कप डे फ्रान्सको फाइनलमा सेन्ट इटिनेविरुद्ध चोट बोकेपछि फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले च्याम्पियन्स लिगको अन्तिम चरणका खेल गुमाउने सम्भावना बढेको छ । खेलको पहिलो हाफमा नै सेन्ट इटिनेका कप्तान लोइस पेरिनको ट्याकलमा एमबाप्पे घाइते भएका थिए ।
रेफ्रीले उक्त फलका लागि सुरुवातमा पहेंलो कार्ड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेरिनलाई रातो कार्ड देखाएका थिए । उक्त खेल पेरिनले सन्न्यास लिनुअघि अन्तिम खेल पनि थियो । यता, चोट बोकेका एमबाप्पेले भने त्यसपछि खेल्न नसक्दा परिवर्तन भएका थिए । उनको स्थानमा पाब्लो सराबिया मैदान प्रवेश गरेका थिए । चोटका कारण एमबाप्पेले च्याम्पियन्स लिगका बाँकी खेल गुमाउने डर बढेको छ । उनी दोस्रो हाफका दौरान नै बेन्चमा वैशाखीको सहयोगमा हिँडिरहेका देखिएका थिए ।
पीएसजीले क्वार्टरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्दै छ । पीएसजीले यसअघि बोरुसिया डर्टमुन्ड तथा एटलान्टाले भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका थिए । एमबाप्पे चोटका कारण उपलब्ध नभएको अवस्थामा पीएसजीले लगातार तेस्रो सिजन आफ्नो स्टार खेलाडीलाई च्याम्पियन्स लिगको अन्तिम चरणमा गुमाएको हुनेछ । यसअघि दुई सिजन भने नेयमार उपस्थित नहुँदा पीएसजीले अपेक्षित नतिजा निकाल्न सकेको थिएन ।