घडी, शरीरको आधाभन्दा बढी हिस्सा जलेको अवस्थामा फेला परेको शवको लासजाँच मुचुल्का, घटनास्थल प्रकृति मुचुल्काको बेहोरा, घटनास्थल भेटिएका अवशेषहरू महिलाको भएको, शरीर पूरै जलेको भन्ने शव परीक्षण प्रतिवेदनलगायतलाई अदालतले प्रमाणका रूपमा स्वीकार गरेको देखियो,’ फैसलामा भनिएको छ ।
के थियो घटना ?
२०५० सालमा रञ्जन कोइराला र र गीता ढकालको विवाहपछि दुई छोरा जन्मिएका थिए । छोराको जन्म भएपछि दुई जनाबीच फाटो रहँदै आयो । उनीहरु छुट्टिएर बसे । सम्बन्ध नराम्रो भएपछि रञ्जनले श्रीमती गीताविरुद्ध सम्बन्धविच्छेदको दबाब दिदै अंश चलनमा मुद्दा हाले । गीताले रञ्जनमाथि मानाचामल भराउने मुद्दा हालेकी थिइन् ।
गीता बूढानीलकण्ठ ५ मा बस्थिन् । रञ्जन ११ महिने नेसनल डिफेन्स कोर्सका लागि २०६८ भदौमा चीन गएका थिए । चीनबाट २१ पुसमा विदामा आएका रञ्जनले २७ पुसमा गीताको घरमा पुगेर कान्छो छोरा लिएर हिँडेका थिए । गीताले सो कुरा आफ्नो बाबुलाई जानकारी गराएका थिइन् । २७ पुसमा छोरीले सम्पर्क गरेपछि खबर नभएपछि माइतीपक्षले हनुमानढोकामा रञ्जन कोइरालाले गीता ढकाललाई अपहरण गरेर बेपत्ता बनाएको भनेर निवेदन हाले । त्यसपछि प्रहरीले रञ्जनलाई निगरानी ग¥यो । अनुसन्धान हुँदै जाँदा रञ्जनले गीता ढकालको २७ पुसमा हत्या गरी मकवानपुरको टिस्टुङ ८ स्थित त्रिभुवन राजपतको मेत्राङ भन्ने स्थानमा जलाएको पुष्टि भयो । २८ पुसमा श्रीमती गीता ढकालको शव जलाएपछि कोइराला दुईपटक मकवानपुरको टिस्टुङ पुगे । स्थानीयले शंका लागेर उनलाई समातेपछि कोइरालाले आफू सशस्त्र प्रहरीको डिआइजी भएको भन्दै उम्किए । स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई ८ माघमा आफंैले चलाएको बा८च ५४०८ नम्बरको गाडीसहित पक्राउ ग¥यो । उनले आफूले हत्या गरेको स्वीकार गरे ।
डिएनए परीक्षणमा पनि मृतक गीता ढकाल भन्ने पुष्टि भयो । कोइरालाले हत्या भएको स्वीकार गरेसँगै मृतकका बाबु हरेराम ढकालले रञ्जनले उनीविरुद्ध प्रहरीमा जाहेरी दिए । जिल्ला अदालतमा लामो बहसपछि झन्डै दुई वर्षपछि रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय हुने फैसला गरेको थियो । साथै उनकी प्रेमिका भनिएकी तारालाई एक वर्ष सजाय हुने फैसला गरेको थियो । सो फैसलाविरुद्ध रञ्जन तत्कालीन पुनरावेदन अदालत पुगे पनि जिल्लाकै फैसला सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।






