एसिड हान्नेलाई हदैसम्मको कारबाही गर

बिहीबार राति ९ बजेको समयमा ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि काठमाडौंको बाफलमा एसिड प्रहार भएपछि एसिडलाई महिलामाथि प्रहारको अस्त्रका रूपमा किन लिइन्छ भनी गम्भीर रूपमा प्रश्न उठेको छ । यसको विरासत कुन धरातलबाट आएको छ र कुन संस्कार बोकेका र कस्ता सोच भएका र कुन खाले व्यवहार गर्नेहरूमा यसको दुरुपयोगले प्रोत्साहन पाउँदै आएको छ भन्ने कुरामा घोत्लिन बाध्य गराएको छ । यसका साथै, पहिलेपहिले परिकल्पना पनि नगरिने एसिड आक्रमणका यस्ता दुर्घटना पछिल्लो समय नेपालमा किन दाहोरिन थालेका छन् ? यसले सबैको निद हराम बनाउँदै गएको छ ? एसिड नै प्रहार गर्नेजस्ता अकल्पनीय र घातक विकृतिका सिकार भएकाहरू कुन पारिवारिक धरातल र संस्कारबाट आएका छन् ? यो सोचनीय छ । सतहमा हेर्दा एसिड प्रहार महिलामाथि हुने गरेको र त्यो पुरुषले गरेको त्यो पनि एक्लो, असहाय, अप्ठेरो र रातको समयमा गरिएको पाइन्छ । एसिड प्रहार गरी अक्षम्य अपराध गर्ने अपराधी आफूलाई नचिनून् भनी विभिन्न कभर र मुखौटोमा लुक्ने र अनुहार लुकाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

न्याय बिक्रीमा छ । शासक, न्यायदाता, सुरक्षाकर्मी र आमनागरिक पैसाको पछि ज्यान फालेर बुर्कुसी मारिरिहेका छन् ।

आफ्नो अनुहार लुकाउन र बचाउन खोज्ने दुष्टले अर्काको अनुहारमा एसिड प्रहार गर्ने कायरता कसरी र किन प्रदर्शन गर्छ ?
एसिड प्रहारका घटना बढीजसो घना आवाद भएका स्थान र सहरमा घट्दै आएको छ । पछिल्लो समयमा राजधानी सहर काठमाडौं यसको केन्द्र हुन थालेको छ । तराईमा दाइजोको बहाना, विवाह गर्न अस्वीकार गरेको, एकपक्षीय प्रेम बसेको आदि कुरालाई लिएर महिलामाथि यस्ता हिंसात्मक कार्य भइरहेका देखिन्छन् । काठमाडौंमा भएका घटनामा पनि यी र यस्तै खाले अनि पारिवारिक झगडाका मुख्य कारणका रूपमा रहेका छन् । अपराधी मनसाय भएका व्यक्तिले दुराशयका साथ यी घटना घटाउने गरेका छन् । एसिड मूलतः सांस्कृतिक विकृतिको सबैभन्दा भद्दा अस्त्रका रूपमा प्रयोग भइआएकोमा शंका छैन । यसअघि बन्द अवस्थामा रहेको नेपाली समाज र संस्कृति पछिल्लो चरणमा उदारीकरणका कारण खुला र स्वतःस्फूर्ततामा बढ्दै गर्दा यो केही अनियन्त्रित र अराजक पनि बन्दै गएको छ । पुराना सांस्कृतिक मान्यताहरू भत्कँदै गएका छन् । तर, नेपालकै विशिष्टतामा नयाँ खाले मान्यता निर्माण हुन सकेका छैनन् । सहरमा पसेपछि र बसाइँ सरेपछि आफ्ना गाउँघरका परम्परागत सीमारेखा भत्किएका छन् । यसले पनि आफन्त, छिमेकी र समग्र मानव समाजलाई हेर्ने दृष्टिकोणमा सदाशयताको ठाउँमा दुराशयता ल्याइदिएको छ ।

पछिल्लो चरणमा मानिसमा आध्यात्मिकताको कमी हुँदै जाँदा बढी भौतिकवादी, लोभीपापी, द्रव्य र सौन्दर्य पिसाची तथा उपभोक्तावादी र लम्पट एवं स्वार्थी हुँदै गएका छन् । नेपालीको सांस्कतिक जग आध्यात्मिक र धार्मिक बढी हो, भौतिक त्यसको परिपूरक जग मात्र । तर, अहिले मानिस जेजसरी हुन्छ मोजमस्ती गर, धन कमाऊ लुटेर होस् वा ठगेर, ऐयासी जीवन बिताऊ, फूर्ति देखाऊ भन्नेतिर लागेको छ । कानुन कमजोर छ । सोर्सफोर्स र पावरको बोलवाला छ । न्याय बिक्रीमा छ । शासक, न्यायदाता, सुरक्षाकर्मी र आमनागरिक पैसाको पछि ज्यान फालेर बुर्कुसी मारिरिहेका छन् । कसैले अनैतिक कर्म गरेको भनी अरू कसैको आलोचना गर्दैन, बरु राम्रो तथा सुन्दर, आफूलाई मन परेको वस्तु हात पार्न जस्तोसुकै हर्कत गर्न पनि पछि पर्दैन । नपाए बरु नष्ट गर्न र बर्बाद पार्नतिर लाग्छ । यही उपभोक्तावादी मानसिकता र कानुनी राजको अभावमा एसिड प्रहारका विकृतिहरू मौलाइरहेका छन् । यसरी एसिड प्रहार गरी अर्काको जीवनलाई संकटपूर्ण बनाउने अपराधीलाई हदैसम्म कडा कारबाही गरिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनाङको नेस्याङ गाउँपालिकामा माओवादीबाट वडा अध्यक्ष निर्विरोध निर्वाचित